+
+
मन्थन :

नायकतन्त्रजस्तै लोकतन्त्र पनि गलत छ

मोहन तिम्सिना मोहन तिम्सिना
२०७८ असोज ११ गते ८:३०

राजनीति यस्तो क्षेत्र हो, जहाँ ‘तीता’ र ‘मीठा’, दुवैखाले कुरा गर्नु जरूरी हुन्छ । तर राजनीतिकर्मीहरू प्रायः ‘मीठा’ कुरा मात्र गर्दछन् । अहंकार वा शक्तिको लालसाले ग्रस्त राजनीतिकर्मीका लागि यो ‘बाध्यता’ पनि हो । किनकि ‘तीता’ कुरा गर्दा लोकप्रियता गुम्ने खतरा हुन्छ । ‘मीठा’ कुरा गर्दा जनताको सस्तो हाईहाई पाइन्छ । भोट जितिन्छ ।

राजनीतिक क्षेत्रको यथार्थ के हो भने, यहाँ कतिपय ‘तीता’ जस्ता लाग्ने कुरा यथार्थमा ‘मीठा’ हुन्छन् । कतिपय ‘मीठा’ जस्ता लाग्ने कुरा यथार्थमा ‘तीता’ हुन्छन् । जैविक राजनीति यस्तो ‘मार्ग’ हो जसले राजनीतिका तीता-मीठा, दुवैखाले कुरा गर्दछ । प्राकृतिक र यथार्थसम्मत राजनीतिलाई संस्थागत गर्ने प्रयास गर्दछ ।

जनसंख्या सन्तुलन

आज पृथ्वीमा मानव जातिको जन्म-मृत्यु सन्तुलन बिग्रिएको छ । विज्ञान प्रविधिको विकासले मृत्यु माथिको नियन्त्रण बढेको छ, तर सोही अनुपातमा जन्म माथिको नियन्त्रण कायम हुनसकेको छैन । जसको परिणाम पृथ्वीमा मानव जातिको जनसंख्याले सीमा पार गरेको छ । अधिक मानवीय उपस्थितिका कारण अन्य प्राणी, जीवजन्तुहरू क्रमशः लोप हुँदैछन् । जैविक विविधता नष्ट भइरहेको छ । मनुष्यको ‘दानवीय’ चिन्तन प्रवृत्तिका कारण पर्यावरणीय सन्तुलनमै असर पर्ने गरी प्राकृतिक स्रोतको दोहन बढेको छ ।

सीमित पृथ्वीमा असीमित मानव जाति हानिकारक कुरा हो । यसले अन्य प्राणी र पर्यावरणलाई मात्र हानि गर्ने होइन, अन्ततः यसले मानव जातिलाई नै हानि पुर्‍याउँछ । हामी अन्तरनिर्भर र परिपूरक ब्रहृमाण्डमा छौं । यहाँ मानव र गैरमानव, सजीव र निर्जीव, प्राणी र वनस्पति सबैको सन्तुलित सहकार्य हुँदा मात्र मानव वा गैरमानवको हित हुन्छ । नत्र गैरमानवको अहितले मानव जातिको पनि अहित नै हुन्छ ।

हामीले जति ‘विकास’ गरौं, जतिसुकै ‘राम्रो राजनीतिक प्रणाली’ बनाऔं, यही अनुपातमा जनसंख्या वृद्धि भइरहे, यो पृथ्वीका स्रोतहरू कहिल्यै हामीलाई पुग्ने छैन । परिणामतः मानव समाज कहिल्यै उन्नत हुन सक्ने छैन । उन्नत समाज चाहने हो भने हामीले पूरै विश्वका लागि र हरेक देशका लागि मनुष्य जातिको जनसंख्याको सीमा तोक्न जरूरी छ ।

झट्ट सुन्दा यो तीतो कुरा हो । त्यसैले आजका राजनीतिकर्मीहरू यो विषयलाई महत्व दिन चाहँदैनन् । तर यो आजको अहम् सवाल हो । जैविक राजनीतिले यो विषयलाई महत्वका साथ उठाउन जरूरी ठान्छ ।

धार्मिक जागरण

विविधता समाजको एउटा आयाम हो । जाति, भाषा, क्षेत्र, वर्ग, वर्ण, लिंग, सम्प्रदाय आदिले समाजलाई विविधीकरण गर्दछ । यो विविधताको बीचमा एकताको पनि कुनै आधार अवश्य हुन्छ । जसले सामाजिक कार्य-कारण सम्बन्धको लामो शृंखलालाई जोडेको हुन्छ । समुदाय, देश र सभ्यताको निर्माण गरेको हुन्छ ।

इतिहासदेखि आजसम्म हेर्ने हो भने, ‘धर्म’ नै त्यो आधार हो, जसले सामाजिक एकता र सहकार्यको आधार प्रदान गरेको छ । झट्ट सुन्दा यो कुरा तीतो लाग्न सक्छ । तर गहिरो यथार्थमा यही नै मीठो कुरो हो ।

पूर्वीय धारणामा ‘धर्म’ र ‘विज्ञान’ पर्यायवाची हुन् । प्रकृति, जीवन र समाजको सूक्ष्म स्वभावका सम्बन्धमा पूर्वीय धर्मले जुन तथ्य बताउँछ, त्यो ‘शास्त्रीय विज्ञान’ का मान्यताको ठीक विपरीत छ । तर ‘आधुनिक विज्ञान’ का मान्यताको समान छ । अब धार्मिक हुनु र वैज्ञानिक हुनु एउटै कुरा हो । त्यसैले धार्मिक हुनु मीठो कुरा हो ।

‘धर्म’ आफैंमा पूर्ण शब्द हो, यसमा कुनै अर्को शब्द जोड्न आवश्यक छैन । हिन्दू, बौद्ध, जैन आदि सम्प्रदाय हुन् । सबैको साझा मूल्यमान्यता चाहिं धर्म हो । जस्तो कि हाम्रा सबै सम्प्रदायहरूले प्रकृतिलाई ‘मातृशक्ति’ मान्दछन् । मधेशको यादव वा हिमालको शेर्पा वा पहाडको आर्य वा पूर्वको लिम्बू वा पश्चिमको खस, जो-कोही कुनै नदीमा पुगे भने समान श्रद्धा प्रकट गर्दछन् । सबैले भौतिक सुखलाई जीवनको ‘साधन’ र आत्मिक सुखलाई ‘लक्ष्य’ मान्दछन् । यस प्रकारका साझा मूल्यमान्यता नै धर्म हुन् ।

जैविक राजनीतिमा जीवनको ‘अभौतिक आयाम’ लाई स्वीकार गरिन्छ । जन्म मात्र होइन, मृत्यु पनि गुणस्तरीय हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसात् गरिन्छ । यस कारण मनुष्यको औसत आयु १०० वर्ष मानेर, अघिल्ला ५० वर्ष मात्र सांसारिक कर्ममा खर्च गर्नुपर्दछ भन्ने मानिन्छ

इतिहास हेर्ने हो भने युरोपमा सामाजिक विविधता कम हुँदा पनि आपसी काटमार धेरै भयो । पूर्वमा सामाजिक विविधता ज्यादा छ तर सामाजिक सहिष्णुता उदाहरणीय छ । पाश्चात्य सम्प्रदाय र विचारधाराहरू सबै विभाजनमुखी दृष्टिकोणमा खडा भएका छन् । जसका कारण त्यहाँ असहिष्णुता ज्यादा भयो । पूर्वको धार्मिक मूल्यमान्यताले नै पूर्वीय सभ्यतालाई सहिष्णु र एकताबद्ध बनायो ।
हाम्रा राजनीतिकर्मीहरू ‘धर्मशास्त्र’, ‘नीतिशास्त्र’ र ‘सम्प्रदाय’ बीचको भेद नै नबुझी सबैलाई एकैखाले विरोध गर्दछन् । यिनीहरू शास्त्रीय र यान्त्रिक खालका पाश्चात्य विचारको अन्धविश्वासमा फसेका छन् । जसका कारण धर्म, सामाजिक नीति र सम्प्रदायबीच भेद गर्न जान्दैनन् । विभाजनको मात्र आधार देख्छन्, सहकार्य र एकताको आधार देख्दैनन् ।

नेपालमा ‘पहिचानको आन्दोलन’ असफल हुनुको कारण नै यही हो । ‘पहिचानवादी’ले नेपाली समाजको एकताको आधार के हो ? ठम्याउनै सकेनन् । केवल विभाजनमुखी कुरा मात्र गरिरहे । एकता र सहकार्यको कुरा छुटाए । उनीहरूको यही अधुरो कुरालाई विरोधीहरूले पक्रिए । देशलाई टुक्र्याउन खोजेको आरोप लगाए ।

‘पहिचानको आन्दोलन’ असफल हुनुको अर्को कारण, नेपालका ‘पहिचानवादी’ लाई यहाँका आदिवासी जनजातिको खास पहिचान के हो भन्ने नै थाहा नहुनु हो । ‘पहिचानवादी’ को चिन्तन प्रणाली, यहाँका रैथाने आदिवासी जनजातिहरूको चिन्तन प्रणालीको ठीक विपरीत छ ।

आदिवासी जनजातिहरू धार्मिक (वैज्ञानिक) छन् । पहिचानवादीहरू अधार्मिक (यान्त्रिक) छन् । आदिवासी जनजातिहरू एकता र विभाजनलाई अन्तरसम्बन्धित मान्दछन् । स्वायत्तता र सहकार्यको बराबर अभ्यास गर्दछन् । ‘पहिचानवादी’ हरू पाश्चात्य विभाजनमुखी विचार र मूल्यमान्यताको अन्धविश्वासले ग्रस्त छन् । यही कारण आदिवासी जनजातिहरूले ‘पहिचानवादी’ लाई पत्याएनन् ।

जैविक राजनीति, मूलतः ‘धार्मिक मार्ग’ हो । यस अर्थमा कि यसले शास्त्रीय विचारधाराहरूका विभाजनमुखी मूल्यमान्यताको खण्डन गर्दछ । विभाजन र एकता, स्वायत्तता र सहकार्यलाई अन्तरसम्बन्धित मान्दछ ।

जैविक राजनीतिले भन्छ- जाति, भाषा, क्षेत्र, वर्ग, लिंग र सम्प्रदाय सामाजिक विविधता र स्वायत्तताको आधार हो भने ‘धर्म’ एकता र सहकार्यको आधार हो । राज्य ‘साम्प्रदायिक’ हुनुहुँदैन, ‘धार्मिक’ हुनुपर्दछ । राजनीति पनि अधार्मिक (विभाजनमुखी) हुनुहुँदैन, धार्मिक (सहकार्यमुखी) हुनुपर्दछ । झट्ट सुन्दा यो कुरो तीतो लाग्न सक्छ, तर सूक्ष्म अर्थमा यही मीठो कुरा हो । साथै यो भन्न हिच्किचाउनुपर्दैन कि जैविक राजनीति, धार्मिक जागरणको राजनीति हो ।

उमेरको हदबन्दी

जैविक राजनीतिमा जीवनको ‘अभौतिक आयाम’ लाई स्वीकार गरिन्छ । जन्म मात्र होइन, मृत्यु पनि गुणस्तरीय हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसात् गरिन्छ । यस कारण मनुष्यको औसत आयु १०० वर्ष मानेर, अघिल्ला ५० वर्ष मात्र सांसारिक कर्ममा खर्च गर्नुपर्दछ भन्ने मानिन्छ ।

५० वर्षपछिको उमेर ‘वानप्रस्थ’ तथा ‘संन्यास’ वृत्तिको उमेर हो । यो उमेरमा सांसारिक कर्मलाई जीविकोपार्जनमा सीमित गर्नुपर्दछ । त्यसबाट निस्केको बाँकी समय ‘मृत्यु चिन्तन’ मा बिताउनुपर्दछ । यो प्राचीन मान्यतालाई जैविक राजनीतिमा पूरा आत्मसात् गरिन्छ ।

किनकि राजनीति पनि सांसारिक कर्म नै हो । राजनीति समाजको मूल नीति हो । यो गडबड हुँदा सम्पूर्ण सामाजिक सञ्जाल नै प्रभावित हुन्छ । परिपक्वता र सिर्जनशील क्षमता, राजनीतिकर्मीका लागि अनिवार्य योग्यता हो ।

मनुष्य, निश्चित आयु लिएर जन्मिएको हुन्छ । उमेर अनुसार उसका क्षमता फरक हुन्छन् । अति कम वा अति ज्यादा उमेर, दुवै अवस्थामा मनुष्यको सिर्जनशीलता र क्षमता कमजोर हुन्छ । यस्ता व्यक्तिलाई राजनीतिक जिम्मेवारी दिनु हानिकारक हुन्छ ।

जो कोही व्यक्ति, यदि राजनीतिमा आउन चाहन्छ भने निश्चित तयारीसहित आओस् । २५ वर्षदेखि ५० वर्ष उमेर समूहको ‘गृहस्थ’ उमेर नै राजनीतिक कर्मका लागि उपयुक्त छ । अगाडिको २५ वर्ष तयारीको समय हो । पछिल्लो ५० वर्ष व्यक्ति स्वयंका लागि हो ।

५० वर्ष कटेपछि हरेक व्यक्तिको पार्टी सदस्यता स्वतः निस्क्रिय हुने व्यवस्था गर्नुपर्दछ । राज्यका राजनीतिक पदहरूमा पनि यही व्यवस्था लागू गर्नुपर्दछ । यदि यो मान्यताबाट कोही च्युत हुन्छ भने उसको चिन्तन नै गडबड छ । ऊ कहीं न कहीं भौतिक सुखको लालसाले ग्रस्त छ । त्यस्ता व्यक्तिबाट उन्नत राजनीति सम्भव हुँदैन । यो तीतो कुरा नै जैविक राजनीतिको अर्को महत्वपूर्ण प्रस्थापना हो ।

वैचारिक विभाजनलाई इन्कार

जैविक राजनीतिले ‘बहुदल’ स्वीकार गर्दछ । तर दलहरूमा वैचारिक विभाजन हुन्छ भन्ने कुरालाई पूरा इन्कार गर्दछ । दल भन्नु नै काम, क्रोध, लोभ, मोह र अहंकारसहितका मानिसको जमात हो । कसैले म वर्गवादी वा राष्ट्रवादी वा लोकतन्त्रवादी वा समाजवादी हुँ भन्दैमा ऊभित्रको वृत्तिमा सुधार भइहाल्ने होइन । अनि समाजलाई व्यक्ति, वर्ग, जाति र प्रकृतिमा टुक्रा गर्न सकिने पनि होइन ।

त्यसैले जैविक राजनीतिले भन्छ- कसैले केही ‘वादी’ हुनुपर्दैन । राजनीतिलाई एक खेल मानेर खेलको साझा नियम स्वीकार गरे पुग्छ । सबै नियम (विधि) को मातहत रहन चाहिं तयार हुनुपर्‍यो । जसले खेलको यो साझा नियमलाई नै अस्वीकार गर्छ, ऊ मात्र राजनीतिमा गलत हुन्छ । खेलको नियम स्वीकार गरेपछि राजनीतिमा सबै उस्तै प्रतिस्पर्धी हुन् । सबैको इज्जत र स्थान एउटै हो । दलहरू बीचमा कुनै वैचारिक पर्खाल खडा गर्नु औचित्यपूर्ण हुँदैन ।

यति कुरा स्वीकार गरेपछि राजनीतिमा हुने भनेको प्रतिस्पर्धा हो । यो प्रतिस्पर्धा पनि अरू विषयको होइन, केवल जनताको चार आवश्यकता (आहार, निद्रा, भय, मैथुन) को व्यवस्थापन कुशलताको प्रतिस्पर्धा हो । यो कामको परिणाममा जसले किफायतीपना (इफिसिएन्सी) र प्रभावकारिता (इफेक्टीभनेश) ज्यादा देखाउँछ, राजनीतिमा उही असल हो । चाहे जुनसुकै दलको होस् । आजका उदारवादी वा समाजवादीहरूका लागि यो तथ्य पनि तीतो लाग्न सक्छ । तर यथार्थमा यही मीठो कुरा हो ।

स्वनिर्णय

नायकतन्त्र जति गलत, लोकतन्त्र त्यति नै गलत हो । किनकि दुनियाँमा लोकतन्त्र भन्ने नै हुँदैन । लोकतन्त्रका नाममा अन्ततः केही नायकहरूले नै शासन गर्ने हो । त्यसैगरी दुनियाँमा नायकतन्त्र भन्ने पनि हुँदैन । जस्तोसुकै नायकको उदयमा पनि लोककै हात हुन्छ

अधिकारका हिसाबले सबै मानिस समान छन् । सामान्यतया राजनीति सबै मानिसको अधिकार हो । राजनीतिको ढोका सबै मानिसका लागि खुल्ला हुनुपर्दछ । धनी वा गरीब, महिला वा पुरुष, ‘विकसित जाति’ वा ‘सीमान्तकृत जाति’, कसैलाई पनि राजनीतिक कर्ममा भेद गर्न पाइँदैन ।

तर गुणवत्ताका हिसाबले मानिसहरू भिन्न पनि छन् । यसको अर्थ राजनीतिमा सकारात्मक विभेद पनि जरूरी छ । ठाउँ परिवेश अनुसार समानुपातिक प्रतिनिधित्व, समावेशीकरण, सहभागिता जस्ता धारणाहरूको अभ्यास पनि उत्तिकै जरूरी छ । यसो गर्दा अवस्था अनुसार, महिला, गरीब, सीमान्तकृत समुदायले राजनीतिमा विशेष प्राथमिकता पाउन सक्छन् । यी समुदायले अस्थायी रूपमा विशेष सुविधा उपभोग गर्न पनि सक्छन् । जुन गलत हुँदैन ।

तर राजनीतिमा जो आओस्, आफ्नो स्वनिर्णयले आओस् । चाहे जुनसुकै वर्ग, लिंग वा जाति होस्, जसको स्वभाव राजनीति गर्ने खालको छ त्यस्ता व्यक्तिहरूले मात्र सक्रिय राजनीतिमा आउनुपर्दछ । बाँकी मानिसहरू राजनीतिप्रति सचेत हुनुपर्दछ, सही कुराको समर्थन र गलत कुराको विरोध गर्नुपर्दछ, तर सक्रिय राजनीतिमा आउनुहुँदैन । यद्यपि यो अरूले निर्णय गरिदिने विषय होइन, व्यक्ति स्वयंले निर्णय गर्नुपर्ने विषय हो ।

दोस्रो कुरा, राजनीतिमा कसैको ‘योगदान’ वा ‘लगानी’ हुँदैन । कुनै राजनीतिकर्मीले मैले राजनीतिमा धेरै वर्ष बिताएको छु भन्दै विशेष सेवा सुविधाको माग गर्न मिल्दैन । हरेक व्यक्ति मूलतः आफ्नो आत्मसन्तुष्टिका लागि राजनीतिमा सक्रिय भएको हुन्छ । यसकारण भोलिको जय वा पराजयका लागि ऊ स्वयं नै जिम्मेवार हुन्छ । कसैलाई दोष दिन मिल्दैन । यो तथ्य स्वीकार गर्न तयार हुने मात्र राजनीतिमा आउनुपर्दछ ।

झट्ट सुन्दा यो कुरा तीतो लाग्न सक्छ । तर सूक्ष्म अर्थमा यही मीठो कुरा हो । किनकि हरेक मानिसले आफ्नो गुणधर्म अनुरूपको कर्ममा लाग्दा मात्र मनुष्यका कर्म सफल र सार्थक हुन्छन् । गुणधर्म विपरीतको कर्मले व्यक्तिको जीवनमा दुःख पैदा हुने मात्र होइन, त्यसले समाजमा समेत उपद्रव पैदा गर्दछ । यसकारण स्वनिर्णय र गुणधर्म अनुरूप राजनीतिमा सक्रियता जैविक राजनीतिको अर्को महत्वपूर्ण प्रस्थापना हो ।

नेता-जनता सम्बन्ध

नेता-जनता सम्बन्ध सापेक्ष, तुलनात्मक र प्रतिपर्धात्मक हो । नेता भन्नाले अधिकतम सचेतना र सक्रियता भएको जनता नै हो । जनता भन्नाले न्यूनतम सचेतना र सक्रियता भएको नेता नै हो । यिनीहरूलाई अलग-थलग बुझ्न मिल्दैन ।

यसको अर्थ यदि राजनीतिक प्रणाली र नेता बिग्रेका छन् भने त्यसका जिम्मेवार जनता पनि हुन् । यदि जनता बिग्रेका छन् अर्थात् जनता जागरुक छैनन् भने त्यसको जिम्मेवार नेता पनि हुन् । जनता वा नेता कोही पनि ‘महान’ हुँदैन ।

नेता र जनता दुवैले जति नै ‘पराक्रम’ गरे पनि यिनीहरूमा काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता गुणहरू जिउँदै रहेका हुन्छन् । त्यसैले नेता वा जनता दुवै ‘बन्धन’ कै अवस्था हो, ‘मुक्ति’ को अवस्था होइन । यही कारण नेता र जनता दुवै जहिले पनि सामाजिक नियमको मातहत नै रहिरहनुपर्दछ ।

केवल ‘बुद्ध पुरुष’ (व्यक्ति) मात्र नियमभन्दा माथि हुन सक्छन् । त्यस्ता बुद्ध पुरुषका वचनलाई मात्र राजनीतिमा मागदर्शक स्वीकार गर्नुपर्दछ । दार्शनिक वा चिन्तक वा ‘नेता’ प्राधिकार नेतृत्व बन्न सक्दैनन् । कुरा तीतो लाग्न सक्छ । तर सूक्ष्म अर्थमा यही मीठो कुरा हो ।

आर्थिक-सामाजिक संरचना

राजनीतिमा कसैले लोकतन्त्रवादी वा अधिनायकवादी हुनै पर्दैन । लोक र नायकहरूको जिउँदो र सन्तुलित सम्बन्ध भएको ‘जैविक समाज’ भए पुग्छ ।

नायकतन्त्र जति गलत, लोकतन्त्र त्यति नै गलत हो । किनकि दुनियाँमा लोकतन्त्र भन्ने नै हुँदैन । लोकतन्त्रका नाममा अन्ततः केही नायकहरूले नै शासन गर्ने हो । त्यसैगरी दुनियाँमा नायकतन्त्र भन्ने पनि हुँदैन । जस्तोसुकै नायकको उदयमा पनि लोककै हात हुन्छ ।

त्यसैले लोक र नायक भनेको एउटै सिक्काको दुई पाटा हुन् । यिनीहरूको असन्तुलित सम्बन्ध मात्र गलत हो । यिनीहरूको सन्तुलित सम्बन्ध जायज र जरूरी हो ।

एकात्मकता र संघात्मकता, राष्ट्रवाद र अन्तर्राष्ट्रियतावाद, दलाल पूँजी र राष्ट्रिय पूँजी, निजी धन र सामूहिक धन पनि यस्तै कुरा हुन् । हामीले कुनै एउटालाई निषेध गरेर अर्कोलाई प्राथमिकता दिनु गलत हुन्छ । जस्तै, संघीयताका लागि बलियो केन्द्र पनि चाहिन्छ । जतिसुकै ‘सक्षम’ राष्ट्र पनि विश्व समुदायबाट एक्लो रहन सक्दैन । वैदेशिक सम्बन्ध र ‘दलाल पूँजी’ उसको जीवनको अभिन्न अंग जस्तै बनेर आइलाग्छ । यो सम्बन्ध असन्तुलित भयो भने मात्र गलत हुन्छ ।

‘व्यक्ति’ रहेसम्म निजी धन रहन्छ । ‘समाज’ रहेसम्म सामूहिक धन रहन्छ । कुनै एकले अर्कोलाई निषेध गर्दैन । व्यक्तिको श्रमले सिर्जित धनलाई निजी धनकै मान्यता दिनुपर्दछ । सामूहिक उपयोगका चिज -शिक्षा, स्वास्थ्य, सार्वजनिक पूर्वाधार) जस्ता विषयलाई सामूहिक धनका रूपमा जोगाउनुपर्दछ ।

समाजवादी हुने नाममा निजी धन मास्न खोज्नु र उदारवादी -व्यक्तिवादी) हुने नाममा सामूहिक धनको निजीकरण गर्नु उत्तिकै अप्राकृतिक र गलत काम हो । राजनीतिको काम निजी धन र सामूहिक धनबीच सन्तुलन बनाउने हो । कुनै एकलाई असन्तुलित पार्ने वा निषेध गर्ने होइन ।

अन्त्यमा,

राजनीति मूलतः ‘खेल’ नै हो । खेलको नियम स्वीकार गरिसकेपछि सबै खेलाडी समान हुन् । तर अहिलेसम्मको अवस्था के हो भने यहाँ खेलको नियम नै ठीक बनेको छैन । संविधानले खडा गरेका मूल्यमान्यता अधार्मिक, अप्राकृतिक छन् । राज्यका संरचनाहरू झेली छन् । जसले खेललाई स्वच्छ हिसाबले सम्पन्न हुनै दिंदैनन् ।

संविधान संशोधनबाट यो अवस्थामा आमूल परिवर्तन गर्न जरूरी छ । यसका लागि संविधानका यान्त्रिक मूल्यमान्यता परिवर्तन गरेर जैविक (धार्मिक) मूल्यमान्यता स्थापित गर्नुपर्दछ । राज्य संरचना र निर्वाचन प्रणाली बदल्नुपर्दछ । तब बल्ल जैविक राजनीतिको वातावरण तयार हुन्छ ।

यस्तो वातावरण नबनेसम्म, तत्काल ‘फोहोरी खेल’ मा सामेल हुनुको कुनै अर्थ हुन्न । बरु यो ‘फोहोरी खेल’ विरुद्ध आन्दोलन सृष्टि गर्नु चाहिं जरूरी हुन्छ । जसले एक स्वच्छ राजनीतिक खेल खेल्ने नियम र वातावरण तयार गर्न सकोस् । जैविक राजनीतिको वर्तमानको कार्यभार यही हो ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment