+
+

पर्यटन दिवसमा सहभागी हुन राजदूतसहित २६ सदस्यीय टोली पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १३:०२
पर्यटकीय शहर पोखराको फेवाताललगायतका क्षेत्र । फाइल तस्वीर

१० भदौ, पोखरा । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइए पनि पर्यटन क्षेत्र अझै लयमा फर्किन सकेको छैन । खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराइभल भिसा प्राप्त गर्न सक्ने सरकारले निर्णय गरेपछि पर्यटन व्यवसायी उत्साही छन् ।

सोमबार ४१ औं विश्व पर्यटन दिवस मनाइँदै छ । पर्यटन दिवसकै अवसरमा पोखरा खुला रहेको र विदेशी पर्यटकलाई घुम्न आउन सन्देश दिन पोखरामा विशेष कार्यक्रम हुँदैछ । विभिन्न राष्ट्रका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि गरी २६ जना पोखरामा हुने विश्व पर्यटन दिवसको कार्यक्रममा भाग लिन आइतबार दिउँसो पोखरा आउँदैछन् ।

नेपालस्थित विभिन्न देशका राजदूतसहित पोखरा आउने २६ जनाको टोलीलाई गण्डकी प्रदेश सरकारले दिउँसो पोखरा विमानस्थलमा स्वागत गर्दैछ । पोखरा आउने टोलीको स्वागतमा आइतबार साँझ गण्डकी प्रदेश सरकारले रात्रीभोज आयोजना गर्दैछ ।

गण्डकी प्रदेश सरकारको संयोजनमा पोखराका पर्यटन व्यवसायीसँग सम्बन्धित संस्थाहरुको समन्वयमा सोमबार विश्व पर्यटन दिवस विशेष कार्यक्रम हुनेछ । ‘मुख्यमन्त्रीसमेतको उपस्थितिमा आज साँझ टोलीको सम्मानमा रात्रीभोज आयोजना गरिएको छ भने सोमबार विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमण, हाइकिङ हुनेछ । सोमबारै पोखरा लेकसाइडमा सडक महोत्सव पनि राखिएको छ,’ नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले भने, ‘हामी पोखरा खुला रहेको र पर्यटकलाई घुम्न आउन सन्देश दिन चाहन्छौं ।’

२६ जनाको टोली पोखरा आउने भनिए पनि कुन–कुन देशका राजदूत सहभागी हुँदैछन् भन्ने सार्वजनिक गरिएको छैन । राजदूतसहितको टोली पोखरामा आएर विश्व पर्यटन दिवसमा सहभागी हुँदा विश्वव्यापी रुपमा सकारात्मक सन्देश जाने गण्डकी प्रदेश सरकारको विश्वास छ । कोभिडपछिको पर्यटन, गण्डकी प्रदेशका पर्यटकीय सम्भावना र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश कसरी दिन सकिन्छ भनेर छलफल तथा परिचयात्मक कार्यक्रम पनि हुने गण्डकी सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।

सोमबार बिहान राजदूतसहितको टोली, सरकारका प्रतिनिधि र पर्यटन व्यवसायीसहित सरोकारवालाले कास्कीकोटको भुजेल गाउँदेखि कास्कीकोट दरबार हुँदै कश्यप तालसम्म हाइकिङ गर्ने कार्यक्रम छ ।

कास्कीकोट शाहवंशीय राजा कुलमण्डन शाहले शासन गरेको ठाउँ हो । कुलमण्डनलाई नेपालमा शाह वंशको पहिलो राजा मानिन्छ । ‘शाहवंशीय शासन शुरु भएको ऐतिहासिक ठाउँसम्मको हाइकिङ विशेष अर्थपूर्ण हुने विश्वास लिएका छौं,’ बोर्डका प्रमुख भण्डारीले भने ।

हाइकिङका रुट सफाइ भइसकेको यसको समन्वय गरेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशील पौडेलले जानकारी दिए । विश्व पर्यटन दिवसकै अवसरमा सोमबार साँझ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन पोखराले सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवर्द्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानासहितको सडक महोत्सवको आयोजना गरेको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पर्यटन दिवसको विशेष कार्यक्रममार्फत पर्यटन क्षेत्र अब लयमा फर्किएको सन्देश जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?