+
+

हाइड्रोजन ऊर्जाको काठमाडौं विश्वविद्यालयमा परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १०:५०

९ असोज, काठमाडौं । विश्वका विकसित देशहरुले नयाँ विकल्पको रुपमा देखेको हाइड्रोजन ऊर्जाबारे नेपालमा पनि अनुसन्धान सुरु भएको छ ।

काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबले हाइड्रोजन ऊर्जाको नेपालमा प्रभावकारिताको बारेमा अध्ययन गरिरहेको विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले जानकारी दिए । ‘विभिन्न मुलुकले ऊर्जा क्षेत्रको अबको बाटो हाइड्रोजनको प्रयोगबाट तय गर्ने रणनीति बनाइसकेका छन्’ विश्वविद्यालयले गरिरहेको अनुसन्धानबारे जानकारी दिन गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. थापाले भने, ‘यसलाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भनेर अध्ययन/अनुसन्धान आवश्यक छ ।’

विश्वविद्यालयले सञ्चालनमा ल्याएको ल्याब नेपालको पहिलो हाइड्रोजन ल्याब हो ।

विश्वमा २२१ वर्ष पहिलेले नै हाइड्रोजनबाट ऊर्जा उत्पादन गर्न सकिन्छ भनेर अनुसन्धान भइसकेको थियो । सन् १८०० मा वैज्ञानिक विलियम निकोल्सन र सर एन्टोनी चार्लिस्लेले पानीबाट हाइड्रोजनको मात्रा निकालेर ऊर्जा उत्पादन गर्न सकिने बताएका थिए । पछिल्ला अध्यनयहरुले एक केजी हाइड्रोजन ऊर्जा ब्याट्रिको तुलनामा ४०० गुणा हल्का रहेको पत्ता लगाएका छन् । साथै एक केजी हाइड्रोजनले एउटा कार ७० किलोमिटरसम्म कुद्न सक्ने वैज्ञानिक अध्ययनबाट पत्ता लागेको छ ।

हाइड्रोजन ऊर्जाको नेपालमा सम्भावना बारे १६ वर्ष पहिले सन् २००५ देखि छलफल सुरु भएको थियो । तर काठमाडौं विश्वविद्यालयले एक वर्षअघि पहिलोपल्ट यसको खोजी गर्नको लागि हाइड्रोजन ल्याब सञ्चालनमा ल्याएको हो । हाइड्रोजनलाई ऊर्जाको रुपमा विकास गरेर सवारी सञ्चालन गर्ने काम अन्तिम चरणमा पुगिसकेको ल्याबका प्रमुख डा. विराजसिंह थापाले जानकारी दिए ।

डा. थापाका अनुसार अहिले नेपालको ४० प्रतिशत घरमा खाना पकाउने ग्यासको खपत हुने गरेको छ । सोही सिलिण्डरमा ग्रिन मिथेन राखेर खपत गर्न सकिने अवस्था छ । सबै गाडीलाई हाइड्रोजन ऊर्जाबाट चलाउन सोही अनुसारको इन्जिन आवश्यक पर्छ । तर नेपालमा वाषिर्क १३.५ मिलियन टन कार्बन उत्सर्जन हाइड्रोजन ऊर्जाको माध्यमबाट तत्कालै रोक्न सकिने उनको भनाइ छ ।

ग्रिन मिथेनलाई तत्कालै अहिलेको सिलिण्डरमा चलाउन सकिने भएकोले यसलाई पनि घरघरमा खाना पकाउने एलपी ग्याँसको विकल्पको रुपमा प्रयोग गर्न सकिने डा. थापा बताउँछन् ।

कसरी हुन्छ हाइड्रोजनबाट ऊर्जा उत्पादन ?

डा. थापाका अनुसार पानीबाट बिजुली निकालेर बिजुलीले पानीलाई टुक्रयाएपछि हाइड्रोजनको उत्पादन हुन्छ । एक किलोग्राम हाइड्रोजनबाट ५० युनिटसम्म बिजुली निस्कन्छ । यही विधिबाट निकालेको हाइड्रोजनबाट उत्पादन हुने ऊर्जा नै हाइड्रोजन ऊर्जा हो र यही नै ग्रिन हाइड्रोजन पनि हो ।

ब्याट्रीभन्दा चार सय गुणासम्म हलुका, प्रदूषणरहित यो ग्याँस विश्वको सबैभन्दा सस्तो ऊर्जाको स्रोत बन्ने वैज्ञानिकहरु दाबी गर्छन् । ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. थापा हाइड्रोजनबाट उत्पादन भएको ऊर्जाले ठूला तथा मालबाहक गाडी, जहाज जस्ता यातायातका साधन सञ्चालनका लागि प्रभावकारी भूमिका खेल्ने दाबी गर्छन् । उनले नेपालमा पनि छिट्टै हाइड्रोजनबाट सवारी चलाउन सकिने अवस्था रहेको दाबी गरे ।

विश्वमा हाइड्रोजन ऊर्जाको प्रयोग

विश्वका विकसित मुलुकले पेट्रोलियम र कोइलाको विकल्पको रुपमा होइड्रोजनको प्रयोग गर्न सुरु गरिसकेका छन् ।

फ्रान्सको प्यासेन्जर ट्रेन कम्पनी अल्स्टोमले विश्वको पहिलो हाइड्रोजन पावर प्यासेन्जर रेलको अनावरण गरिसकेको छ । यो कम्पनीले पहिलोपटक प्यासेन्जर रेलको सुरुवात गरेको थियो ।

त्यस्तै, एयरबसले सन् २०३५ सम्म सञ्चालनमा ल्याउनेगरी हाइड्रोजनबाट चल्ने विमानको निर्माणलाई तीव्रता दिएको जनाएको छ । त्यस्तै, स्विट्जरल्याण्डले विश्वको पहिलो डबल डेकर बस सञ्चालनमा ल्याएको छ, जुन हाइड्रोजन ऊर्जाबाट चल्ने गर्छ ।

बेलायतले सन् २०५० सम्म १३ अर्ब युरो बराबरको हाइड्रोजनको अर्थतन्त्र निर्माण गर्ने घोषणा गरिसकेको छ । यसबाहेक अमेरिका, जापान, नर्वे लगायतका दर्जनौं देशले हाइड्रोजन सोसाइटी निर्माण गर्ने घोषणा गरिसकेका छन्।

डा. थापा भन्छन् ‘हाइड्रोजन ऊर्जा यातायातको लागि मात्रै होइन, बैंक, सपिङ कम्प्लेक्स आदिका लागि जेनेरेटरभन्दा राम्रो विकल्प हुन सक्छ । फलाम पगाल्ने, इाट्टा भट्टालगायत उद्योगमा कोइलाको साटो हाइड्रोजन ऊर्जा प्रयोग गरेर प्रदूषणबाट मुक्त गराउन सकिन्छ ।’ यसले यो बढ्दो कार्वन उत्सर्जन नियन्त्रण एवं जलवायु परिवर्तनको असर कम गर्न सहायकसिद्ध हुने दाबी गरिएको छ ।

दक्षिण एशियाली मुलुकमा हाइड्रोजन ग्यासको सम्भावना

दक्षिण एशियाली भूगोलभित्र हुने कुल ऊर्जा खपतमा ४६ प्रतिशत हिस्सा कोइलाको र ३४ प्रतिशत पेट्रोलियम पदार्थको छ । जलस्रोतमा समृद्ध मानिएको यो क्षेत्रले कुल खपतको केवल ६ प्रतिशत मात्रै जलविद्युतबाट उत्पादन हुने ऊर्जा खपत गर्ने गरेको छ ।

एकातिर विश्व बढ्दो कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनको जोखिममा गुज्रिरहेको छ भने अर्काेतर्फ बढ्दो वैश्विक तापक्रमले मान्छेको जीवनशैलीमा गम्भीर असर पारिरहेको छ । यसको दीर्घकालीन उपाय के त ? यही समस्या समाधानका लागि विकसित देशहरुले हाइड्रोजन ऊर्जालाई वैकल्पिक ऊर्जाको रुपमा विकास गर्न थालिसकेका छन् ।

अहिले विश्व बजारमा हाइड्रोजनको मूल्य प्रतिकेजी तीन देखि पाँच डलरसम्म पर्छ । काठमाडौं विश्वविद्यालयको एक सर्वेक्षणमा प्रतिकेजी एक डलरसम्ममा नेपालले हाइड्रोजन उत्पादन गर्न सक्ने देखाएको डा. थापा बताउँछन् । पछिल्लो समय बिजुली खपतलाई लिएर बहस चलिरहेको बेला हाइड्रोजन ऊर्जाको विकासले त्यो समस्या पनि निवारण गर्ने दाबी विश्वविद्यालयले गरेको छ । २ किलो हाइड्रोजन सिलिन्डरबाट एक सय युनिटबराबरको ऊर्जा प्राप्त हुने अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?