+
+

चुनाव भएको ४ वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणनाको मिति तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १२:४६

१२ असोज, जनकपुरधाम । प्रदेश २ मा स्थानीय तहको निर्वाचन भएको चार वर्ष बितिसकेको छ । २ असोज २०७४ मा भएको निर्वाचनमा जितेर आएका जनप्रतिनिधिको पद सकिन लागेको छ ।

जनप्रतिनिधीहरुले पाँच वर्षे कार्यकाल सकेर आगामी फागुन/चैतमा त नयाँ निर्वाचनको घोषणा नै हुनुपर्छ । यस्तो अवस्थामा एक वडाको भने पुनः मतगणना हुने भएको छ ।

उच्च अदालत जनकपुरले महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को फेरी मतगणना गर्न आदेश दिएको हो ।

न्यायाधीशहरु हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको इजलासले फेरी मतगणनाको आदेश दिएको हो । आदेश अनुसार ७ कात्तिकमा बिहान ११ बजेदेखि मतगणना हुनेछ ।

मुद्दाका पक्षहरु र सम्बन्धित निर्वाचन अधिकृत र निर्वाचन कार्यालय समेतलाई मतगणनाको मिति र समयको जानकारी दिई फेरी मतगणना गर्न उच्च अदालतले आदेश दिएको हो ।

दोहोर्‍याएर मतगणना गरी पाउँ भन्दै वडा अध्यक्षका उम्मेदवार रमेश रायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले २१ असार २०७५ मा फेरी मतगणना गर्ने आदेश दिएको थियो । निर्वाचित भएका अरुणकुमार चौधरीले आदेश विरुद्ध सर्वाेच्च अदालतमा निवेदन दिएका थिए ।

सर्वाेच्चले ६ चैत २०७७ मा उच्च अदालतको आदेश सदर गरेको हो । सो आदेश कार्यान्वयनका लागि उच्च अदालतले फेरी मतगणनाको मिति तोकिदिएको हो ।

मतगणनाको नतिजा विरुद्ध मुद्दा दायर गरेका राय स्वतन्त्र उम्मेदवार दिए । राय र नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरीले समान ६७ मत पाएका थिए । दुवैको मत बराबर भएपछि गोलाप्रथा गर्दा चौधरी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

रायको दाबी अनुसार, चौधरीलाई ६४ मत मात्रै आएको हो । निर्वाचनमा खटिएका कर्मचारीले बदर हुनुपर्ने ३ वटा मत मिलाइदिएर ६७ पुर्‍याइदिएको दाबी गर्दै मुद्दा दायर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?