+
+

उत्तर प्रदेशको राजनीति: पहिला ‘कब्रिस्थान’ र अहिले ‘अब्बाजान’को नारा लिएर चुनावी मैदानमा उत्रदै दलहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १४:३५

८ असोज, काठमाडौं । उत्तर प्रदेशमा आउँदो फेब्रुअरीमा हुन गइरहेको विधानसभा चुनावका लागि तयारी जारी छ । विद्यमान राजनीतिक अवस्था हेर्दा चुनावपूर्व ठूला दलबीच गठबन्धन हुने कुनै छनक देखिन्न । यस्तो अवस्थामा, बुहकोणीय प्रतिस्पर्धा हुने लगभग निश्चित जस्तै छ ।

समाजवादी पार्टीले केही ‘साना दल’सँग मिलेर गठबन्धन बनाउने संकेत गरिसकेको छ र राष्ट्रिय लोक दलसँग सहमित समेत भइसकेको छ । समाजवादीका प्रमुख अखिलेश यादवले राष्ट्रिय लोक दलसँग भएको गठबन्धनबारे औपचारिक घोषणा गर्ने क्रममा संजय चौहानको नेतृत्वमा रहेको ‘अपना दल’ र आफ्ना काका शिवपाल यादवको प्रगतिशील समाजवादी पार्टी (लोहिया)सँग गठबन्धन बनाउन सकिने संकेत गरिसकेका छन् ।

त्यसरी नै, मानवेन्द्र आजादको नेतृत्वमा रहेको ‘आजाद भारत पार्टी (डेमोक्रेटिक)’ बहुजन समाज पार्टी (बसपा)मा विलय भइसकेको छ । पार्टी विलय कार्यक्रममा बोल्दै बसपाका महासचिव सतीश चन्द्र मिश्रले सन् २००७ मा बसपाको सरकार बनेपछि १ लाख १० हजार मानिसलाई रोजगार दिएको बताएका थिए । मिश्रले ‘महान व्यक्तिको स्मारक र आफ्नो नाममा बगैचा/उद्यान बनाएको भन्दै बसपाकी सुप्रिमो मायावतीविरुद्ध कुल ११० मुद्दा दायर भएको’ समेत बताएका थिए ।

साथै, बसपाले हरेक वर्गलाई साथ लिएर अघि बढ्न चाहेको मिश्रको भनाइ थियो । उनको यो भनाइले यस कारण पनि महत्व राख्छ किनभने हालै ब्राह्मण समुदायलाई आफ्नो दलतिर तान्न भन्दै पार्टीले ‘ब्राह्मण सम्मलेन’ आयोजना गरेको र दुईजना मुस्लिमलाई पार्टीका प्रमुख प्रवक्ताको रुपमा नियुक्त गरेको थियो ।

साना दलसँग मिलेर अघि बढ्ने प्रयास

राष्ट्रिय वा क्षेत्रीय दल सबैले आपसमा कुनै सम्झौता गर्नुको साटो साना दललाई आफूसँगै लिएर अघि बढ्ने प्रयासमा लागेको प्रस्ट देखिन्छ । यसमा सबैभन्दा पहिला बाजी मार्ने भनेर दाबी गरेको पार्टी ‘अल इन्डिया मजलिस इत्तहादुल मुस्लिमीन’ अर्थात् एआईएमआईएम हो । उक्त पार्टीका प्रमुख असदुद्दीन ओवेसीले सुहेलदेव भारतीय समाज पार्टीका ओम प्रकाश राजभरसँग मिलेर ‘भागिदारी संकल्प मोर्चा’ बनाएको घोषणा गरिसकेका छन् ।

दुई दिनअघि ‘भीम आर्मी’का चन्द्रशेखर आजादसँगै ‘भागीदारी संकल्प मोर्चा’को बैठक बसेको थियो । यसबाट आजाद पनि यही गठबन्धनमा सामेल हुन सक्ने आंकलन गर्न सकिन्छ । अघिल्लो चुनावमा राजभरको पार्टीले भारतीय जनता पार्टीसँग गठबन्धन गरेको थियो र उनी पछि योगी आदित्यसाथको सरकारमा मन्त्री समेत बनेका थिए । तर लोकसभा चुनावपूर्व नै उनले भाजपासँग आफ्नो पार्टीको सम्बन्ध तोडेका थिए ।

कैयौं चुनावपछि पुन: बहुकोणीय प्रतिस्पर्धा/संघर्ष

उत्तर प्रदेशको विधानसभा चुनावमा लामो समयपछि/केही दशकपछि पहिलो पटक बहुकोणीय प्रतिस्पर्धा हुन लागेको जानकारहरु बताउँछन् । यही भएर यस पटकको चुनावमा हरेक दलले निकै जोडबल गर्नुपर्ने हुन्छ ।

उत्तर प्रदेशका दुईवटा प्रमुख क्षेत्रीय दल समाजवादी तथा बहुजन समाज पार्टी, दुईवटा प्रमुख राष्ट्रिय दल भारतीय जनता पार्टी तथा कांग्रेसबाहेक अन्य क्षेत्रीय दलले समेत लगभग उही हिसाबले आफ्नो रणनीति बनाइसकेका छन् ।

सन् २०१४ देखिनै उत्तर प्रदेशको राजनीतिमा बदलाव आउन थालेको राजनीतिक विश्लेषकहरु बताउँछन् । त्यतिबेला भाजपाले मोदी लहरमाथि सवार गरी केन्द्रमा आफ्नो सरकार बनायो । लखनऊमा रहेका वरिष्ठ पत्रकार विजेन्द्र भट्टका अनुसार सन् २०१७ मा भाजपाले सोही ‘सोशल इन्जिनियरिङ’को सहारा लियो जसको सहारामा पहिला कांग्रेस, पछि समाजवादी पार्टी र बहुजन समाज पार्टी सत्तामा रहिरहन सफल भएका थिए ।

सन् २०१७ को विधानसभा चुनावमा भाजपाले गैर-यादव ओबिसी (Other Backward Class) र गैर- जाटव दलित वर्गभित्र आफ्नो उपस्थिति मजबुत बनाउन सफल भएको थियो । समाजवादी र कांग्रेसबीच गठबन्धन भएकाले समेत सो चुनाव निकै महत्वपूर्ण थियो ।

त्यसै गरी, सन् २०१९ को लोकसभा चुनावमा प्रदेशको राजनीतिमा जे भयो त्यसको कल्पना समेत गर्न सकिँन्न । चुनावका बेला बहुजन समाज पार्टी र समाजवादी पार्टीबीच गठबन्धन भएको थियो । उक्त गठबन्धनले आफ्नो पक्षमा ‘क्लीन स्वीप’ गर्ने धेरैको अनुमान थियो । तर चुनावमा गठबन्धनको सपना चकनाचुर भयो र चुनावलगत्तै दुबै दलले एकअर्कामाथि यसको दोष थुपार्न थाले ।

समाजमा कैयौं ‘फ्रन्ट लाइन’ छन्

विजेन्द्र भट्ट भन्छन्- ‘उत्तर प्रदेशको समाजमा धर्म, जात-जाति र क्षेत्रसम्बन्धी कैयौं फ्रन्ट लाइन (अग्र मोर्चा) अस्तित्वमा छन् । राजनीतिक दलले यिनै फ्रन्ट लाइनको फाइदा उठाउँदै चुनावमा भाग लिन्छन/चुनावको व्यवस्थापन गर्छन् र जीत समेत हासिल गरिरहेका छन् ।’ यही भएर चुनाव नजिकिँदै गर्दा कैयौं गम्भीर र जन-सरोकारका मुद्दाहरु गौण बन्ने अनि क्षेत्रवाद, संप्रदायवाद र जातिका आधारमा चुनावी प्रतिस्पर्धा हुने उनको भनाइ छ ।

यसपालिको चुनावमा कुनै पनि क्षेत्रीय वा राष्ट्रिय दलले किन चुनावपूर्व गठबन्धन बनाउन चाहेका छैनन् त ? यससम्बन्धमा समाजवादी पार्टीका प्रवक्ता अब्दुल हफीज घांदीले बिबिसीसँग कुरा गर्दै निकै सोंच-विचार गरेपछि हरेक पटक गठबन्धन बनाउँदा आफ्नो पार्टीलाई नोक्सान भएको (पाइएको) बताए ।

‘२०१७ मा कांग्रेससँग गठबन्धन भयो र कांग्रेसले १०५ सिटमा चुनाव लड्यो । तर उसले केबल ७ सिट मात्रै जित्न सक्यो’, घांदीले भने, ‘त्यसैगरी, २०१९ लोकसभा चुनावमा बसपासँग हाम्रो गठबन्धन भएको थियो । मतपरिणामको मूल्याङ्कनपछि बसपाको भोट भाजपातिर गएको देखियो ।’

कांग्रेससँगको गठबन्धनबाट बिहारको विधानसभा चुनावमा राष्ट्रिय जनता दललाई समेत नोक्सान भएको घांदीको भनाइ छ । ‘बिहारमा लगभग ७० वटा यस्ता सीट थिए जहाँ कांग्रेसका उम्मेदवार भएका कारण ती सिट भाजपाको पोल्टामा गए’, घांदीले थपे ।

समाजवादी र बहुजन समाज पार्टीबारे विश्लेषकहरु भन्छन्- यी दुबै क्षेत्रीय दल जातीयताको सोशल इन्जिनियरिङको सहारा लिएर नै उत्तर प्रदेशको सत्तासम्म पुग्न सकेका हुन् । वरिष्ठ पत्रकार विजेन्द्र भट्टका अनुसार यस पटकको विधानसभा चुनावमा समेत दलहरु जात-जातिलाई मनाउन/फकाउन जुटेको र उनीहरुको यस्तै भूमिका देखिन थालेको छ ।

‘बसपाले दलित र ब्राम्हणलाई मिलाएर ३६ प्रतिशत मत ध्रुवीकरणमा लागिरहेको छ । त्यसैगरी यदि यादव र मुस्लिम समुदायको ४० प्रतिशत मत मिल्यो भने सत्ताको चाबी आफ्नो हातमा आउने समाजवादी पार्टीको ठम्याइ छ’, भट्टले भने, ‘उता भाजपाले दलित, ओबिसी र सवर्ण समुदायको अधिकतम मत हासिल गर्न हर संभव कोशिश गरिरहेको छ ।’

ओवैसीको प्रवेशसँगै विपक्षी खेमा अप्ठ्यारोमा/असहजतामा

उत्तर प्रदेशको चुनावमा यहाँका १९ प्रतिशत मुसलमानले समेत निर्णायक भूमिका खेल्छन् भन्ने आम धारणा देखिन्छ । त्यसैले चुनावी मैदानमा ओवैसी उत्रिएपछि कांग्रेस, बसपा र समाजवादीको खेमामा निकै अहसजता देखिन थालेको छ । ओवैसीको उपस्थितिले यसपालिको चुनावमा भाजपालाई फाइदा हुने यी दलको बुझाइ छ । उत्तर प्रदेशमा सवर्ण समुदायको (जन)संख्या १८ देखि २० प्रतिशत र दलितको १९ देखि २० प्रतिशत छ । त्यस्तै, ओबिसीको हिस्सा ४० प्रतिशत छ भने मुसलमानको १९ प्रतिशत ।

एआईएमआईएमका प्रदेश अध्यक्ष शौकत अलीले बिबिसीसँग कुरा गर्दै उत्तर प्रदेशको चुनावमा लड्ने अधिकार शिवसेनासँग जति छ त्यति नै अधिकार आफ्नो दलसँग भएको बताए । ‘शिवसेनाले प्रदेशका १०० सिटमा आफ्ना प्रत्यासी खडा गर्ने घोषणा गरेको छ । उक्त घोषणाप्रति कसैको आपत्ति छैन ।

हिन्दूहरुको भोट विभाजित हुने भनेर कसैले पनि भनेका छैनन्’, अलीले भने, ‘तर एआईएमआईएमले चुनाव लड्ने निर्णय गर्दा उनीहरुले असदुद्दीन औवेसी भाजपाका एजेन्ट भएको र मुस्लिमको भोट विभाजित गर्न खोजेको भनिरहेका छन् । यो कुरा हास्यास्पद नभए के हो ?’

‘यस्तो कुरा ती मानिसहरुले भनिरहेका छन् जसले भाजपाको डर देखाएर मुस्लिम समुदायलाई भोट बैकको रुपमा प्रयोग गर्छन्’, अलीले थपे, ‘मुस्लिम बहुल इलाकामा यही डर देखाएर आफ्ना उम्मेदवार जिताए । यसमा कांग्रेस, बसपा र समाजवादी पार्टी सबै सामेल छन् ।’

महँगी, बेरोजगार र कोरोना महामारीको कमजोर व्यवस्थापनका कारण सत्ताविरोधी लहर चलेको अलीले बताए । चुनावमा यी मुद्दा नउठाएर हिन्दू-मुसलमानको विषय मात्रै उठ्नु बिडम्बना भएको पनि उनको भनाइ थियो ।

सशक्त रुपमा चुनावमा उत्रिने कांग्रेसको दाबी

यता उत्तर प्रदेश कांग्रेस कमिटीका अध्यक्ष अजय कुमार लल्लूले समेत गठबन्धन बनाएर चुनाव लड्दा कांग्रेसलाई निकै हानि भएको बताउँछन् ।

सन् २०१६ मा राहुल गान्धीले किसान-खेत यात्रा निकालेका थिए र त्यसमा आम किसानको समर्थन मिलेको थियो । तर २०१७ मा भएको गठबन्धनका कारण आफ्ना कार्यकर्ता निराश भएको लल्लूको भनाइ छ । उनले बिबिसीसँग कुरा गर्दै कांग्रेस यस पटक पूरा तयारीसाथ मैदानमा उत्रिएको बताए । पछिल्ला केही वर्षदेखि जनता र किसानका मुद्दा लिएर आफ्नो पार्टीले सडक संघर्ष गरेको पनि उनको दाबी थियो ।

‘त्यतिबेला पनि सत्ताविरोधी लहर थियो र कांग्रेसको संघर्ष सत्ताको नीतिविरुद्ध थियो तर गठबन्धन भएपछि पार्टीका प्रयास तुहिन पुगे’, अध्यक्ष कल्लूले भने, ‘अहिले प्रियंका गान्धीले प्रदेश संगठनको कमाण्ड/नेतृत्व समालेकी छन् र उनले सडकमा संघर्ष गरिरहेकी छन् र यसबाट जनतामाझ कांग्रेसको स्थान पहिलाको जस्तै बनिरहेको छ ।’

तर वरिष्ठ पत्रकार विजेन्द्र भट्टलाई त्यस्तै लाग्दैन । महँगी र बेरोजगारीबाट मानिसहरु आक्रान्त भइरहेको तर यी मुद्दामार्फत् उत्तर प्रदेश सरकारलाई घेर्नका लागि विपक्षी दलले सोचे अनुसारको संघर्ष नगरेको उनको बुझाइ छ ।

‘केही दल चुनाव नजिकिँदै गर्दा बल्ल जागेका छन् जबकि साढे चार वर्षसम्म मुद्दालाई लिएर उनीहरुले कतै संघर्ष गरेको देखिएन’, भट्टले भने, ‘यसअघिको चुनाव कब्रिस्तान/चिहानको मुद्दामा र यसपटकको चुनाव अब्बाजान तथा चचाजान जस्ता कुरामा लडिने छ र यस्ता कुरालाई विपक्षी दलले समेत उचालिरहेका छन् ।’

(बिबिसी हिन्दीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?