+
+

आर्मी र न्यूडायमण्ड च्याम्पियन, मानबहादुर र प्रतिभा उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते २०:२३
उत्कृष्ट खेलाडी घोषित प्रतिभा माली र मानबहादुर श्रेष्ठ ।

१६ असोज, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड क्लबले एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधि जितेको छ । आर्मीले पुरुषतर्फ र न्यूडायमण्ड महिलातर्फ च्याम्पियन बनेको हो ।

शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले साविक विजेता हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै ट्रफी उचालेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा आर्मीले हेल्प नेपाललाई २६-२४, १७-२५, २५-१८, ३३-३१ ले पराजित गर्‍यो ।

पुरुषतर्फ एपिएफ क्लबलाई ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब तेश्रो भयो । पुलिसले एपीएफलाई २५–१७, २५–१८, २५–१४ ले पराजित गर्‍यो ।

च्याम्पियन आर्मीले नगद ४ लाख, उपविजेता हेल्प नेपालले २ लाख र तेस्रो भएको पुलिसले १ लाख रुपैयाँ प्राप्त गर्‍यो ।

महिलातर्फ न्यूडायमण्डले एपीएफलाई ३–१ ले नै हराएर उपाधि जित्यो । राष्ट्रिय खेलाडीहरुको बर्चस्व रहेको विभागीय टोलीसंग पहिलो सेट २४–२६ ले गुमाएपनि न्यूडायमण्डले त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।

न्यूडायमण्डले दोस्रो सेटमा २५–२१ ले जित्दै खेल बराबरी गरेको थियो । त्यसपछि तेस्रो सेट २५–१७ र चौथो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो ।

‍महिला त्रिभुवन आर्मी क्लबले पुलिसलाई पराजित गर्दै तेस्रो भयो । आर्मीले पुलिसलाई २५–१७, २५–२०, २५–१७ ले हराएको हो ।

च्याम्पियन न्यूडायमण्डले नगद ४ लाख हात पार्दा उपविजेता एपीएफले २ लाख र तेस्रो भएको आर्मीले १ लाख पायो ।

मानबहादुर र प्रतिभा उत्कृष्ट

पुरुषतर्फ नेपाल आर्मीका मानबहादुर श्रेष्ठ र महिलातर्फ न्यु डायमन्डकी प्रतिभा माली प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । दुवैले समान २५ हजार नगद प्राप्त गरे ।

यसैगरी पुरुषतर्फ वेष्ट सर्भरमा सेनाका दुर्गा खड्का, वेष्ट डिफेन्डरमा एपीएफका विनोद चन्द, वेष्ट सेटरमा पुलिसका इमबहादुर राना, वेष्ट स्पाइकरमा हेल्प नेपालका विनित कुमार, वेष्ट ब्लकरमा सेनाका हरि अधिकारी चुनिए ।

महिलातर्फ वेष्ट सर्भरमा सेनाकी संगम महतो, वेष्ट डिफेन्डरमा डायमण्डकी सलिना महर्जन, वेष्ट सेटरमा डायमण्डकी अरुणा शाही, वेष्ट स्पाईकरमा सेनाकी शान्ती थारु, वेष्ट ब्लकरमा एपीएफकी सरस्वती चौधरी चुनिए । विधागततर्फका उत्कृष्ट सबैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठ, साँसद विमल केडिया लगायतले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?