+
+

डेढ वर्षपछि यात्रुबाहक भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमति

नवीन ढुंगाना सुरेश बिडारी नवीन ढुंगाना, सुरेश बिडारी
२०७८ असोज १५ गते १४:३७

१५ असोज, काठमाडौं । डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ । कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए । ‘हामीले बिहीबार सबै भन्सारलाई परिपत्र गरिसकेका छौं । शुक्रबारदेखि यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन अब शर्तसहित नेपाल आउन सक्नेछन्’ खड्काले अनलाइनखबरसँग भने । यात्रुहरुको नेपाल प्रवेशलाई सरकारले तोकेको कोभिड प्रोटकेकल (सावधानी शर्त) भने अनिवार्य गरिएको छ ।

माथिल्लो निकायको आदेशपछि शुक्रबार बिहानैदेखि यात्रुसहित भारतीय निजी सवारी साधन नेपाल प्रवेश खुला भएको मेचीनगर भन्सार कार्यालयका प्रमुख ध्रुब विश्वकर्माले बताए । ‘दुई देशबीचको सहमतिअनुसार सीमाबाट नजिकको बजारसम्म पहुँच सुविधाअनुसार र त्योभन्दा टाढा भने भन्सार काटेर भारतीय गाडी यात्रुसहित आजबाट जान सक्नेछन्’ भन्सार प्रमुख विश्वकर्माले भने । नाका खुलेको पहिलो दिन मध्यान्न १२ बजेसम्ममा कुनै पनि त्यस्ता सवारी साधन नआएको उनले बताए ।

यता रुपन्देहीको भैरहवा भन्सार कार्यालयले पनि शुक्रबारदेखि भारतीय गाडीका लागि नाका खुलेको जनाएको छ । कोरोना प्रोटकल पालना गरेर यात्रु बोकेका भारतीय नम्बर प्लेटका जिप, कार, मोटरसाइकल जस्ता सवारी साधन नेपाल प्रवेश गर्न सक्ने भैरहवा भन्सारका प्रमुख मनिराम पौडेलले बताए ।

नाका खुलेपछि भैरहवा भन्सारबाट सवारी साधन नेपाल प्रवेश शुरु भएको भन्सारका सूचना अधिकारी तीर्थराज पासवानले बताए । उनकाअनुसार एकै दिनमा फर्किने गरी बिना शुल्क नजिकको बजारसम्म भारतीय गाडी जान सक्नेछन् । यस्तै बढीमा ७ दिनका लागि एक पटकमा कारको लागि पाँच सय, मोटरसाइकलको लागि १५० र टेलरसहितको ट्याक्टरका लागि ७५० रुपैयाँ भन्सार काट्नु पर्ने सूचना अधिकारी पासवानले बताए ।

वीरगञ्ज नाकामा भारतीय पाहुनालाई होटल व्यवसायीले गरे स्वागत

देशकै प्रमुख नाका वीरगञ्ज–रक्सौल नाकाबाट पनि भारतीय गाडीको आवागमन शुरु भएको छ । सरकारले तोकेको प्रक्रिया पूरा गरी आएका भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्न दिइएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

असोज ५ गते सरकारले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी ओदश २०७८’ जारी गरेको छ ।

शुक्रबार बीआर ०६ सीएम ०३२४ नम्बरको भारतीय सवारी साधन आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज नाका भएर नेपाल प्रवेश गरेको छ । उक्त सवारीमा नेपाल प्रवेश गरेका पाहुनालाई होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जको टोली शंकराचार्य गेट पुगी माला लगाएर स्वागत गरेका छन् ।

भारतीय सवारी आवागमनमा रोक लाग्दा कोरोना महमारीका कारण थला परेको होटल तथा पर्यटन व्यवसाय माथि उठ्न नसकेको गुनासो व्यवसायीले गर्दै आएका छन् ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले भारतीय सवारी साधन आउन दिँदा पर्यटन व्यवसायले पुर्नजीवन पाउने बताए ।

नाका खुलेकोमा भारतीय खुशी

कोरोना महामारीका कारण सरकारले अन्र्तराष्ट्रिय नाका बन्द गरेको थियो । पछि सर्वसाधरणको आवागमनका लागि निश्चित नाका खोलेको भएपनि भारतीय सवारी साधन आवागमनमा रोक कायमै थियो । शुक्रबारबाट भारतीय सवारी साधन पनि पास लिएर नेपाल प्रवेश गर्न पाएपछि भारतीय नागरिकहरु खुशी बनेका छन् ।

भारतीय जनता पार्टी ( वीजेपी) रक्सौल नगर उपाध्यक्ष जसबन्धु गुप्ताले नाका खुल्नु स्वागत योग्य कदम भएको बताए ।

गाडी भएर पनि नेपालका धार्मिक तीर्थस्थलहरु मनकामना, पशुपतिनाथको दर्शन गर्न जान पाएका थिएनौं । सौराहा, पोखरा लगायत रमणीय स्थान घुम्न जान सकेका थिएनौं,’ उनले भने, ‘अब परिवारलाई साथमा लिएर भगवानको दर्शन गर्नुको साथै पर्यटकीय स्थलहरुको आनन्द लिन्छौं ।

भारतले २२ अक्टोबर २०२० बाट नै सीमा नाका खोलिदिएको थियो तर भारतीय सवारी साधन आवागमनमा रोक थियो । रक्सौलकै अनुज सिन्हाले भारतीय सवारीमा नेपाल घुम्न पाउने अवसर जुटेको बताए ।

‘रोटीबेटीको सम्बन्ध छ, कोरोना महामारीले गर्दा केही समय टाढा बस्नुपरको थियो,’ उनले भने, ‘अब फेरि त्यो हटेको छ, स्वागतयोग्य कदम छ ।’

भारतीय पत्रकार दिपक कुमारले डेढ वर्षपछि भारतीय सवारीलाई नेपाल प्रवेश गर्ने अनुमति मिलेकोले घुम्ने अवसर मिलेको बताए ।

यस्तो छ यात्रुले पालना गर्नु पर्ने शर्त

भारतीय नम्बर प्लेटको सरकारी वा निजी सवारी साधनमा नेपाल आउने यात्रुले कोरोना बिरुद्धको खोपको मात्रा अनिवार्य रुपमा पूरा गरेको हुनुपर्नेछ । यस्तै ७२ घण्टा अघिको पीसीआर नेगेटिभको रिर्पोट वा एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने शर्त पनि छ । नेपाल आउने यात्रुले सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थान केन्द्र) ले तयार पारेको यात्रु सूचना फारम भने अनिवार्य रुपमा भरेर सीमा नाकाको अध्यागमनमा बुझाउनु पर्नेछ ।

लेखकको बारेमा
नवीन ढुंगाना

सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?