
१४ असोज, काठमाडौं । इक्वेडरको एक जेलमा दुई आपराधिक समूहबीच झडप हुँदा कम्तीमा ११६ जनाको मृत्यु भएको छ ।
इक्वेडरको गुआयाकिल सहरमा रहेको जेलमा भएको यो झडप इक्वेडरको इतिहासकै सबैभन्दा ठूलो हिंसात्मक घटना हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार भएको यो हिंसात्मक घटनामा पाँच कैदीको घाँटी रेटी हत्या गरिएको छ भने अन्य कैदीको मृत्यु गोली प्रहारबाट भएको हो ।
प्रहरी कमाण्डर फाउस्टो बुएनानोका अनुसार कैदीहरुले अर्को समूहमाथि बम पनि प्रहार गरेका थिए । प्रहरीका अनुसार अहिले जेलको अवस्था सामान्य बनाइएको छ । यो जेलमा शक्तिशाली मेक्सिकन लागूऔषध तस्करी गर्ने समूह रहँदै आएका छन् ।
प्रहरीले जेललाई नियन्त्रणमा लिएको भनेपछि पनि गोलीको अवाज सुनिएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।
यसअघि गत फेब्रुअरीमा पनि इक्वेडरको जेलमा दुई समूहबीच भएको झडपमा ७९ कैदीको मृत्यु भएको थियो । मंगलबारको घटनामा थप ८० कैदी घाइते भएका छन् ।
इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले मुलुकको जेल प्रणालीमा आपतकाल घोषणा गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4