११ असोज, काठमाडौं । आइसल्याण्डको संसदमा महिला र पुरुषको संख्या झण्डै बराबरी देखिएको छ । सोमबार सार्वजनिक भएको मत परिणामअनुसार ६३ सिटको संसद्मा ३० महिला सांसद निर्वाचित भएका छन् ।
यसअघि प्रारम्भिक मतगणनाअनुसार ३३ महिला उम्मेदवार सांसदमा निर्वाचित हुन सक्ने देखिए पनि अन्तिम परिणामअनुसार ३० महिला सांसद निर्वाचन भएका हुन् ।
यससँगै आइसल्याण्ड युरोपमा संसद्मा महिला सहभागिता धेरै भएको मुलुक बनेको छ । आइसल्याण्डको संसदमा महिला सांसदको उपस्थिति ४७ दशमलव ६ प्रतिशत छ । महिला सहभागिताको आधारमा दोस्रो स्थानमा रहेको स्वीडेनमा ४७ प्रतिशत र फिनल्याण्डमा ४६ प्रतिशत महिला सांसद छन् ।
इन्टर पार्लिमेन्टरी युनियनका अनुसार रुवान्डामा महिला सांसदको अनुपात सबैभन्दा धेरै छ । यो मुलुकमा ६१ प्रतिशत सांसद महिला छन् । त्यस्तै क्युबा, निकारागुआ र मेक्सिकोमा महिला सांसदको हिस्सा ५० प्रतिशतभन्दा धेरै छ ।
समग्र विश्वमा भने महिला सांसदको हिस्सा एक चौथाइभन्दा केही बढी मात्र छ । बेलायतको हाउस अफ कमन्समा ३४ प्रतिशत महिला सांसद छन् भने अमेरिकी संसदको तल्लो सदनमा महिलाको हिस्सा २७ प्रतिशत मात्र छ ।
करिब ३ लाख ७१ हजार मानिसको जनसंख्या रहेको आइसल्याण्ड विश्वको सबैभन्दा धेरै लैङ्गिक समानता भएको मुलुक हो । आइसल्याण्डको निर्वाचनको मतपरिणाममा प्रधानमन्त्री क्याटरिन जाकोब्सडोटिरको पार्टीको गठनबन्धनले संसदमा आफ्नो स्थान बलियो बनाएको छ । यो गठबन्धनले ३७ सिट जितेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4