+
+

सभामुख र प्रधानमन्त्रीसँग एक्लाएक्लै संवाद गर्न चाहन्छन् केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १६:४०

१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा संसदमा नाराबाजी गरिरहेको नेकपा एमाले स्वयं अनुपस्थित भयो। बालुवाटारमा बसेको बैटकमा सहभागी दलहरुले संसदको गतिरोध अन्त्य गर्न सकारात्मक भइदिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे ।

तर बिहीबार पनि एमालेले संसदमा नाराबाजी गर्‍यो । बैठक सुरु हुनासाथ नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर नाराबाजी नरोकिएपछि महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश भयो र संसद बैटक १९ गते १ बजे अर्को बस्ने गरी स्थगित भएको छ ।

तर गत्यावरोध अन्त्यको संकेत देखिएको छैन । संसदमा कहिलेसम्म नाराबाजी जारी रहन्छ भन्ने प्रश्नमा एमाले नेताहरु भन्छन्, ‘यो अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्षी दलको नेतासँग व्यक्तिगत रुपमा भेट्नुस् ।’

एमाले प्रमुख सचेतक विशाल भट्टराई सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरुका कारण आफूहरुले संसदमा अवरोध गरिरहेको बताउँछन् ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा भूमिका खेलेको एमालेको आरोप छ । पछिल्ला दिनमा सरकारसँग पनि केही आपत्तिहरु थपिएको भन्दै प्रमुख सचेतक भट्टराईले बताए ।

एमाले विभाजन गर्न नै हठात संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र संसदमा टेबल भएको त्यही अध्यादेशलाई अलपत्र छाडेर फेरि राष्ट्रपतिमार्फत खारेज गराएको भन्दै उनले भने, यो संविधान विपरीत छ, नैतिक दृष्टिकोणले पनि उचित काम भएन ।’

प्रमुख सचेतक भट्टराई भन्छन्, ‘एमालेले उठान गरेका मुद्दाहरुबारे सत्तापक्ष वा सभामुखले एमालेसँग डाइरेक्ट सम्वाद गर्दा भइगयो, किन सबैलाई साक्षी राख्नुपर्‍यो ?’

एमाले सांसद खगराज अधिकारीले पनि संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाले आफ्नो पार्टीका अध्यक्ष केपी ओलीसँग एक्ला एक्लै भेट्नुपर्ने बताएका छन् । सभामुखसँग संसद भवनमै भेट भएको थियो, कानुनमन्त्री पनि हुनुहन्थ्यो । हामीले सभामुखलाई विपक्षी दलको नेतालाई भेट्नुस भन्यौं र कानूनमन्त्रीलाई पनि प्रधानमन्त्रीलाई विपक्षी दलको नेतालाई भेट्न आग्रह गर्नुस् भन्यौं तर, त्यसो हुनसकेको छैन’ अधिकारीले भने ।

त्यस विपरीत सर्वदलीय बैठक बोलाएकाले आफूहरु अनुपस्थित भएको उनले बताए । बिहीबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नजानुको अर्को कारण माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सहभागिता पनि भएको उनले बताए । आफूले यो पार्टी अवैधानिक भएको जिकिर गर्दै आएको भन्दै उनले त्यो दललाई वैधता दिने गरी आयोजित बैठकमा एमाले नजाने बताए ।

अर्को कारण चाहिं संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिहरुको निरन्तरता खोजेको अधिकारीले संकेत गरे । सत्तारुढ गठबन्धन र प्रधानमन्त्री देउवा अध्यादेश मार्फत भएका ५२ जनाको नियुक्ति खारेज गर्न लागिपरेको भन्दै उनले भने, उहाँहरु अनेक उपाय गर्दै हुनुहुन्छ । तर थपे, ‘फेरि नियुक्ति हुँदैन किनभने विपक्षी दलको नेता त्यहाँ (संवैधानिक परिषदको बैठकमा) जानुहुन्न भन्ने जान्दा जान्दै किन निहुँ खोज्नुहुन्छ ? त्यसकारण व्यक्तिगत रुपमा भेट्नुस् त्यसपछि सर्वदलीय बैठक राख्नुस्, भनेका छौं ।’

सांसद अधिकारीले आफ्नो पार्टीको अध्यक्षसँग प्रधानमन्त्री देवउाले एक्लै भेटेपछि मात्रै संसदको अवरोधका विषयमा छलफल हुने पटक–पटक दोहोर्‍याए । उनजे भने, ‘प्रधानमन्त्रीजीले विपक्षी दलको नेतासँग किन वार्ता संवाद गर्न सक्नुहुन्न ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?