१२ असोज, भक्तपुर । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन् ।
कोभिड-१९ सङ्क्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुन थालेका छन् । भक्तपुर र चाँगुनारायण नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय खुल्न अनुमति दिएपछि यहाँका विद्यालय असोज १ गतेदेखि नै विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका हुन् ।
सूर्यविनायक नगरपालिकाले भने दशैँअगाडि भौतिकरूपमा परीक्षा सञ्चालनको अनुमित दिए पनि दशैँपछि कक्षा ८ देखि १० सम्म र तिहारपछि सबै कक्षालाई भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ । मध्यपुरथिमि नगरपालिकाले भने उपत्यकामा १८ वटा नगरपालिकामध्ये अन्तिममा मात्रै विद्यालय खोल्न अनुमति दिने बताउँदै आएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले अनुमति नदिए पनि लुकीलुकी भौतिकरूपमा विद्यालय सञ्चालन गर्न थालेपछि नगरपालिकाले विद्यालय सञ्चालन निर्देशिका जारी गरी स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ल्याउँदै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न अनुमति दिएको बताए ।
“नगरपालिकाभित्र रहेका सबै निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई आवश्यक पर्ने मास्क, स्यानिटाइजर, हात धुने साबुनलगायत सुरक्षा सामग्री नगरपालिकाले नै वितरण गरेका छौँ, ज्वरो नाप्ने थर्मनगन यसअघि नै बाँडिसकेका छौँ”, नगरप्रमुख मिश्रले भने, “नगरपालिकाले स्वास्थ्य निर्देशिका र कार्यढाँचा जारी गरी विद्यालय सञ्चालन गर्न अनुमति दियौँ, विद्यालय खुलेका छन्, हामी बेला-बेलामा अनुमगन पनि गर्छौँ ।”
सूर्यविनायक नगरपालिकाले तत्कालका लागि भौतिकरूपमा परीक्षा सञ्चालन गर्न अनुमति दिए पनि कक्षा सञ्चालन भने दशैँपछि मात्रै अनुमति दिने भएको छ । सूर्यविनायक नपाका प्रमुख वासुदेव थापाले भने, “हामीले अहिले विद्यालय सञ्चालनको अनुमति दिएका छैनौँ, दशैँपछि कक्षा ८, ९, र १० तथा तिहारपछि कात्तिक ७ गतेदेखि सबै कक्षालाई भौतिकरूपमै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेका छौँ ।”
मध्यपुरथिमि नगरपालिकाले भने तिहार अगाडि विद्यालय सञ्चालनको अनुमति नदिने भएको छ । खोप लगाउन बाँकी १८ वर्षमुनिका बालबालिका कोरोनाको उच्च जोखिममा रहेको भन्दै मेयर मदनसुन्दर श्रेष्ठले बालबालिकामा कोरोना सङ्क्रमण देखिन थालेकाले हतारिएर विद्यालय खोल्न अनुमति नदिने बताए ।
उनले अनुमति नदिई विद्यालय सञ्चालन गरेको पाइए नगरपालिकाले कारबाही गर्छ भन्दै उपत्यकाका १८ पालिकामध्ये १७ वटाले सञ्चालनको अनुमति दिएपछि मात्रै मध्यपुरथिमिले अनुमति दिने जानकारी दिए । मध्यपुरथिमि नगर कसैको दबाब र प्रभावमा नचल्ने भन्दै उनले विद्यार्थी र विद्यालयले कक्षामा भौतिक दूरी कायम गर्छौँ भने पनि त्यसले काम नगर्ने र स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गराउन नसक्ने बताए ।
नगरप्रमुख श्रेष्ठले भने, “अधिकांश सरकारी विद्यालयका ८० प्रतिशत विद्यार्थी उपत्यका बाहिरका छन्, दशैँमा घर गएर फर्किँदा निकै जोखिममा हुन्छन्, एक विद्यार्थीलाई मात्र कोरोना सङ्क्रमण देखियो भने त्यसले विद्यालयमा कतिलाई सार्ला, सङ्क्रमणले विद्यालयको एउटा विद्यार्थीको मात्रै ज्यान गयो भने के हुन्छ ?, बरु बच्चाका लागि खोप ल्याएर छिटो दिन सरकारलाई दबाब दिऔँ ।”
दशैँ र तिहारपछि अवस्था हेरेर मात्रै विद्यालय सञ्चालनको अनुमति दिने बताउँदै उनले मध्यपुरथिमि नपाद्वारा सञ्चालित नेपाल कोरिया-मैत्री नगरपालिका अस्पतालमा बच्चाका लागिसमेत भेन्टिलेटरसहितको आइसीयू सञ्चालनमा ल्याएको बताए ।
भक्तपुर नपा उपप्रमुख एवं शिक्षा समिति संयोजक रजनी जोशीले नगरपालिकाले विद्यालयका प्रिन्सिपल, अभिभावक, शिक्षक, विद्यार्थीलगायत सरोकारवाला निकायसँग छलफल गरेर विद्यालय सञ्चालनको अनुमति दिएको बताइन् ।
विद्यालय भौतिकरूपमा सञ्चालन गर्नु जोखिम भए पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्छौँ भनेर विद्यालय सञ्चालकले भनेको र विद्यार्थीले पनि विद्यालयमै गएर पढ्छौँ भनेपछि विद्यालय सञ्चालनको अनमुति दिएको उनको भनाइ छ ।
उपप्रमुख जोशीले भनिन्, “विद्यालयले भौतिकरूपमा परीक्षा सञ्चालन र पढाइ सञ्चालन गरिरहेका छन्, हामीले रोकेका छैनौँ, विद्यार्थी पनि स्कुल जान आतुर छन्, अभिभावकले पनि अनलाइन कक्षा प्रभावकारी नभए पनि पूरै शुल्क तिर्नुपर्ने, अनलाइन कक्षाका लागि कामै छाडेर एक जना घरमा बस्नुपर्ने समस्या आयो भन्दै गुनासो गरेपछि अनुमति दियौँ ।”
वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो । जेठ १८ गते बन्द विद्यालयको नियमित पठनपाठन सञ्चालन गर्न मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका-२०७७ जारी गर्दै असार १ गतेदेखि शैक्षिक सत्र गणना गरी विद्यार्थी भर्ना गर्न र वैकल्पिक सिकाइ सञ्चालन गर्न अनुमति दिएको थियो ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4