+
+

बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी

रासस रासस
२०७८ असोज १० गते १३:५३
Photo Credit : RSS

१० असोज, मेलम्ची । गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । पुरिए पनि कतिपय सग्लै रहेका ती पुरानै थातथलो उनीहरु फर्कन थालेका छन् ।

अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन् । केहीले त घरमा बस्न पनि थालिसकेका छन् भने केहीले बगर खोतलेर घरको तल्लो तला खोज्ने कार्य जारी राखेका छन् ।

अस्थायी टहरामा कति समय बस्ने भनेर घर खोजेर आएको उनीहरुको प्रतिक्रिया छ । जाने ठाउँ नै कहीं नभएपछि बस्न लायक होस् या नहोस्, त्यही घरका बिग्रे भत्केका संरचना निर्माण गरेर आएका हुन् । प्रशासनिक निकायले भने अहिले नै बस्ने बेला नभएको बताउँदै आएका छन् ।

यहाँका घर बस्न लायक छन् कि छैनन् भनेर अझै अध्ययन नहुँदै स्थानीय भने आफ्नो बासमा फर्किएका हुन् । टहराको बास कष्टकर हुनु पनि मुख्य समस्या हो जाडो शुरु हुन लागेकाले थप समस्या पर्ने भन्दै घर नभएकाले भने स्थायी बासको माग गरिरहेका छन् ।

मेलम्ची नगरपालिकाकी मैयाँ दुलालको घर पनि दुई तला पुरिएको थियो । मजदुर र स्काभेटर लगाएर झण्डै एक महिनाको प्रयासमा उनले पनि घरको तल्लो सतह फेला पारेपछि अहिले पुनर्निर्माण जारी राखेका छन् । अघिल्लो हप्ताबाट उनी घरको माथिल्लो तलामा बस्न थालेका छन् । अहिले पनि तल्लो तलाको निर्माणको काम जारी रहेको दुलालले सुनाए ।

‘मर्मतमा मात्रै ५–७ लाख रुपैयाँ खर्च भइसक्यो, अझै कति खर्च हुने हो थाहा छैन,’ उनले भने, ‘त्रासका बीच बस्न बाध्य छौं ।’

उनको घरको सटर पुरै बिग्रिएको थियो । घरका कतिपय भित्री भाग पनि क्षतविक्षत् भएका छन् भने गाह्रो चर्किएको थियो । झ्यालढोका पुरै फुटेका थिए । ‘के गर्नु अन्त जाउँ ठाउँ छैन, जस्तोसुकै भए पनि बस्नै प¥यो, खोला आए पनि कहाँ जानु, त्यही भएर आफैंले पुनर्निर्माण गरेर बसेको,’ उनले सुनाए ।

बाढीले उनको दुई रोपनी खेतसमेत बगाएको छ । ठूलो आर्थिक क्षति भए पनि उनले पुनर्निर्माण गरेर घर बस्न थालिसके । अधिकांशले आफ्नै प्रयासमा घर मर्मत गरिरहेका छन् । इञ्जिनियरलाई देखाएका छैनन् । घर बस्न लायक छ कि छैन भनेर अध्ययन भएको छैन । घरै नभएका भने अहिले सुकुम्बासी जस्तै बन्न बाध्य छन् ।

दुलालका अनुसार मेलम्चीमा आधाजति घरमा मानिस बस्न थालिसकेका छन् । आधा मानिस घर खोतल्दै छन् । धेरैका घर जग्गा बैंकमा राखिएको छ । कतिपय ऋणको किस्ता कसरी तिर्ने भनेर चिन्तित छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार प्रारम्भिक आँकडामा नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ । कुल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । उनले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए । अझै क्षतिको विवरण आउने क्रम छ । ‘अहिले नै बस्न हुँदैन भनेर सुझाव दिएका हौं, तर स्थानीय आफैं खोतलेर घर मर्मत गर्दै बस्न थालेका छन्,’ अर्यालले भने ।

हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । दुई हजार १०० रोपनी बढी जग्गा बाढीले बगाएको छ । यहाँको मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय बाढीका कारण मुख्यगरी नगरपालिकाको वडा नम्बर ६, १० र ११ मा ठूलो क्षति भयो । मेलम्ची बजारको खोला तटीय क्षेत्र तहसनहस भएको छ । आसपासका बस्ती विस्थापित छन् । नगरपालिकाले ५० लाख रुपैयाँ हालेर राहत तथा पुनस्र्थापना कोष बनाएको र अन्य संघसंस्था र समुदायलाई कोषमा रकम जम्मा गर्न आह्वानसमेत गरेको छ ।

बाढी र पहिरोले छियाछिया पारेका मेलम्चीका तटीय बस्ती र अलिक परका गाउँले अझै पनि त्रासमा छन् । माथिल्लो क्षेत्रमा विनावर्षा पनि ठाउँठाउँमा लेदो खस्न रोकिएको छैन । छियाछिया पारेको पहाडबाट सुक्खा पहिरो खस्ने जोखिम कायमै छ । कतै खस्न ठिक्क परेका ढुंगा माटोका ढिस्का छन् । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ । खोलाले किनारका बगर छेउछाउ कटान गर्ने क्रम अहिले पनि जारी छ ।

‘तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड धेरै बग्न बाँकी नै छ, मेलम्ची र हेलम्बुवासी सुरक्षित छैनन्,’ हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्छन् ।

कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । केही ढलेर बसेको र कति घरको चार तलासम्म बगर भरिएको स्थानीय सुनाउँछन् । त्यसको माथिल्लो क्षेत्र हेलम्बुका ठाउँठाउँका खोला किनारसमेत तहसनहस भएपछि विस्थापितहरु अस्थायी टहरामा बसिरहेका छन् । उनीहरु स्थायी बसोबासको माग गरिरहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मेलम्चीमा पुलका लागि पैसा छुट्याएको छ । खोला बढिरहेकाले काम अघि बढाउन सकिएको छैन । बस्ती पुनस्र्थापनाका लागि काम भइरहेको छ । घर बनाउनका लागि पहिलो किस्ता निकासा गरिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । तर त्यो सरकारी सानो किस्ता रकम प्रभावकारी हुने देखिँदैन । ठूलो तहसनहस भएकाले माथिल्लो तहदेखि नै व्यवस्थापन नगरेसम्म तल्लो तटीय क्षेत्रमा पुनस्र्थापन गर्ने योजना बनिसकेको छैन ।

‘माथिबाट कति बग्छ, कति पुरिन्छ भन्ने कुरा नै यकिन छैन, माथिल्लो तटीय क्षेत्रबाट झरेको र झर्दै गरेको गेग्य्रान तुरुन्तै खनेर हटाउन पनि सम्भव छैन, माथि नै थेग्ने गरी काम गर्ने कि फाल्ने हो भन्ने कुरा अध्ययनमैै छ,’ पोखरेलले भने ।

उनका अनुसार पुरिएका घर बस्न मिल्ने छ कि छैन भन्ने कुरा टुंगोमा पुगिसकेको छैन । पोखरेलले थपे, ‘सम्भवतः त्यो बस्न मिल्ने अवस्थामा छैन होला, अध्ययन नगरी बस भन्ने अवस्था छैन ।’ विज्ञले जुनसुकै बेला खोला आउनसक्ने भन्दै सचेत गराएका छन् । मेलम्चीमा खोलाको सतहभन्दा २५÷३० फिट माथिसम्म बगर भरिएको छ ।

मुख्यगरी गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले यहाँ तहसनहस पारेको हो । यसपालि औसतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ । जेठ २८ मा भित्रिएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो । त्यसको अर्को दिनबाटै भारी वर्षा शुरु भई जनजीवन प्रभावित बनायो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?