+
+

गर्भपतनलाई अन्तिम विकल्पको रुपमा मात्रै लिन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते २०:१८

१२ असोज, वीरगञ्ज । गर्भपतनलाई अन्तिम विकल्पको रुपमा मात्रै लिन सरोकारवालाहरुले सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले असुरक्षित गर्भपतनले महिला ज्यान जाने खतरा हुने बताए ।

सिद्धार्थ इन्टरनेशनल कलेजकी निर्देशक डा. सुष्मा द्विवेदीले गर्भपतनका क्रममा आफूले भोगेको तीतो अनुभव सुनाइन् । शिक्षित परिवारमा जन्मिएकी उनले सामाजिक परिवेशका कारण आफूले गर्भपतनका लागि परिवारसँग सल्लाह गर्ने हिम्मत जुटाउन नसकेको बताइन् ।

‘कानूनी रुपमा बालविवाह निषेध छ तर समाजमा बालविवाह भइरहेको हुन्छ । विवाह हुने बित्तिकै गर्भधारण हुन्छ,’ उनले भनिन्, ‘सही यौन तथा प्रजनन् स्वास्थ्य शिक्षाको अभाव छ, समयमै उचित शिक्षा पाएको भए, त्यो कठिनाइको सामना गर्नुपर्ने थिएन ।’

उनले अगाडि थपिन्, ‘२६ वर्ष अघि मेरो विवाह १५ वर्षको उमेरमा भयो । विवाहपछि म गर्भवती भएँ । त्यतिखेर १० कक्षामा अध्ययनरत थिएँ । विद्यालयमा परिवार नियोजनका बारेमा पढाइ हुँदैनथ्यो । कानूनले निषेध गरे पनि १८ वर्षभन्दा कम उमेरमा नै समाजमा विवाह गर्ने चलन थियो । हुन त म डाक्टरको छोरी हो तर घर तथा माइतीमा सरसल्लाह गर्न डर लाग्यो । औषधि खाइसकेपछि ब्लिडिङ हुन थाल्यो, मैले त्यो कुरा समेत लुकाए । पछि अस्पतालमा नै जानुपर्ने अवस्था आयो । अनि परिवार सबैले थाहा पाए ।’

महिनावारीको जस्तै सुरक्षित गर्भपतन सेवाको बारेमा पनि खुल्ला छलफल हुनुपर्ने र  पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको धारणा छ ।

नारायणी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रीति यादवले सुरक्षित गर्भपतन अन्तिम विकल्प भएको बताइन् ।

‘परिवार नियोजनका साधन सरकारले निःशुल्क दिन्छ, त्यसबारेमा जानकारी भयो भने अनिच्छित गर्भ नै बस्दैन,’ उनले भनिन्, ‘तर जनचेतनाको अभाव छ, समस्या परेपछि मात्रै स्वास्थ्य संस्था आउँछन्, महिला बच्चा जन्माउने साधन मात्रै हैन, उनको पनि जीवन हुन्छ । सुरक्षित नै भए पनि गर्भपतनलाई अन्तिम विकल्पको रुपमा प्रयोग गर्नुपर्छ ।’ उनले मान्यता प्राप्त चिकित्सकको निगरानीमा मात्रै गर्भपतन सेवा लिन आग्रह गरिन् ।

मेरी स्टोप सेन्टर वीरगञ्जका सुरेश ठाकुरले गर्भपतन सेवा फार्मेसीबाट लिने चलन निकै घातक भएको बताए । यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा स्कुल तथा क्याम्पसहरुमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए ।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतोले सामाजिक सांस्कृतिक विविधताले पनि समस्यामा पार्ने गरेको बताए ।

‘तराईमा सामाजिक र सांस्कृतिक विविधता छ, यहाँ महिलालाई निर्णय गर्ने अधिकार दिइँदैन । एक्लै स्वास्थ्य संस्थामा गयो भने सासूले गाली गर्छन्,’ उनले भने, ‘सामाजिक सांस्कृतिक मान्यताले नै गर्दा हामीले पहिलो बच्चा गुमाउनुपर्‍यो । त्यस्तो समस्या समाजमा अझै विद्यमान छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?