+
+

विदा हुँदैछिन् जर्मन चान्सलर एन्जेला मर्केल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १७:४०

१० असोज, काठमाडौं । जर्मनीमा आइतबार आम निर्वाचन हुँदैछ । यो निर्वाचनपछि जर्मन चान्सलर एन्जेला मर्र्केलको कार्यकाल सकिनेछ ।

मर्केलले पटक पटक गरी १६ वर्ष चान्सलर पद सम्हालेपछि पद छाड्न लागेकी हुन् । उनी विदा भए पनि उनका नीतिहरु कार्यान्वयन गर्न उनैको पार्टीलाई जिताउने वा विपक्षी पार्टीलाई सरकार बनाउने मौका दिने भन्ने निर्णय अब जर्मन नागरिकको हातमा छ । यद्यपि मर्केललाई भने जर्मनीको इतिहासमा महत्वपूर्ण व्यक्तित्वको रुपमा चिनिनेछ ।

को हुन् मर्केल ?

एन्जेला मर्केलको जन्म सन् १९५४ मा पश्चिम जर्मनीको ह्यामवर्गमा भएको हो । उनको नाम एन्जेला डोरोथिया कासनर हो तर उनलाई एन्जेला मर्केलको नामबाटै चिनिन्छ ।

उनले युनिभर्सिटी अफ लेइपजिगमा भौतिकशास्त्रको अध्ययन गरेकी थिइन् र १९७८ मा उनले उक्त विषयमा डाक्टरको उपाधि पाएकी थिइन् । पछि उनले सेन्ट्रल इन्स्टिच्युट फर फिजिकल केमेस्ट्रिमा रसायनशास्त्रीको रुपमा काम गरेकी थिइन् ।

सन् १९८९ मा बर्लिनको पर्खाल भत्काइएपछि मर्केल क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) पार्टीबाट राजनीतिमा लागेकी थिइन् । त्यसको केही समयमा नै उनी हेल्मट कोहलको सरकारमा महिला तथा युवामन्त्री बनिन् । पछि उनले वातावरण तथा न्युक्लियर सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि पाएकी थिइन् । १९९८ को आम निर्वाचनमा कोहल पराजित भएसँगै मर्केल सीडीयू पार्टीको महासचिव बनेकी थिइन् ।

सन् २००० मा मर्केल पार्टीको नेता चुनिइन् तर उनी २००२ मा सीडीयूबाट चान्सलरको उम्मेदवारीको प्रतिस्पर्धामा भने पछि परिन् । सन् २००५ मा उनी जर्मनीको पहिलो महिला चान्सलर बनिन् । त्यसपछि उनले लगातार चार कार्यकाल सम्हालिसकेकी छिन् ।

कुशल महिला नेतृत्व

एन्जेला मर्केललाई प्रतिष्ठित फोब्र्स म्यागाजिनले १० वर्षसम्म विश्वको सबैभन्दा शक्तिशाली महिला घोषित गरेको थियो । जर्मनीको एउटा पुस्ताले चिनेको महिला नेतृ नै मर्केल हुन् ।

महिलाको प्रतिनिधित्वको उदाहरणको रुपमा उनको भूमिका निकै महत्वपूर्ण रह्यो । उनले महिलालाई प्रमुख पदमा आउन पनि प्रेरित गर्दै आएकी छिन् । त्यसको एउटा उदाहरण युरोपेली आयोगकी प्रमुख उर्सुला भान डेर पनि हुन् । मर्केलले नै उनलाई पहिला रक्षामन्त्री र अहिले युरोपेली आयोगको अध्यक्ष बन्न सहयोग गरेकी थिइन् ।

यद्यपि मुस्लिम महिलालाई निशाना बनाएको र लैङ्गिक मुद्दालाई अनावश्यकरुपमा अघि सारेको भन्दै उनको आलोचना पनि हुँदै आएको छ । त्यस्तै लैङ्गिक भाषाको विषयलाई पनि अहिले अर्को मुद्दा बनाइएको छ । मर्केल भने यी सबै मुद्दामा मौन रहँदै आएकी छिन् ।

उनी दृढ र धेरै नबोल्ने नेतृको रुपमा चिनिन्छिन् । दूरदर्शी नभएको भन्दै आलोचना भए पनि उनमा मानिसहरुले के चाहेका छन् भन्ने कुरालाई राम्रोसँग अध्ययन गर्ने क्षमता रहेको जानकारहरु बताउँछन् ।

सरल व्यक्तित्व

मर्केललाई कुशल नेतृका साथै सरल व्यक्तित्वको रुपमा चिनिन्छ । १६ वर्षको आफ्नो कार्यकालमा उनले आफ्ना कुनै पनि आफन्त वा नातेदारलाई राज्यको कुनै पनि पदमा नियुक्त गरिनन् । उनी मेकअप, घरजग्गा, कार, निजी विमानजस्ता कुराहरुबाट टाढै रहिन् । एकपटक उनलाई सौन्दर्य सामग्री प्रयोग किन नगरेको भनेर गरिएको प्रश्नमा उनले भनेकी थिइन्, ‘म नागरिकको सेवक हुँ, मोडल होइन ।’

मर्केलले आफ्नो घरमा काम गर्न पनि कसैलाई राखेकी छैनन् । आफ्नो घरमा काम गर्न मानिस राख्नुपर्ने आवश्यकता नै नरहेको बताउँदै आएकी छिन् । उनी भन्छिन्, ‘म कपडाहरु मिलाउँछु मेरा श्रीमान्ले वासिङ मेसिन चलाउँछन् ।’

त्यतिमात्र होइन, मर्केल आम नागरिक बस्ने जस्तै अपार्टमेन्टमा बस्छिन् । उनको कुनै ठूलो घर, स्विमिङ पुल, बगैंचा छैन ।

उपलब्धि

जर्मन चान्सलरको रुपमा मर्केलले केही सुधारका काम पनि गरेकी छिन् । उनको कार्यकालमा जमैनीमा समलैङ्गिक विवाहले मान्यता पाएको थियो भने परमाणु ऊर्जालाई चरणवद्धरुपमा हटाउने काममा पनि मर्केललाई सफलता मिलेको थियो । त्यस्तै उनको आप्रवासन नीतिको पनि अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको थियो । मर्केलले जर्मनीलाई धेरैपटक संकटबाट बाहिर निकालेकी थिइन् ।

सन् २००८ को वित्तीय संकटको डटेर सामना गर्दै त्यसबाट बचाएकी थिइन् । उनले आवश्यक परेको समयमा अर्थतन्त्रमा सरकारले पनि हस्तक्षेप गर्नुपर्ने बताएकी थिइन् । यो वित्तीय संकटबाट पार पाउनु उनको एक महत्वपूर्ण नीतिको रुपमा लिने गरिएको छ ।

शरणार्थीलाई आश्रय दिने मामिलामा मर्केलको नीतिले अन्तर्राष्ट्रियस्तरमा प्रशंसा पाएको थियो । २०१५ मा जर्मनीले करिब १० लाख शरणार्थीलाई आश्रय दिने निर्णय गरेको थियो । जर्मनी सिरियाबाट आएका शरणार्थीलाई मुलुकमा आश्रय दिने केही युरोपेली मुलुकमध्येको एक हो ।

यद्यपि उनको समयमा डिजिटलीकरण, जलवायु नीति र जनसांख्यिक परिवर्तनजस्ता मुद्दामा जर्मनी केही पछि परेको छ । समग्रमा उनको कार्यकाल आगामी नेतृत्वको लागि राम्रो उदाहरण हुन सक्ने जानकारहरु बताउँछन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?