+
+

सुन तस्करी प्रकरण : शुक्रबार १३ जनाले गरे बहस

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते २०:५४

१५ असोज, विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दामा शुक्रबार १३ जना कानून व्यवसायीले १८ जना प्रतिवादीको पक्षमा बहस गरेका छन् । आइतबारयता जिल्ला अदालत मोरङमा अन्तिम सुनुवाइ भइरहेको छ । शुक्रबार १८ जना प्रतिवादीको पक्षमा १३ जनाले बहस गरेका हुन् ।

शुक्रबार वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र सुरेशलाल श्रेष्ठ, अधिवक्ता भरतबहादुर थापा, उद्धवचन्द्र घिमिरे, पुरुषोत्तम नेपाल, हरिनारायण चौधरी, रमिता महर्जन, लक्ष्मण शर्मा न्यौपाने, विनोद तिमल्सिना, खगेन्द्र ढकाल, विकास थापा, केदारप्रसाद दाहाल र अपूर्व भण्डारीले प्रतिरक्षा बहस गरेका हुन् ।

कानून व्यवसायीले पक्ष लिएर बहस गरेका अभियुक्तमध्ये एक जना नेपाल प्रहरीका एसपी विकासराज खनाल पनि छन् । उनको पक्षमा वरिष्ठ अधिवक्ता खनाल र अधिवक्ता विकास थापाले बहस गरे ।

एसपी खनाल २०७१ चैतदेखि २०७२ पुससम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए ।  त्यतिबेला उनले सुन तस्करको समूहलाई सहयोग गरेको आरोप छ ।

जिल्ला अदालत मोरङको आदेशबाट खनाल पुर्पक्षका लागि थुनामा पठाइएको थियो । उच्च अदालत विराटनगरको आदेशबाट उनी छुटेका थिए ।

अधिवक्ता केदारप्रसाद दाहाल र विकास थापाले प्रतिवादीमध्येका सुन व्यापारी आरके भनिने राजेन्द्रकुमार शाक्यको पक्षमा बहस गरेका छन् । अधिवक्ताहरु अपूर्व खतिवडा र विकास थापाले प्रतिवादी चेतन भनिने चेतनाथ भण्डारीको पक्षमा बहस गरेका थिए ।

अधिवक्ता पुरुषोत्तम नेपालले प्रतिवादी बालकृष्ण श्रेष्ठको पक्षमा बहस गरेका छन् । उद्धवचन्द्र घिमिरेले गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, तक्लु भनिने पुन्यप्रसाद लामा र हरिशरण खड्काको प्रतिरक्षामा बहस गरे ।

सम्वीरप्रसाद तोलांगेको पक्षमा अधिवक्ता हरिनारायण चौधरी र रमिता महर्जन तथा नेपाल प्रहरीका हवल्दार अम्बरबहादुर थापामगरको पक्षमा रमिता महर्जनले बहस गरेका छन् ।

लक्ष्मण शर्मा न्यौपानेले प्रतिवादी विनोद अधिकारी तथा विनोद तिमल्सिना र विकास थापाले प्रभातकुमार अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका एवं डब्लु भनिने इम्तियाज उद्धिमको पक्षमा बहस गरे ।

वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ, अधिवक्ताहरु खगेन्द्र ढकाल र विकास थापाले प्रतिवादी बेनु श्रेष्ठको प्रतिरक्षा गरेका छन् । प्रमोदकुमार श्रेष्ठको बचाउमा अधिवक्तहरु भरतबहादुर थापा र विकास थापाले बहस गरे ।

अभियुक्तमध्ये बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा कार्यरत र सम्वीरप्रसाद तोलांगे थाइ एयरलाइन्सका कर्मचारी हुन् ।

सुन तस्करी एवं सनम हत्यासम्बन्धी मुद्दा जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते दर्ता भएको थियो । सरकारी वकिल कार्यालय मोरङले ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।

मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको छ । मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबारदेखि जारी रहेको श्रेस्तेदार टिकेन्द्रवीर राणाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?