+

ललितपुरको पहिलो जित, विराटनगरको लगातार तेस्रो हार

२०७८ असोज  १५ गते १३:४२ २०७८ असोज १५ गते १३:४२
ललितपुरको पहिलो जित, विराटनगरको लगातार तेस्रो हार

१५ असोज, काठमाडौं। अफगानी खेलाडी अजमतुल्लाह ओमारजाईले अलराउण्ड प्रदर्शन गरेपछि साविक विजेता ललितपुर प्याट्रिओट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा पहिलो जित हात पारेको छ ।

ईपीएल इतिहासकै सर्वाधिक स्कोर बनाएको ललितपुरले शुक्रबार भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको हो । ललितपुरका लागि ओमारजाईले अविजित ५८ रन बनाए भने बलिङमा ४ विकेट लिए ।

पहिलो जितपछि ललितपुरले ४ खेलबाट ३ अंक जोडेको छ र शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । ललितपुरले अब लिग चरणमा चितवन टाइगर्सविरुद्ध मात्र खेल्न बाँकी छ र प्लेअफ पुग्न उक्त खेल जित्नैपर्नेछ ।

पूर्वविजेता विराटनगरको भने यो लगातार तेस्रो हार हो र ३ खेलपछि अंकविहीन छ । विराटनगरले पोखरा राइनोज र काठमाडौं किंग्स ११ सँग खेल्न बाँकी छ ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ईपीएलकै सर्वाधिक स्कोर बनाउने क्रममा २२६ रन बनाएको थियो। २२७ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १८९ रन मात्र बनायो । विराटनगरले राम्रो सुरुवात गरेपनि लगातार विकेट गुमाउदा लक्ष्यसम्म पुग्न सकेन ।

विराटनगरका लागि दिल्सान मुनाविराले ३९ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५९ रन बनाए । यस्तै आसिफ शेखले ३० बलमा ३७, चन्द्रपउल हेमराजले १३ बलमा २८ र सिकन्दर राजाले १२ बलमा २४ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा ललितपुरका अजमतुलल्ह ओमारजाईले ४ ओभरमा ४२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले २ र योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले सन्दुन विराकोडी र अजमतुल्लाह ओमरजाईको अर्धशतकको मद्दतमा २२६ रन बनाएको हो ।

विराकोडीले सर्वाधिक ४३ बल खेल्दै १० चौका र ३ छक्का मद्दतमा ७३ रन बनाए । यस्तै आक्रमक ब्याटिङ गरेका ओमारजाईले अविजित ५८ रन जोडे । उनले २४ बल खेल्दै ७ छक्का प्रहार गरे । नारायण जोशीले अन्तिम तीन बलमा लगातार छक्का प्रहार गर्दै ४ बलमा अविजित १८ रन जोडे ।

यसअघि तेस्रो संस्करणमा पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्स विरुद्ध २१५ रन बनाएको थियो । भैरहवाले उक्त लक्ष्य पूरा गरेको थियो ।

कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगरका कप्तान करण केसीले टस जितेर ललितपुरलाई ब्याटिङको निम्तो दिएका थिए । सुरुवात देखि नै आक्रमक ब्याटिङ गरेको ललितपुरले ६ ओभरको पावर प्ले मा नै ७० रन बनाएको थियो । कप्तान कुशल भुर्तेल छैटौं ओभरको अन्तिम बलमा आउट हुनुअघि विराकोडीसंऊ ७० रनको साझेदारी गरेका थिए ।

यसअघि लगातार तीन खेल फ्लप भएका कुशलले विराटनगर विरुद्ध १७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३२ रन जोडे ।

कुशल आउट भएपछि योगेन्द्र सिंह कार्कीले तेस्रो नम्बरमा ब्याटिङ गर्दै वारकोडीसंऊ ४१ रनको साझेदारी गरे । आक्रमक ब्याटिङलाई निरन्तरता दिएका योगेन्द्रले १८ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा २७ रन जोडे । पवन सर्राफ २ रन बनाएर आउट भए ।

ललितपुरले खेलमा कूल १९ छक्का र १५ चौका प्रहार गर्दै बाउन्ड्रीबाट मात्रै १७४ रन जोडेको थियो ।

यस्तै पछिल्लो सिजन च्याम्पियन बन्दाका सदस्य जयकिसन कोल्सवालाले १३ रन जोडे । श्रीलंकन ओसादा फर्नान्डोले राम्रो ब्याटिङ गर्न नसकेपछि ललितपुरले उनको स्थानमा कोल्सावालालाई खेलाएको थियो ।

विराटनगरका लागि कप्तान करण केसीले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । यस्तै प्रतिश जिसी, सिकन्दर राजा र दिल्सान मुनाविराले १-१ विकेट लिए ।

ललितपुर विराटनगर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय