+
+

पर्यटकलाई अनअराइभल भिसा खुल्दा व्यवसायीमा उत्साह

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १८:४१
फाइल तस्वीर

८ असोज, काठमाडौं । ११ चैत २०७६ सालमा शुरु भएको लकडाउनपछि नेपाली पर्यटन उद्योगमा सकारात्मक सञ्चार गर्ने खबर बिहीबार फैलियो । सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराभइल भिसा प्राप्त गर्न सक्ने निर्णय गरेको छ । यसले नेपाल आउन चाहेर पनि क्वारेन्टिनको झन्झटका कारण आउन नमानिरहेका पर्यटकलाई उत्साह थपेको छ ।

सरकारको यो निर्णयसँगै नेपालका वरिष्ठ पर्यटन व्यवसायी तथा टेम्पल टाइगर ग्रुपका अध्यक्ष वसन्त मिश्रले खुशी साट्दै आफ्ना पाहुनाका लागि इमेलमा लेखे, ‘आज तपाईंलाई मसँग एक राम्रो खबर छ, नेपाल सरकारले पुनः अनअराइभल भिसा सेवा खुला गरेको छ ।’ उनका अनुसार यो घोषणा निकै महत्वपूर्ण समयमा भएको छ । यसले नेपालमा पर्यटक आगमन बढाउन निकै ठूलो भूमिका खेल्नेछ । उनले भनेका छन्, ‘यो खबरबाट हामी जति उत्साहित छौं, मलाई विश्वास छ, तपाईं पनि त्यतिकै उत्साहित हुनुहुन्छ ।’

एरोलिना ट्राभलका प्रबन्ध निर्देशक तथा सोट्टो नेपालका पूर्वअध्यक्ष यम खड्काले यो खबर साट्दै लेख्छन्, ‘खोपको मात्रा पूरा गरेका यात्रुलाई अब नेपालमा क्वारेन्टिन चाहिने छैन, नेपालमा तपाईंलाई स्वागत छ ।’ वरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीले यो निर्णयबाट सुस्ताएको पर्यटकीय गतिविधिमा तीव्रता आउने बताएका छन् । उनी अगाडि लेख्छन्, ‘यो अवसरको उपयोग गर्न सरोकारवालाले प्रयास गरुन् ।’

प्रमुख पर्यटकीय गन्तव्य पोखराको फेवाताल
विगतमा भूकम्पपछि यस्तै अभियानको नेतृत्व गरी सफल बनेका नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी अनअराइभल भिसा खुला हुनु र अनिवार्य क्वारेन्टिन हट्ने प्रावधानबाट कम्तीमा २० प्रतिशत र सोभन्दा बढी नै पर्यटक आगमनमा सुधार हुने सम्भावना देख्छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)ले सरकारको निर्णय लगत्तै आफ्ना सदस्यहरुलाई सम्बोधन गर्दै सरकारको यो निर्णय तारिफयोग्य रहेको बताएको छ । पर्यटन क्षेत्रलाई चलायमान बनाउन यो निर्णय महत्वपूर्ण सावित हुने टानको भनाइ छ ।

नेपाल उद्योग परिसंघले सरकारको यो निर्णय कोभिड–१९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरुत्थानमा सकारात्मक पहल भएको समेत परिसंघले उल्लेख गरेको छ । नेपालमा विदेशी पर्यटक आवागमन वृद्धि भई पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत् अवस्थामा फर्कने परिसंघको बुझाइ छ । अनअराइभल भिसा खुला भएसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहण क्षेत्रसँग सम्बन्धित गतिविधिलाई सहज रूपमा अघि बढाउन सरकारले समन्वय गर्नुपर्ने समेत परिसंघले बताएको छ ।

व्यवसायीको माग सम्बोधन

यसअघि पर्यटन व्यवसायीले लामो समयदेखि अनअराइभल भिसा खुला गर्न माग गरिरहेका थिए । पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीका छाता संगठनले पटक–पटक सरकारको ध्यानाकर्षण गराइरहेका थिए । अघिल्लो साता व्यवसायीले सरकारलाई अल्टिमेटम नै दिएर माग पूरा नगरे सडक आन्दोलनमा समेत जाने चेतावनी दिएका थिए । यो पटक व्यवसाय सुचारु गर्न र नेपालमा पर्यटन खुला भएको सन्देश दिनुपर्छ भन्ने सन्दर्भमा निजी क्षेत्रको एक मत थियो ।

२० प्रतिशतभन्दा बढी सुधार हुने अपेक्षा

जुनसुकै संकटको समयमा पनि आन्तरिक पर्यटनले बाह्य पर्यटक आउने वातावरण सिर्जना गर्छ । विगतमा भूकम्पपछि यस्तै अभियानको नेतृत्व गरी सफल बनेका नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी अनअराइभल भिसा खुला हुनु र अनिवार्य क्वारेन्टिन हट्ने प्रावधानबाट कम्तीमा २० प्रतिशत र सोभन्दा बढी नै पर्यटक आगमनमा सुधार हुने सम्भावना देख्छन् । उनका अनुसार अक्टोबर महिना नेपालमा पदयात्राका लागि सबैभन्दा उत्तम समय मानिन्छ ।

प्रमुख पर्यटकीय स्थल ठमेल

व्यवसायीसँगको छलफलमा समेत विदेशबाट नेपाल यात्राबारे पर्याप्त चासो रहेको बताउने गरेको उनले जानकारी दिए । जोशी स्वयं अहिले मुलुकभित्र पर्यटनमा लागेका मानिसको क्षमता अभिवृद्धिको काममा देशका मुख्य गन्तव्यमा खटिने गर्छन् । ‘संसारमा नो क्वारेन्टिन पोलिसी अपनाइएका छन्, यो काम अझै अगाडि हुनुपर्ने थियो,’ उनी भन्छन्, अक्टोबर महिना, त्यसमा पनि पदयात्रा पर्यटनको सिजनको पूर्वसन्ध्यामा आएको निर्णयले उत्साह ल्याउने निश्चित छ ।’

तर भद्रगोल छन् काम गर्ने निकाय

पर्यटनमा प्रवद्र्धनको जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्डले अहिलेसम्म चालु आर्थिक वर्षको बजेट पास गर्न सकेको छैन । राष्ट्रिय ध्वजाबाहकका रुपमा संसारभर नेपालको प्रतिनिधित्व गर्ने नेपाल एयरलाइन्सले बजेट ल्याउन त परै जाओस्, आफ्ना कर्मचारीलाई नियमित तलब समेत खुवाउन सकेको छैन । महासंकटपछि तीव्र रुपमा बजारीकरण र प्रचारप्रसारमा लाग्नु पर्ने यी निकायको निकम्मापनबाट भने व्यवसायी निराश छन् । बोर्डका पूर्वसीईओ जोशी भन्छन्, ‘निजी क्षेत्र त तात्तियो, राज्यका निकायको साथ खोइ त ?’

उनले कोरोना महामारीको संकटका बेलाको समय तयारी र योजनामा लागेको भए अहिले अवस्था केही सामान्य हुनासाथ पर्यटक आगमन बढाउने खालका कार्यक्रम ल्याउन सकिने बताउँछन् । स्रोत बजारमा जाने, नेपाल सुरक्षित भएको सन्देश दिने र नेपालभित्र पर्यटकका कारण समुदाय र समुदायबाट पर्यटकलाई सुरक्षित राख्न समेत उत्तिकै ध्यान दिनुपर्ने सुझाव उनको छ । यसो गर्न नसके भोलि नकारात्मक परिणाम आउनेतर्फ सरोकारवालाले ध्यान दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?