+
+
नगर अधिवेशन  :

काठमाडौंमा प्रकाशमानलाई गगनको साथ, देउवा र भीमसेनदास एकातिर

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ असोज १५ गते २०:१९
फाइल तस्वीर

१५ असोज, काठमाडौं । नेपाली कांग्रेस, काठमाडौंको नगर अधिवेशन शनिबार हुँदैछ । संघीय राजधानी समेत रहेको काठमाडौंमा एक महानगर र १० नगरपालिका छन्, जसमध्ये अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन हुने देखिन्छ ।

कांग्रेसको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौैंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौंको संस्थापन भनेर पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहलाई चिनिन्छ । उनलाई भीमसेनदास प्रधान र गगन थापाहरुको समूहले चुनौती दिने गरेको थियो । तर यो पटक प्रधान सभापति शेरबहादुर देउवा समूहसँग नजिक छन् भने थापा, प्रकाशमानतिर ।

कतिपय नगरको सभापतिका लागि प्रकाशमान समूहकै नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

काठमाडौंमा नीलकाजीलार्ई प्रगतिमानको चुनौती

देशकै सबैभन्दा ठूलो महानगरपालिकाको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं महानगरको नेतृत्वका लागि १५ वर्षपछि हुन लागेको निर्वाचनमा संस्थापन समूहबाट युवा नेता प्रगतिमान रञ्जितले प्रतिस्पर्धामा छन् ।

उनी नेपाल तरुण दल, काठमाडौंका संस्थापक अध्यक्ष हुन् । उनलाई सिटौला समूहका नेता प्रधानको समर्थन छ । महानगर सभापतिमा अर्का प्रत्यासी कांग्रेसका पुराना नेता नीलकाजी शाक्य छन् । काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष शाक्य पूर्वमहामन्त्री सिंहका उम्मेदवार हुन् ।

बुढानीलकण्ठमा तीन उम्मेदवार

गगन थापाको निर्वाचन क्षेत्र हो, बुढानीलकण्ठ नगरपालिका । यो नगरको ५ वटा वडा प्रतिनिधिभा निर्वाचन क्षेत्र–५ मा पर्छन् । नगर सभापतिका लागि तीन आकांक्षी छन्, राजाराम बुढाथोकी, राजन बुढाथोकी र राजुविक्रम थापा ।

राजाराम साविकको कपन गाउँ विकास समितिका सभापति हुन् । उनी सिंह–थापा समूहका नेता हुन् । अर्का उम्मेदवार राजन बुढाथोकी नगर सचिव हुन् । उनी पेशाले अधिवक्ता हुन् । राजुविक्रम थापा नेपाल तरुण दलका नगर सभापति हुन् । राजन र राजविक्रम दुवै संस्थापन समूह निकट हुन् ।

दक्षिणकालीमा मोहन बस्नेतकै सम्भावना

दक्षिणकाली नगरपालिकामा भने सहमतिबाटै नेतृत्व चयन हुने सम्भावना रहेको नेताहरु बताउँछन् । नगर सभापतिमा मेयर मोहन बस्नेतको मात्रै दाबी देखिएको छ । उनी प्रकाशमान सिंह निकट हुन् । संस्थापन समूहले श्याम कार्कीलाई उम्मेदवार बनाउन खोजेपनि उनले बस्नेतलाई समर्थन गरेका छन् ।

यद्यपि वडा नम्बर २ को अधिवेशन हुन लागेकाले भोलि नै नगर अधिवेशन हुने सम्भावना कम देखिएको छ । नेतृत्वमा सहमति नजुट्दा नगरको वडा नम्बर २ मा अधिवेशन हुन सकेको छैन । ‘हामी सहमतिका लागि प्रयास गरिरहेका छौं, शनिबारसम्म एउटा निर्णयमा पुग्यौं भने नगर अधिवेशन हुन्छ । नभए केही दिन पर सर्ने अवस्था छ,’ कांग्रेसका स्थानीय नेता सानुकाजी गिरीले भने ।

गोकर्णेश्वरमा रामजी भर्सेस कुमार

गोकर्णेश्वरमा नगर सभापतिका लागि संस्थापन समूहबाट रामजी श्रेष्ठ उम्मेदवार बनेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कुमार लामा प्रतिस्पर्धामा छन् । श्रेष्ठ कांग्रेसका पुराना कार्यकर्ता हुन् । उनी पेशाले इञ्जिनियर हुन् । अर्का उम्मेदवार लामा व्यवसायी हुन् । उनी नगर कोषाध्यक्ष हुन् ।

कागेश्वरी–मनोहरामा उद्धव भर्सेस मिठाराम

कागेश्वरी–मनोहरा नगरपालिकामा दुई समूह प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन समूहबाट उद्धव दाहाल नगर सभापतिका उम्मेदवार हुन् भने प्रकाशमानको समर्थनमा मिठाराम दाहाल प्रतिस्पर्धामा छन् ।

कीर्तिपुरमा आकांक्षी धेरै

कीर्तिपुर नगरपालिकाको नगर सभापतिमा आकांक्षीको संख्या धेरै छ । सभापतिमा राजेन्द्र महर्जन, कविन्द्र कार्की, मीनप्रकाश महर्जन लगायतको दाबी छ ।

आकांक्षी अधिकांश प्रकाशमान सिंह निकट भएकाले सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको नेताहरु बताउँछन् । ‘सभापतिका आकांक्षी धेरै देखिएका छन्, उम्मेदवारहरुबीच सहमतिको प्रयास भइरहेको छ,’ कांग्रेस नेता राजकुमार नकर्मीले  भने, ‘सहमतिका लागि एक दिन सार्न आग्रह गर्दा पनि निर्वाचन समितिले मानेन । हामी अन्तिमसम्म सहमतिबाटै नेतृत्व चयन होस् भन्नेमा छौं ।’

नागार्जुनका दुवै दाबेदार सिंह समूहकै

नागार्जुन नगरपालिकामा पनि अच्यूत पाण्डे र दुर्गा गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दुवै प्रकाशमान सिंह निकट हुन् । पाण्डे साविकको इचंगुनारायण गाविसको सभापति हुन् ।

शंखरापुरमा सत्यमान भर्सेस दिलीप

शंखरापुर नगरपालिकामा संस्थापन र इतर समूहबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै समूहले प्यानल नै बनाएको छ । संस्थापन समूहबाट सत्यमान लामा र प्रकाशमानको समर्थनमा दिलीपकुमार श्रेष्ठले नगर सभापतिमा  उम्मेदवारी दिने तयारी छ । लामा स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ को अध्यक्षमा पराजित भएका थिए । उनी पार्टीको नगर सचिव हुन् । अर्का उम्मेदवार श्रेष्ठ पनि शंखरापुर नगरपालिका–७ मा अध्यक्ष पदमा पराजित उम्मेदवार हुन् ।

तारकेश्वर र टोखामा प्रकाशमान भर्सेस भीमसेन

टोखा र तारकेश्वर नगरपालिका पूर्व रक्षामन्त्री एवं सिटौला समूहका नेता भीमसेन दास प्रधानको निर्वाचन क्षेत्र हो । दुवै नगरमा उनको समूहले पूर्व महामन्त्री प्रकाशमानको समूहसँग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

तारकेश्वर नगरपालिकाको नगर सभापतिमा प्रधान समूहबाट कृष्णहरि महर्जन उम्मेदवार हुन् । महर्जन प्रतिनिधिसभा क्षेत्रीय समितिका कोषाध्यक्ष हुन् । नगर सभापतिका अर्का उम्मेदवार श्रीराम थापालाई प्रकाशमान सिंहको समर्थन छ । उनी नगर सभापति हुन् भने स्थानीय चुनावमा मेयरका उम्मेदवार थिए ।

यस्तै टोखा नगरपालिकाको नगर सभापतिमा प्रधानको समूहले ओमकृष्ण विमलीलाई अघि सारेको छ । उनी इकाई सभापति हुन् । त्यस्तै प्रकाशमानको समर्थन दीपक जोशीलाई छ । उनी टोखा नगरसमितिको वडा नम्बर २ का सभापति हुन् ।

चन्द्रागिरीमा गिरीकै सम्भावना बढी

चन्द्रागिरी नगरपालिकामा सहमतिमै नेतृत्व चयनको सम्भावना बढी रहेको नेताहरु बताउँछन् नगरपालिकाका प्रमुख घनश्याम गिरी आफैं नगर सभापतिका लागि आकांक्षी हुन् । शुक्रबारसम्म गिरीबाहेक अरुले दाबी गरेका छैनन् । नगर सभापतिका उम्मेदवार गिरीले भने, ‘हामी सर्वसम्मत नेतृत्व चयनको पक्षमा छौं । सबैलाई समेटेर हामी सहमतिमै अधिवेशन सम्पन्न गर्छौं ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?