+
+
एमाले विधान महाधिवेशनका कार्यभार :

राष्ट्रिय राजनीतिमा एमाले असफलता : दोषी जबज कि नेतृत्व ?

दिनेश भुसाल दिनेश भुसाल
२०७८ असोज १४ गते ९:४२

नेकपा एमालेले आफ्नो १०औं महाधिवेशनको पूर्वार्द्धमा विधान महाधिवेशन आयोजना गर्दैछ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता र अदालतको आदेशबाट फेरि विभाजन, सत्ताबाट बहिर्गमन अनि स्वयं एमालेको विभाजनको पृष्ठभूमिमा नेकपा एमालेको विधान महाधिवेशन आयोजना हुन लागेको हो । पार्टीले अभूतपूर्व संकटको सामना गरिरहेको वर्तमान परिवेशमा आयोजना हुन गइरहेको यो महाधिवेशनले पार्टीलाई पुनः पुरानै लयमा फर्काउन के-कस्ता नीतिगत फेरबदलहरू गर्ला भन्ने सन्दर्भमा विधान महाधिवेशनलाई अर्थपूर्ण रूपमा हेरिनेछ ।

संघीयता कार्यान्वयन भएपश्चात पहिलो पटक आयोजना हुन लागेको विधान महाधिवेशनबाट नेकपा एमालेका आम कार्यकर्ताले राखेका खास अपेक्षाहरू के के हुन्ा् ? यस आलेखमा खोतल्ने प्रयास गरिनेछ ।

संघीयता अनुकूलको विधान

हाल क्रियाशील नेकपा एमालेको विधान २०४९ – २०७१ को संशोधनसहित) नेपाल संघीयतामा प्रवेश गर्नु अगाडिको एकात्मक प्रशासनिक संरचना अनुकूलको विधान हो । देशले संघीय प्रशासनिक प्रणाली अवलम्बन गरेपछि पार्टी संरचना पनि सोही अनुकूल परिमार्जन गरिनुपर्दथ्यो । तर २०७२ मा नेपालको संविधान जारी भए पश्चात् सबै राजनैतिक दलहरूको ध्यान आफ्नो पार्टी संरचनालाई संघीयता अनुकूल बनाउनेतर्फ जानुको साटो आगामी चुनावमा बढीभन्दा बढी सिट सुरक्षित गर्न राजनैतिक दाउपेच खेल्नमै गयो । सामान्यतया पार्टी नेतृत्वले संघीयतालाई आत्मसात् गर्न नसकेकै कारणले पार्टी पुनर्संरचनाको काम प्राथमिकतामा नपरेको आरोप बौद्धिक समुदायले लगायो ।
सत्ता दाउपेचकै सिलसिलामा नेकपा एमाले र माओवादी केन्द्रबीच अप्रत्यासित पार्टी एकता हुन पुग्यो । पार्टी एकताले सार्थकता नपाउँदै अहंकार, ईष्या र सत्ता स्वार्थको चंगुलमा फसेको पार्टी पुनः विभाजित भयो र नेकपा एमाले पुनर्जीवित भयो । सामान्यतया हरेक पाँच-पाँच वर्षमा हुनुपर्ने पार्टीको महाधिवेशन आगामी मंसीरमा आहृवान गर्ने निर्णय भैसकेको सन्दर्भमा संघीयता अनुकूलको पार्टी संरचना निर्माण गर्नु पुनर्जीवित एमालेको बाध्यता नै हो । विधान महाधिवेशनले त्यो काम गर्ने नै छ ।

बहुदलीय जनवादको सैद्धान्तिक विकास र व्याख्या

कुनै पनि राजनैतिक पार्टी निर्माणको आधार उक्त पार्टीले स्वीकार गरेको ‘दर्शन’ हो । सरल अर्थमा दर्शनले के ? र किन ? भन्ने प्रश्नको उत्तर अभिव्यक्त गर्दछ अर्थात् दर्शनले विश्वास र चाहना वा लक्ष्य प्रदान गर्दछ । लक्ष्य प्राप्तिको बाटो देखाउने औजार अर्थात् दर्शनद्वारा अभिव्यक्त लक्ष्य प्राप्त गर्ने तरिकालाई सिद्धान्त भनिन्छ । दर्शन र सिद्धान्तको प्रयोग मार्फत सामाजिक-आर्थिक समृद्धि हासिल गर्न अवलम्बन गरिने समष्टिगत व्यवहारहरूलाई विधानद्वारा निर्दिष्ट गरिन्छ । द्वन्दात्मक भौतिकवादी दर्शन स्वीकार गर्ने नेकपा एमालेले माक्र्सवाद, लेनिनवाद र बहुदलीय जनवादलाई आफ्नो सिद्धान्तको रूपमा अङ्गीकार गरेको छ । जुन सिद्धान्तको व्यावहारिक कार्यान्वयन गर्न पार्टीको विधान बनेको छ । अब प्रश्न उठ्छ- के नेकपा एमालेको विधानले उसले अवलम्बन गरेको दर्शन र सिद्धान्तलाई परिणाम देखिने गरी कार्यान्वयन गर्न सही दिशानिर्देश गर्न सक्यो त ?

झण्डै तीस वर्षदेखि नेकपा एमाले कुनै न कुनै रूपमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएको छ । जनमतद्वारा देशको सबैभन्दा ठूलो दलको हैसियतमा केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार बहुसंख्यक स्थानीय सरकारहरूको नेतृत्व गर्ने अवसर प्राप्त गरेको यस पार्टीले ती सबै मोर्चाहरूमा सफलता हात पार्न नसक्नुका पछाडि यसले लिएको दर्शन, सिद्धान्त वा व्यवहार कहाँनेर खोट छ भनेर गम्भीर अन्वेषण गर्ने उपयुक्त समयमा आयोजित विधान महाधिवेशन पार्टीको दर्शन, सिद्धान्त वा व्यवहारको निर्मम आत्मसमीक्षा गर्ने उपयुक्त मञ्च पनि हो ।

मार्क्सवादी दर्शन र यसद्वारा निर्देशित सिद्धान्त समाज रूपान्तरणको हालसम्म विकसित सबैभन्दा वैज्ञानिक सिद्धान्त मानिन्छ । माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने सन्दर्भमा प्रतिपादित जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीले जबजलाई नेपाली क्रान्तिको तत्कालीन कार्यक्रमको रूपमा अगाडि सारेका थिए । तर यसको ठोस विकास र व्याख्या नगरिसकेको अवस्थामा उनकोे रहस्यमयी दुर्घटनामा परी स्वर्गारोहण हुँदा जबज आफैंमा टुहुरो बन्न पुग्यो ।

नेकपा एमालेको पाँचौं महाधिवेशनले जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गरेको तीसौं वर्ष पुगिसक्यो । अझै पनि एमाले राष्ट्रिय राजनीतिको निर्णायक शक्ति बन्न र एमाले नेतृत्वको सरकारले राष्ट्रिय समस्याहरूको निकास दिन नसक्नुमा सिद्धान्तको रूपमा जबजको असफलता हो वा कार्यान्वयन गर्ने नेतृत्वको असफलता ? यो प्रश्नको उत्तर विधान महाधिवेशनले खोज्नुपर्नेछ ।

नीति र नेतृत्व अन्तरविरोधको अन्त्य

सामान्यतया कम्युनिष्ट पार्टीमा जसको नीति उसैको नेतृत्व स्थापित गर्ने परम्परा रहन्छ । तर नेकपा एमालेको नवौं महाधिवेशनले नेता घनश्याम भुसालको नीति पारित गरेतापनि अध्यक्षमा ओलीलाई चयन गर्‍यो । परिणाम के भयो भने सोही महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीले महाधिवेशनबाटै पारित राजनैतिक कार्यदिशाको अपनत्व लिएनन् । जसका कारण प्रचण्ड बहुमतका साथ बलियो सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि सरकारका कामहरूमा कतै पनि नेकपा एमाले देखिएन । समाजवादी अर्थव्यवस्थाको आधार तयार गर्ने जिम्मेवारी प्राप्त सरकार आफैं दलाल पूँजीवादको घोडा चढ्न पुग्यो ।

यो अनुभवलाई हेर्दा पार्टीलाई व्यक्ति प्रधान होइन, नीति प्रधान राजनैतिक शक्तिमा रूपान्तरण गर्न स्पष्ट वैधानिक व्यवस्थाको तर्जुमा गर्नु यो विधान महाधिवेशनको मुख्य मुद्दा बन्नुपर्दछ । नेताहरूमा अध्ययनशीलता र विचार, क्षमताको विकास तथा सोको प्रभावकारी कार्यान्वयन गर्ने सामथ्र्य बढाउन पनि ‘जसको विचार उसैको नेतृत्व’को प्रणाली अपरिहार्य रहन्छ । व्यक्तिगत स्वार्थका लागि सिर्जित गुटहरूको ठाउँ वैचारिक समूहले लिने र वैचारिक श्रेष्ठता हासिल गर्न नेताहरूले प्रयास गर्ने परिस्थितिको निर्माणले पार्टीको वैचारिक पुनर्जागरणमा सघाउ पुर्‍याउँछ ।

प्रयोगात्मक माक्र्सवादको विकास

कुनै पनि विचार सिद्धान्तको रूपमा तब मात्र स्वीकार गरिन्छ जब उक्त विचारले व्यक्तिको जीवनलाई छुन्छ । जबजले नेकपा एमालेलाई सशस्त्र संघर्षको साटो शान्तिपूर्ण जनसंघर्ष र एकदलीय अधिनायकत्वको साटो बहुदलीय प्रतिस्पर्धा स्वीकार गर्न मार्गप्रशस्त गर्‍यो र नेकपा एमालेले त्यही बाटोबाटै प्रचण्ड जनसमर्थनका साथ सरकारको नेतृत्व पनि गर्‍यो ।

तर सांस्कृतिक उँच नीचता तथा आर्थिक विषमताको अन्त्य र अवसरहरूमा समान पहुँचको सुनिश्चितता गर्दै समतामूलक समाज निर्माणमा पार्टी र सरकार प्रभावकारी बन्न सकेन । नेता तथा कार्यकर्ताहरूमा आएको भ्रष्टीकरण र पद, पैसा र प्रतिष्ठाका लागि जे पनि गर्ने अवसरवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै मार्क्सवादी जीवनव्यवहार अवलम्बन गर्न नेता कार्यकर्ताहरूलाई उत्प्रेरित गर्ने नीतिगत सामथ्र्य एमाले विधानले राख्छ कि राख्दैन ? विधान महाधिवेशनका प्रतिनिधिहरूले खोज्नेछन् । माक्र्सवाद अब किताब र दस्तावेजमा होइन, मार्क्सवादी कार्यकर्ताहरूको जीवनमा र तिनका परिवारमा देखिनुपर्दछ । पद, पैसा र प्रतिष्ठाका लागि गरिने अवाञ्छित गतिविधिहरूमा असंलग्नता र विरोध, उत्पादनशील क्षेत्रमा संलग्नता, राज्यलाई कर तिर्न तत्पर, स्वदेशी वस्तुको उपयोग, सेवा प्रदायक सार्वजनिक संस्थाहरू-सामुदायिक विद्यालय, अस्पताल आदि)को प्रवर्द्धन, सामूहिक लाभका लागि सहकार्य, सहयोगात्मक व्यवहार र सुमधुर जनसम्बन्ध भएका असल कार्यकर्ताहरू उत्पादन गर्न आवश्यक नीतिगत व्यवस्थाको तर्जुमा र प्रभावकारी कार्यान्वयन संयन्त्रको विकास गरी प्रयोगात्मक माक्र्सवादको विकास गर्न विधान महाधिवेशन सफल हुनेछ ।

डर

नेकपा एमाले अध्यक्ष ओलीको छायाँमा लत्रिए जस्तो देखिन्छ । अध्यक्ष ओली आफ्ना कर्महरूको आत्मसमीक्षा गर्न तत्पर देखिंदैनन् । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा नेता घनश्याम भुसालले नवौं महाधिवेशन यताका पार्टी र सरकारका तमाम कामहरूको आत्मसमीक्षा र जबजको थप व्याख्याको माग त गरेका छन् तर उक्त मागको सार्थक सुनुवाइ हुने सम्भावना कमजोर देखिंदैछ । यदि एमालेले उनको मागको उचित सुनुवाइ गरेन भने अध्यक्ष ओलीसँगै नेकपा एमाले पनि रसातलमा डुब्ने निश्चित छ ।

अन्त्यमा, विधान आदर्श स्वप्नहरूको पुलिन्दा मात्र होइन, जीवन्त योजनाहरूको फेहरिस्त हो, कार्यान्वयनको प्रत्याभूति पनि हो । आम कार्यकर्ताहरूका उपरोक्त अपेक्षाहरू पूरा गर्न विधान महाधिवेशन सफल रहोस्, शुभकामना ।

(लेखक देवचुली नगरपालिका-१२ का वडा अध्यक्ष हुन् ।)

लेखकको बारेमा
दिनेश भुसाल

लेखक नेकपा एमालेका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?