+
+
बुद्ध एयरको विमानका यात्रुको अनुभव : :

जहाजभित्रै रूवाबासी चल्यो, हामीले त आश मारिसकेका थियौं

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते २०:०५
सोमबार त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको वुद्ध एयरका यात्रुहरु प्रताप लिम्बु र अनमोल प्रधान ।

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन ।

ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

अन्यथा इन्धन सकेर फोर्स ल्याण्डिङको विकल्प थिएन ।

यात्रुहरुका अनुसार काठमाडौं आउँदासम्म खासै डर लागेको थिएन । तर यहाँ पनि ल्याण्ड हुन नसकेपछि जहाजभित्र रुवाबासी चलेको उनीहरूले सुनाए ।

सुरक्षाकर्मी तयारी अवस्थामा देखेपछि अब जिन्दगी यति नै भयो भन्ने लागेको यात्रु प्रताप लिम्बुले सुनाए । ‘ढोका खोल्दिनुस्, हामी हाम फाल्छौं पनि भन्यौं,’ उनी भन्छन्, ‘एयर होस्टेसहरुले तपाईंलाई सक्दो बचाउने कोसिस गर्छौं । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।’

अर्का यात्रु अनमोल प्रधानले जहाजभित्र रुवाबासी भएको र धेरैले आश मारेको सुनाए । रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए’ उनी भन्छन्, ‘जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो ।’

एयर होस्टेसको आँखामा आँसु थियो
प्रताप लिम्बु

बिहान ८ः०५ बजे विराटनगरर्फ उडेका थियौं, तर अवतरण हुन सकेन । किन भएन भनेर प्रश्न गर्दा अलिकति समस्या छ भनियो ।

त्यहाँ क्याप्टेन साहेबले अवतरण गराउन ६/७ पटक नै प्रयास गर्नुभयो, त्यसपछि काठमाडौं फिर्ता गर्नुभयो । काठमाडौं आउन्जेल त मलाई केही जस्तो लागेको थिएन, ढुक्क नै थिएँ । राम्रै हुन्छ होला भन्ने भयो, काठमाडौं आएपछि पनि ८/९ पटकसम्म आकाशमा घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो ।

त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं । अब जिन्दगी यति नै रहने भयो, अब दुर्घटना हुन्छ भन्ने नै भयो । हामीले ढोका खोल्दिनुस, हामी हाम फाल्छौं पनि भन्यौं ।

एयर होस्टेसहरुले केही हुँदैन भनेर ढाडस दिइरहनुभयो । हामी तपाईंहरुलाई बचाउन सक्दो कोशिस गर्छौं भन्नुभयो । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो । त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो । नभन्दै सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए । कतिपय त बेहोस नै भए होलान् । जति दह्रो मन भएपनि यस्तो हुन्छ । एयर होस्टेसको आँखामा आँसु थियो । तर, उहाँहरु हामीलाई केही हुँदैन भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।

आश मारिसकेका थियौं
अनमोल प्रधान, यात्रु

जहाजभित्र रुवाबासी हुन थाल्यो । जति कन्ट्रोल गरे पनि त्यो रुवाबासीले गर्दा आँशु रोक्न सकिएन । हामीले आस मारिसकेका थियौं ।

आकाशमा घुमिरहेको विमानबाट रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए । हामीलाई त भगवानले मात्रै बचाएको जस्तो लाग्छ । भगवान पशुपतिनाथको कृपाले बाँच्यौं । सबैजना भित्र हात जोडेर बसिरहेका थियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?