+
+
वैदेशिक रोजगारी :

गण्डकीका युवा खाडीमा, कर्णाली र सुदूरपश्चिमका भारतमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १८:२३

१६ असोज, पोखरा । वैदेशिक रोजगारीमा जाने गण्डकी प्रदेशका धेरैजसो युवा खाडी मुलुक जाने गरेको पाइएको छ ।

समता फाउन्डेसनको सहकार्यमा सेन्टर फर माइग्रेसन एन्ड इन्टरेसनल रिलेसन (सीएमआईआर)ले गत वर्ष गरेको अध्ययनमा गण्डकीबाट वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत खाडी मुलुकमा जाने गरेको देखिएको छ ।

अनुसन्धानदाता युवराज नेपालका अनुसार गण्डकीबाट वैदेशिक रोजगारीका लागि जानेमध्ये भारतमा ११ प्रतिशत र अन्य देश जाने ८ प्रतिशत छन् ।

‘देशैभरि गरिएको अध्ययनमा प्रदेश १ र प्रदेश २ बाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने अत्याधिक संख्या देखियो । कर्णाली र सुदूरपश्चिममा सबैभन्दा बढी भारत गएको भेटियो,’ शनिबार पोखरामा आयोजित कार्यक्रममा नेपालले भने, ‘कर्णालीबाट कामदारका रुपमा भारत जाने ९० प्रतिशत र सुदूरपश्चिम प्रदेशबाट ७० प्रतिशत छन् ।’

वैदेशिक रोजगारीका लागि जाने गण्डकीका युवाको संख्या पनि वर्षेनी बढ्दै गइरहेको अध्ययनले देखाएको छ । सन् २०१७/१८ मा कुल जनसंख्याको ११.५ प्रतिशतमात्रै विदेशिएका थिए । तर, सन् ०१९/२० मा आइपुग्दा यो संख्या १४.२ प्रतिशतमा पुगेको नीतिपत्रमा उल्लेख छ ।

‘यो प्रदेशबाट विदेश जानेमध्ये अधिकांश दलित र त्यसपछि जनजाति छन्,’ अनुसन्धानदाता नेपालले भने ।

खाडी मुलुक जाने युवामा अधिकांश अदक्ष तथा अर्धदक्ष कामदारका रुपमा विदेश गएका छन् । सीपबेगर वैदेशिक रोजगारीमा जाँदा ठगिने र अत्यधिक श्रम शोषण हुने गरेको पाइएको अनुसन्धानदाता नेपाल बताउँछन् ।

कामदारका रुपमा भारत जान श्रम स्वीकृति नचाहिने भएकाले त्यहाँ जाने नेपाली ठगिने सम्भावना बढी रहेको अनुसन्धानदाता नेपालले सुनाए । ‘अरु देशमा जाँदा र आउँदा सरकारले तथ्यांक राख्छ, जानकारी राख्छ । तर, भारतको भने बोर्डर कट्यो भने उनीहरु सम्पर्कविहीनजस्तै हुन्छन् । झन् बढी जोखिम भारतमा छ,’ उनले भने ।

शैक्षिक कन्सल्टेन्सी नै एजेन्ट

अनुसन्धानदाता युवराज नेपालसहित डा अनुज तिवारी र विभूति किरण घिमिरेले गरेको अध्ययनमा वैदेशिक रोजगारीमा जाने धेरै युवा पोखराका शैक्षिक कन्सल्टेन्सीबाट ठगिएको उल्लेख गरिएको छ ।

‘उनीहरु (शैक्षिक कन्सल्टेन्सी) को काम भनेको भिसा सहजीकरण गर्ने र विदेशमा अध्ययनका लागि विद्यार्थी पठाउने हो । तर, पछिल्लो समय उनीहरुले विदेश पठाउने एजेन्ट भएर भर्ती प्रक्रियामा सामेल भइरहेको पाइयो,’ नेपालले भने, ‘यसले वैदेशिक रोजगारीको नाममा धोका र ठगी बढाएको छ ।’

पर्याप्त सूचनाको अभावमा व्यक्तिगत वा मेनपावर कम्पनीहरुबाट पनि थुप्रै नेपाली युवा ठगिएका नेपालले सुनाए । उनले भने, ‘प्रशासनमा राहदानी बनाउन जाँदा पनि कारण खुलाउँदैनन् । खाडी मुलुक जानेहरुले झन् बढी खुलाउँदैनन् । यसले चुनौती थपिएको छ ।’

वैदेशिक रोजगारीमा जाने युवा सेवा लिने सरकारी कार्यालयबाट पनि समस्यामा परेका अनुसन्धाता नेपाल बताउँछन् । ‘तीनै तहका सरकारहरुको भूमिका तथा दायित्वबारे रहेको अस्पष्टताले श्रम आप्रवासन तथा वैदेशिक रोजगारीको क्षेत्रमा पनि कसले के गर्ने भन्ने अन्यौल छ,’ उनले भने, ‘अध्ययनका क्रममा नयाँ संघीय संरचनाअनुसार धेरै अधिकारीहरु आफ्नो अधिकार क्षेत्रबारे अनिश्चित थिए ।’

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ०७३ चैत २० गते खाडी तथा अन्य मुलुकमा घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । सरकारले घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाए पनि अवैध तरिकाले विदेशिने क्रम बढेको नेपालले जानकारी दिए ।

सन् २०१९/२० मा वैधानिक तरिकाले वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको संख्या ८.३६ प्रतिशतमात्रै थियो । ‘नेपालबाट जान प्रतिबन्ध लागेपछि धेरै महिला अवैध तरिकाले भारत हुँदै खाडी मुलुक पुगिरहेका छन् । यसले अवैधानिक तरिकाले विदेशिनेको संख्यामात्रै बढाएको छैन, जोखिम पनि बढाएको छ,’ नेपालले भने ।

नेपालबाट १२७ देशमा वैदेशिक रोजगारी खुला गरिएकामा ३६ प्रतिशत कामदार खाडी क्षेत्रका देशमा जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?