+
+

रुपन्देहीका पाँच पालिकामा कांग्रेसको निर्विरोध नेतृत्व चयन

टोपराज शर्मा टोपराज शर्मा
२०७८ असोज ९ गते १९:२५

९ असोज, बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका १६ मध्ये एक नगरपालिकासहित पाँच स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर सभापतिमा मोहम्मद सइद खान निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार ओमसतिया गाउँपालिका, गैडहवा गाउँपालिका, कोटहिमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै पदाधिकारी र कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका घिमिरेले जानकारी दिए ।

रोहिणीमा योगी निर्वाचित

यसबैबीच रुपन्देहीकै रोहिणी गाउँपालिकाको सभापतिमा पारसनाथ योगी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा अर्का उम्मेदवार इकवाल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित भएका मतदान अधिकृत टीकाराम शर्माले जानकारी दिए । १२५ जना क्षेत्रीय प्रतिनिधि रहेको रोहिणीमा योगीले ७० मत र खाँले ५४ मत प्राप्त गरेका थिए ।

जिल्लाका बुटवल उपमहानगरपालिका तथा सिद्धार्थनगर, तिलोत्तमा र देवदहमा देउवा र पौडेल समूह अलग–अलग प्यानल बनाएर चुनावी प्रतिस्पर्धाका लागि उत्रिएका छन् । सैनामैना नगरपालिकामा भने देउवा समूहकै गृहमन्त्री बालकृष्ण खांण र संघीय सांसद भरत शाह निकट समूहबीच प्रतिस्पर्धा भएको छ ।

गृहमन्त्री खांणको गृहनगर तिलोत्तमामा नगर सभापति पदमा तीनजनाको चुनावी प्रतिस्पर्धा भएको छ । देउवा समूहबाट वर्तमान सभापति हरिलाल पाण्डे र रामचन्द्र पौडेल समूहबाट युवा नेता नारायण न्यौपानेले प्यानल सहित प्रतिस्पर्धा गरेका छन् । प्यानलविना एक्लै उम्मेदवारी दिएका हरिप्रसाद तिवारीले भने आफू कुनै गुटको नभएको बताएका छन् ।

सिद्धार्थनगरमा देउवा समूहबाट कोशिस खड्का र पौडेल समूहबाट सञ्जीव रेग्मीको अलग अलग प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको छ ।

देवदह नगरपालिकामा गुणाखर भुर्तेल निर्वाचित भएका छन् । उनले झविन्द्रप्रसाद पाण्डेलाई ३ मतले पराजित गरे ।

जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले शनिबार रातिसम्म मतदान भएका उपमहानगरसहित सबै नगर र गाउंपालिकाको निर्वाचन परिणाम आइसक्ने बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?