+
+

१७ वर्षीया रसना जब लाखे बनिन्

टोखाकी ‘किशोरी लाखे’लाई पछ्याउँदा

सुदर्शन अर्याल र नसना बज्राचार्य सुदर्शन अर्याल र नसना बज्राचार्य
२०७८ असोज ९ गते १८:१६

टोखाको कोनेलाछीको उत्तरपट्टि सानु लाल श्रेष्ठको एउटा रातो चार तले घर छ । इन्द्र जात्राको दोस्रो दिन आइतबार घरभरि मान्छेको भिड थियो । दिउँसो २ बजेतिर चण्डेश्वरी भजन खलक अन्तर्गत्का सबै परिवारको उपस्थितिले घरमा जात्राको माहोल बढाएको छ ।

दिउँसो ३ बजे लाखे निस्कनुपर्ने भएकोले तयारी भ्याइनभ्याइ छ । त्यही भ्याइनभ्याइको बीच सबैको हेराइ रसनाको साहस र इच्छाशक्तिले भरिएको अनुहारतिर सोझिन्छ ।

झट्ट सुन्दा महिला पनि लाखे नाच्छन् र ? भन्ने धेरैलाई लाग्न सक्छ । तर १७ बर्षिय रसना श्रेष्ठटोखाकी तेस्री महिला लाखे हुन् । चण्डेश्वरी भजन खलकका सल्लाहकार विक्रम श्रेष्ठ यस अघि २ जना महिला लाखे भइसकेको भए पनि आमसञ्चारको माध्यमको पहुँच नभएकोले पर्याप्त प्रचार हुन नसकेको बताउँछन् । श्रेष्ठका अनुसार यो घटना करिब एक दशक अघिको थियो ।

रसनाको दोस्रो लाखे नाच

इन्द्रजात्राको दोस्रो दिन आइतबार रसनाले एक महिनाको अन्तरमै दोस्रो पटक लाखे नाच्दै थिइन् । पहिलो नाच कुनै पूर्वतयारी विना नै गाई जात्राको दिन नाचेकी थिइन् । पहिलो नाच सम्झिँदै उनी भन्छिन् ‘मलाई अचानक बुबाले बोलाउनु भयो, साथीहरूलाई भन्न पनि भ्याइनँ । तर यसपालि अलिक तयारी गर्ने मौका मिल्यो । ’

लाखे निस्कनुभन्दा करिब एक घण्टा अघि 

अर्काे कोठाबाट कपडा लगाएर मुकुट लगाउने कोठामा पुग्छिन्, रसना । जुन कोठामा थकाली माइला श्रेष्ठ मुकुटको तयारी गर्दैछन्, चण्डेश्वरी भजन खलःका सल्लाहकार देवराज जोशी लाखेको अरु वस्त्रहरु तयार पार्दैछन् । त्यत्तिकैमा रसना प्रवेश गछ्र्रिन् । सबैको नजर उनको अनुहारतिर सोझिन्छ, आधा उत्साह र आधा डराएको भावमा रसनाले कसैलाई नहेरी क्यामेराको लेन्सतिर नजर दिन्छिन्, उनलाई थाहा छ क्यामेराको लेन्सले उनको अनुहारको भाव त खिच्दैन । तर पनि यो अनुभव उनको लागि पछिसम्म उत्प्रेरणाको स्रोत बन्न सक्छ । क्यामेराको लेन्सपट्टि मुस्कान दिएर उनी मुकुट लगाउने तयारीमा लाग्छिन् ।

पहिलो पटकको नाचको कुरा 

नाचभरि त कुनै समस्या भएन, भोलिपल्ट उनी थला परिन् । ‘पूरै नगर घुम्नुपर्ने, पाँच घण्टासम्म खाली खुट्टा नाच्दा म त भोलिपल्ट उठ्नै सकिनँ ।’ पहिलो पटक लाखे नाचेपछि रसनाले अनलाइनखबरसँग भनेकी थिइन् ‘तर भोलिपल्टदेखि चिनेजानेकाहरुले दिएको हौसला र उनीहरुको उत्प्रेरणाले ममा ऊर्जा आयो । पाएँ भने फेरि पनि लाखे नाच्छु भन्ने अठोट गरेँ ।’ नभन्दै एक महिना पनि नबित्दै उनले अर्काे मौका पाइन् जुन इन्द्रजात्राको दोस्रो दिन थियो ।

लाखेप्रतिको आकर्षण

रसनाले पहिलोपल्ट छ वर्षको हुँदा थःने लाछीमा लाखे नाचेको देखेकी थिइन् । लाखेको नजिक जान त औधि डर लाग्थ्यो । तर लुकिलुकी लाखेको नाच हेर्न छाडिनन् । नगर घुम्ने लाखेको नाच हेरेर चित्त बुझेन, युट्युबमा लाखेको नाच हेरिन्, कथा सुनिन् । उनमा झनै लाखे नाच्ने रहर बढ्दै गयो ।

उमेर याद छैन, एकपटक बुबा विक्रम श्रेष्ठ लाखे बनेर नाचेका थिए । अरुभन्दा आफ्नै बुबा लाखे बनेर नाच्दा उनलाई लाखेको बारेमा नजिकबाट बुझ्ने मौका मिल्यो । ‘म पनि सक्छु’ भन्ने भाव बढ्दै गयो । लाखे नाच सकिनेबित्तिकै बुबासँग सोधिन्, ‘कस्तो कति गाह्रो छ ? हामी पनि नाच्न सकिन्छ ?’

विक्रमले ‘गाह्रो छ’ भन्ने जवाफ फर्काएपछि रसना अलिकति हच्किइन् । तर आफ्नो लाखे नाच्ने इच्छाको बारेमा बुबा विक्रमलाई सुनाउन भने छाडिनन्, साथमा उनको इच्छाशक्ति पनि कमजोर भएन । तर जतिबेला लाखे नाच्ने इच्छा मनमा जाग्थ्यो, उनलाई बुबा विक्रमको ‘गाह्रो छ’ शब्दले घोचिरहन्थ्यो । उनको अबोध मस्तिष्कमा गढेको त्यो शब्द जतिबेलासम्म उनले कुशलतापूर्वक लाखे नाचेर देखाइनन्, त्यतिबेलासम्म मनमा खेलिरह्यो ।

जब तत्कालै लाखे नाच्न आउनू भन्ने खबर आयो

विक्रम चण्डेश्वरी भजन खलकका सल्लाहकार हुन् । चतुर्मासमा साँझ–साँझ बजाउने बाजा समूहका नेतृत्वकर्ता पनि भएकोले लाखे कसलाई नचाउने भन्ने कुरामा थोरैधेरै उनको पनि भूमिका हुन्थ्यो ।

यही सालको गाईजात्राको दिन बिहान ८ बजेतिर विक्रमले छोरी रसनालाई कोने लाछिमा आउन भने । किनभन्दा उताबाट जवाफ आयो ‘लाखे नाच्न’ । १२ वर्षदेखिको लक्ष्य पूरा हुन लागेको सोचेर रसना कोनेलाछीतिर लागिन् । जुन अवस्थामा थिइन्, त्यही अवस्थामा कोने लाछि स्थित सानुलाल श्रेष्ठको घरमा पुगिन् । भजन खलकको आलोपालो रुपमा हरेक वर्ष फरक फरक व्यक्तिको घरबाट लाखे निकाल्ने गरिन्छ । यो साल सानुलालको पालो थियो । पैदल हिँड्दा १५ मिनेटजति लाग्ने बाटो उनको उत्साहले पाँच मिनेटमै तय ग¥यो ।

हतारमा जाँदा उनले आफ्नै आमालाई समेत लाखे नाच्न जान लागेको सुनाउन भ्याइनन्, साथीहरुले पनि पछि मात्रै थाहा पाए । रसनाले १२ वर्षदेखिको मनको रहर पूरा गरिन् ।

गह्रौं मुकुट, बाजाको तालमा ताल मिलाएर नाच्नुपर्ने चुनौती र लामो यात्रा । जो कोहीलाई लाखे नाच्न पक्कै सजिलो थिएन । तर रसनाले त्यो चुनौती पूरा गरेर देखाइन् । उनी टोखा क्षेत्रका तेस्रो महिला लाखे हुन् । तर उमेरको हिसाबले सम्भवतः सबैभन्दा सानो उमेरमै लाखे बन्ने किशोरी हुन् रसना ।

थः ने लाछिमा पुगेपछि एक्कासी शक्ति आयो

करिब ३०० मिटरको बाटो तय गरेपछि लाखेले एकछिन विश्राम लिन्छ । रसना भन्छिन् ‘पहिलो बिसौनीमा पुग्दा अब सकिँदैन कि जस्तो महसुस भएको थियो । जब म ठूलो लाछीमा पुगेँ एक्कासी ममा शक्ति आयो । पहिलेको थकान हरायो, म पूरा चार घण्टासम्म नाच्न सकेँ ।’

किन नाचियो लाखे नाच ?

टोखा क्षेत्रमा नाचिने यो नाचको नेवारी नाम मिल्पु लाखे हो । चण्डेश्वरी भजन खलकका सल्लाहकार विक्रम श्रेष्ठ मिल्पु लाखे अरु लाखेभन्दा अलिक फरक हुन्छ । यो लाखे निस्कने र घरभित्र छिर्नेबेलामा ढोकामा दियो बोकेर ३ चक्कर लगाउनुपर्छ । मिल्पु लाखे इन्द्रजात्रा र त्यसपछि आउने पूर्णिमाको दिन नाच्ने लाखेको नाम हो ।

मिल्पु लाखे किन नाच्छन् ? भन्ने प्रश्नमा चण्डेश्वरी भजन खलकका सल्लाहकार जोशी भन्छन्, ‘लाखे पनि एक किसिमको प्रेत हो । यही प्रेतलाई यहाँका स्थानीयले हराएको सम्झनामा लाखे नाच्ने गरिएको हो ।’ जोशीका अनुसार ः

‘पहिले पहिले राति खेतमा पानी लगाउन जाने चलन थियो । राति खेतमा जाँदा सधैंभरि भूतप्रेतले सताउने गरेकाले स्थानीय आजित भएका थिए । लाखे भनेको पनि एक किसिमको प्रेत नै हो । एक पटक ३÷४ जना किसानका छोराहरु सबै धार्मिक शक्ति बटुलेर लाखे लखेट्न जान तयार भए । ती किसानका छोराहरुले लामो समयपछि घण्टाकर्ण चतुर्दशीको दिन लाखेलाई परास्त गरे । त्यही सम्झनामा लाखेलाई परास्त गरेको स्मरणमा टोलमा प्रतिकात्मक लाखे नचाउने गरिन्छ ।’

यो परम्परागत चलन रहेकोले हरेक वर्ष यो लाखे निकालेर नगर परिक्रमा गर्नुपर्छ भन्ने मान्यता छ । यदि यो परम्परा खण्डित भयो भने लाखेले फेरि दुःख दिन्छ भन्ने विश्वास रहेको चण्डेश्वरी भजन खलकका थकाली माइला श्रेष्ठ बताउँछन् । त्यसैले हरेक वर्ष कुनै न कुनै घरबाट लाखे निकाल्ने गरिएको उनको भनाइ छ ।

हेर्नुहोस् थप तस्वीरहरु 

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?