+
+

२४ दिनसम्म उठाइएन सीताको शव, मुद्दा कमजोर पार्न खोजेको आरोप

तिलोत्तमाका १३ वडा कार्यालयमा तालाबन्दी

टोपराज शर्मा टोपराज शर्मा
२०७८ असोज १३ गते १८:३१

१३ असोज, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेलको मृत्यु भएको २४ दिन बितिसक्दा पनि उनको शव उठाइएको छैन । गत भदौ २० बिहान सीता आफ्नै घरको कोठामा मृत भेटिएकी थिइन् ।

माइती पक्षले परिवारका सदस्यको योजनामा हत्या भएको दावी गरेको छ । तर पोष्टमार्टम रिपोर्टमा भने आत्महत्या देखिएको छ । माइती पक्षले छोरीको परिवारका जेठाजु नगरपालिकाका जनप्रतिनिधि रहेकाले शक्ति र पैसाको आडमा पोष्टमार्टम रिपोर्टमा आत्महत्या देखाइएको दावी गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै आएको छ ।

सोही अनुसार सीआईबी टोली असोज ६ गते रुपन्देही आएर अनुसन्धान गरेको छ । तर माइती पक्षले प्रहरी अनुसन्धान फितलो भएको र सत्यतथ्य लुकाउन खोजिएको भन्दै फेरि सडक आन्दोलन चर्काएको छ । उनीहरुले बुधबार तिलोत्तमा नगरपालिकाका १७ मध्ये १३ वटा वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै मणिग्राममा प्रदर्शन गरेका छन् ।

मृतक सीताका बुबा हरिप्रसाद भण्डारीले पौडेल परिवारले राजनीतिक र आर्थिक चलखेल गरेर मुद्दा कमजोर बनाउन खोजेको आशंका गरेका छन् । सीताको परिवार र इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरबीच नजिकको सम्बन्ध (आफन्त) भएकाले पनि आफूहरुको मुद्दा राम्रोसंग नहेरेको भण्डारीको गुनासो छ ।

शुरूमा इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन मानेको थिएन । त्यसपछि माइती पक्षले आन्दोलन चर्काएपछि आत्महत्या दुरुत्साहनमा उजुरीमा अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले भने सीआईबीको टोलीले अनुसन्धान गरेकाले छिट्टै सत्य तथ्य बाहिर आउने बताए ।

अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार ‘टेक्निकल’ र ‘मेनुअल’ दुवै तरिकाले घटनाको अनुसन्धान भइरहेको छ ।

मृत्युको जानकारी परिवारका अरु सदस्यलाई नदिइएको, प्रहरी नआउँदै पासो काटिएको, मुखबाट रगत बगेको, गला कस्सिएको र भुइँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको सीताका भाइ सुरजले बताए ।

आन्दोलन नरोकिएपछि प्रहरीले मृतकका श्रीमान टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजू) विष्णुलाई नियन्त्रणमा लिएको छ ।

घटना हुनु अघिल्लो दिन ज्वाई टीका पौडेलले आफ्नो घरमा आएर अब ‘छोरीको भविष्यको आफैं व्यवस्था गर्नु’ भनेर गएको सीताका बाबु हरिप्रसाद भण्डारीको दावी छ ।

डीएसपी मदन कुवँरले भने आफूहरूले अनुसन्धान गरिरहेको र पीडितको आशंका सही नरहेको दावी गरे । २७ वर्षीया सीताको ४३ वर्षीया टीकासँग दुई वर्षअगाडि मागी विवाह भएको थियो ।

यसअघिकी श्रीमतीसँगको सम्बन्धविच्छेदपछि टीकाले दोस्रो विहे गरेका थिए । टीकाले पाल्पाको तानसेनमा ‘दी दरबार रिसोर्ट’ नामको होटल सञ्चालन गर्दै आएका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?