+
+

स्थानीय पाठ्यक्रम लागू गर्दै सूर्यविनायक नगरपालिका

रासस रासस
२०७८ असोज ११ गते १४:५०

११ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो ।

पाठ्यक्रम निर्माणपछि अन्तिम रुप दिएर त्यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण थापाले जानकारी दिए ।

चालु शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक सत्रमा ६ देखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने उल्लेख गर्दै उनले यसै साताभित्र सरोकारवाला व्यक्तिसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिम रुप दिइने बताए ।

‘नगरपालिकाले सूर्यविनायक क्षेत्रमा दशैंपछि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएकाले कक्षा सञ्चालन हुँदा विद्यार्थीले स्थानीय पाठ्यक्रम पढ्न पाउने छन्,’ नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष थापाले भने, ‘सूर्यविनायक नगरपालिका भक्तपुरको नयाँ नगरपालिका हो, त्यसैले शुरुका दुई वर्ष ऐन कानून निर्माण, नगरपालिकाको व्यवस्थापन र विकास निर्माणमा केन्द्रित भयौं, त्यसपछि दुई वर्ष कोभिडले पाठ्यक्रम निर्माणमा छलफल गर्ने वातावरण नै भएन, बल्ल अलि सहज भएपछि पाठ्यक्रम निर्माण सकेर लागू गर्न खोजेका हौं ।’

कक्षा १ देखि ५ सम्म लागू हुने स्थानीय पाठ्यक्रममा स्थानीय १४ विषयवस्तु समावेश गरिएका छन् । नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले दशैंअघि नै पाठ्यक्रमलाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने र दशैंपछि कक्षा कोठामा कडाइका साथ कार्यान्वयनमा ल्याउने गरी नगरपालिकाले तयारी गरेको बताए । उनले स्थानीय पाठ्यक्रमलाई प्रयोगात्मक ढंगले अगाडि बढाइने जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?