+
+

बैंकमा तरलता संकट : ९ अर्ब निक्षेप आयो, ३१ अर्ब ऋण लगानी

रोयल आचार्य रोयल आचार्य
२०७८ असोज ११ गते १९:५५

११ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) समस्या झन बढ्ने देखिएको छ । कर्जा (ऋण) लगानीमा आक्रामक भएका बैंकहरुले निक्षेप संकलन भने अत्यन्तै न्युनमात्रै गरेका कारण बैंकहरुमा तरलता अभाव हुने संकेत देखिएको हो ।

असोज महिनाको पहिलो सातामा पनि २७ वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । बैंकहरुले लिएको निक्षेपको ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा लगानी गर्नुपर्ने हुन्छ । तर, पछिल्लो साताको तथ्यांक हेर्दा निक्षेपभन्दा तेब्बर धेरै ऋण लगानी भएको छ ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असोज पहिलो सातामा बैंकहरुले ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर यहीँ अवधिमा भने यी बैंकहरुले जम्मा ९ अर्बमात्रै निक्षेप संकलन गरेका छन् । यसले पनि बैंकहरुमा तरलता समस्या तत्कालै समाधान भइहाल्दैन कि भन्ने संकेत गरेको छ ।

बैंकर्स संघका अनुसार भदौ मसान्तसम्म बैंकहरुले ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । असोज ८ गतेसम्म आइपुग्दा यी बैंकहरुले कर्जा बढाएर ३९ खर्ब ३ अर्ब पुर्‍याएका छन् । उता निक्षेप भने भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा असोज ८ सम्म जम्मा ९ अर्ब रुपैयाँलेे मात्रै बढेर ४१ खर्ब ८० अर्ब रुपैयाँमात्रै पुर्‍याएका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालका अनुसार अहिले वित्तीय बजारमा २२ अर्ब रुपैयाँ तरलता रहेको छ । राष्ट्र बैंकले बजारमा लगानी योग्य रकम अभाव भए पछि केही दिनअघि मात्रै २० अर्ब रुपैयाँ रकम बजारमा पठाएको थियो ।

अहिले बजारमा तरता धेरै नरहेको र थोरैमात्रै घटबढ भइरहेको प्रवक्ता ढकालले बताए । दशैं आएकाले खर्च गर्न नगद निकालिएका कारण पनि बैंकहरुमा धेरै निक्षेप नबढेको उनको भनाइ छ । दशैंका बेला सर्वसाधारणले धेरै खर्च गर्ने र खर्चका लागि बैंकमा भएको रकम समेत निकाल्ने भएकाले यो महिना धेरै निक्षेप बढ्दैन । दशैंपछि भने वित्तीय बजारमा तरलता बढ्दै जाने राष्ट्र बैंकको विश्वास छ ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि दशैंपछि कात्तिकमा बजारमा तरलता हुने र ब्याजदर समेत घट्ने बताउँछन् । बजारमा तरलता अभाव हुन नदिन रेमिट्यान्सको समेत महत्वपूर्ण भूमिका हुन्छ ।

साउन महिनामा रेमिट्यान्स १८ प्रतिशतले घटेको छ । यसकारण पनि बजारमा तरलता धेरै हुन सकेन । तर, अब दशैंमा रेमिट्यान्स पनि बढ्ने र सरकारी खर्च समेत बढ्दा तरलता समस्या समाधान हुने अध्यक्ष दाहाल बताउँछन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?