+
+
Shares

संसदीय समितिले भन्यो- वर्षाले क्षति पुर्‍याएका सडक दशैंअघि नै मर्मत गर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १७:१८
फाइल तस्वीर

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले वर्षाले क्षति पुर्‍याएका सडकहरुलाई दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै सवारीसाधनमा सिट क्षमताअनुसार यात्रु राख्न, लामो दूरीमा चल्ने यात्रुहरुको भाडादर देखिने ठाउँमा टाँस्न, भौतिक रुपमा टिकट काट्ने व्यवस्था हटाई अनलाइन प्रणालीबाट बुकिङको व्यवस्था गर्न र अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्न लगायतका विषयको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको बताइन् ।

सभापति खड्काकाअनुसार ५० करोड रुपैयाँभन्दा बढी लागत भएका आयोजनाहरुलाई मात्र वार्षिक आयोजनाको रुपमा कार्यान्वयन गर्ने गरी बनाइएको मापदण्डले पूर्वाधार विकासमा आवश्यक रहेका धेरै आयोजना कार्यान्वयन नहुने र अव्यावहारिक हुने भएकोले सो मापदण्ड तत्काल पुनरावेदन गर्ने व्यवस्था मिलाउन समितिले यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । सम्बन्धित मन्त्रालयअन्तर्गतका निर्माणाधीन अवस्थामा रहेका सडक, वैकल्पिक सडक, तथा पूर्वाधार विकासका काम आवश्यक स्रोत निश्चित गरी समयमै सम्पन्न गर्न यातायात मन्त्रालयलाई निर्देशन दिए ।

सभापति खड्काले पाँच दिन यात्रुहरुको सहजताका लागि सवारीसाधन चेकजाँच नगरी सहज सुविधा दिने निर्णयलाई एक साता बनाउन पनि सरकारलाई सचेत गराएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?