+
+

गृहमन्त्री भेट्न सिंहदरबार धाइरहेका राजकुमार शहनी (भिडियो)

‘पार्टीको सरकारसँग आश थियो, नेताहरु विरानो भइसकेछन्’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते २१:०९

१४ असोज, काठमाडौं । हरेक दिन बिहान १० बजे सिंहदरबार पुग्नु र अपरान्ह कर्मचारीहरु सँगसँगै फर्किनु राजकुमार सहनीको दैनिकी बनिसकेको छ ।

आफ्नै पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सहयोगको अपेक्षा उनी एक महिनादेखि गृह मन्त्रालय धाइरहेका छन् । तर औरही गाउँपालिका–२, चक्करका सहनीले अहिलेसम्म गहमन्त्री बालकृष्ण खाणलाई भेट्न पाएका छैनन् ।

उनी हरेक दिन बिरामी श्रीमती लिएर मन्त्रालय जान्छन्, ढोका छेउमा रहेको प्रतीक्षा कक्षमा बस्छन् । दिनभरि उनलाई कसैले त्यहाँबाट जानु पनि भन्दैनन्, भित्र छिर्न पनि दिँदैनन् । ‘सुरु–सुरुमा फोन गरिदिए जस्तो गर्थे, अहिले त फोन नै चल्दैन भनिदिन्छन्’ सहनीले भने, ‘मलाई केही बुझ्दै नबुझ्ने जस्तो बनाइसके ।’

उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको आन्दोलनमा उनी होमिएका थिए । २०३२ सालमा भारतमा संकटकाल घोषणा भएपछि बनारसबाट फर्किएर काठमाडौं, बाँसबारी आए । २०३४ सालमा राति ११ बजेतिर विराटनगरमा बम विष्फोट भयो, उनीसहित मगनी शाह, दुख सहनी लगायत नेता कार्यकर्ता बैठक बसिरहेको स्थानबाटै पक्राउ परे । केन्द्रीय कारागार, सुन्धारामा राखिएका उनलाई बिहान ३ बजे नख्खु कारागार लगिए । त्यहीँ गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शुशील कोइराला, खमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, चिरञ्जीवी बाग्ले लगायतसँग भेट भयो ।

बिहीबार गृह मन्त्रालय अगाडि भेटिएका उनी ती दिनहरु सम्झिँदै भन्छन्, ‘पार्टी.. पार्टी भनेर जिन्दगी विताइयो । अहिले पार्टीका मान्छेहरु वास्तै गर्दैनन् ।’

स्थानीय र सहयोगी मनहरुले उनलाई १००, ५००, एक हजार र २ हजारसम्म सहयोग गरेका छन् । तर पार्टीका नेता वा मन्त्रीहरुले सहयोग नगरेको उनको गुनासो छ ।

मन्त्रीको गाडी आएपछि गृह अगाडि नमस्कार गर्दै शहनी ।

‘सचिवालयका कर्मचारीले १५०० रुपैयाँ थमाए’

सहनीका अनुसार गृह मन्त्रालयबाट आर्थिक सहायता प्राप्त हुने भएकाले गृहमन्त्रीलाई भेट्न खोजेका हुन् । भन्छन्, ‘सहयोग गर्न नसके हुँदैन, भनिदिएको भए हुन्थ्यो । तर सचिवालयका कर्मचारीले घर जान भनेर १५ सय रुपैयाँ थमाए ।’

आफ्नो पार्टीका गृहमन्त्रीलाई पनि भेट्न नपाउने कस्तो लोकतन्त्र ल्याइएछ भन्ने मनमा लागिरहेको उनी सुनाउँछन् ।

उनका अनुसार श्रीमतीको ट्युमरको सल्यक्रिया गरिएको छ । २९ वर्षीय छोरा जितेन्द्रको दुवै मृगौला विग्रिएको छ । ‘हरेक हप्ता डाइलाइसिस गरिराख्नुपर्छ, उपचार गर्दा गर्दै जमिन सबै सिद्धिसक्यो’ उनी भन्छन्, ‘अब त खानै समस्या हुने स्थितिमा पुगिसकेँ ।’ अर्को छोरा अपाङ्ग भएकाले हातमुख जोर्न कठिन छ ।

उनी भन्छन्, ‘नेताहरुलाई मिर्गौला प्रत्यारोपण गर्न भनेर सरकार पैसा दिएको दियै गर्छ, हिजो पार्टीका लागि लडेका हामी जस्ता कार्यकर्तालाई अहिले हेर्नै मान्दैन । आफ्नै पार्टीको सरकारसँग आश थियो, तर नेताहरु विरानो भइसकेछन् ।’

तस्वीर/भिडियो : गौरव पोखरेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?