+
+

कक्रोचको जीवनशैली : खानामा दही अनिवार्य, लुगाफाटोको औधी सौखिन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १२:१६

‘कक्रोच’ । दर्शकमाझ यही उपनामले परिचित छन्, हरि निरौला । हास्य टेलिसिरियल ‘भद्रगोल’मा ‘कक्रोच’को भूमिकामा अभिनय गरेपछि उनी दर्शकमाझ लोकप्रिय बनेका हुन् । यतिबेला भने ‘भद्रगोल’ टिमकै ‘सक्किगोनी’ टेलिसिरियलमा हरि ‘कक्रोच’कै भूमिकामा देखिँदै आएका छन् । पछिल्लो समय भने उनको व्यस्तता टेलिसिरियलमा मात्र छैन, म्युजिक भिडियोमा समेत उनी व्यस्त बन्न थालेका छन् । टेलिसिरियलका लोकप्रिय यी पात्र ‘कक्रोच’ उर्फ हरिको कसरी बित्छ दैनिकी ? कस्तो छ जीवनशैली ? अनलाइनखबरले कुराकानी गरेको छ ।

बिहान कतिबजे उठ्नुहुन्छ ?

ठ्याक्कै यतिबजे उठ्ने भनेर सेड्युल बनाएको छैन । कहिलेकाँही रातिसम्म सुटिङ परेको छ भने बिहान ढिलोसम्म सुत्छु । कामकै कारण यति नै बजे उठ्छु भन्ने सेड्युल नबनेको हो । समयमै सुतेँ भने साढे ६ देखि ७ बजेसम्ममा उठ्छु ।

उठेपछि बिस्तारामै मोबाइल चलाउने बानी कत्तिको छ ?

चलाउनै प¥यो नि । उठेपछि एकपछि सिरानीमा ढल्केर मोबाइल हेर्छु । सायद, धेरैको त्यो बानी हुन्छ होला । मोबाइलमा विशेषगरी न्युज फिडहरु हेर्छु । त्यसपछि बल्ल बिस्ताराबाट बाहिर निस्किन्छु । फ्रेस हुन्छु ।

बिहानमा चिया-कफी पिउनुहुन्छ ? खाजा खानुहुन्छ ?

बिहानमा कहिल्यैपनि चिया पिउँदिन् । उठेपछि मनतातो पानीमा कागती र बिरे नुन राखेर पिउँछु ।  बिहानमा खाजा खाने बानी पनि छैन । एकैपटक खाना खान्छु ।

खाना कतिबेला खानुहुन्छ ?

हाम्रो घरमा ८ः३० देखि ९ बजेभित्र खाना पाकिसकेको हुन्छ । हामी चाँडै खाना खाने भएकाले प्रायः खाजा खाँदैनौं ।

खाना कस्ले बनाउनुहुन्छ ?

पहिले ममीले बनाउनुहुन्थ्यो । दाइको बिहेपछि प्रायः भाउजुले बनाउनुहुन्छ ।

कस्तो खाना रुचाउनुहुन्छ ? खानामा कस्तो परिकार हुन्छ ?

सामान्य नै हो । दात, भात, तरकारी, अचार त्यही हो ।  त्यसमा बिहानको खानामा दही छुट्दैन । साँझ खाना खाइसकेपछि सबै सदस्यले एक–एक गिलास दूध पिउँछौं ।

खानेकुरामा कत्तिको सौखिन तपाईं ?

खानेकुरामा म सौखिन छैन । भोक लागेको समयमा सबै खानेकुरा मीठो लाग्छ । दिउँसो खाजामा फेवरेटमा मःम पर्छ ।

तपाईंलाई खाना बनाउन कत्तिको जाँगर चल्छ ? के खानेकुरा मीठो बनाउनुहुन्छ ?

पहिले-पहिले बनाउँथे । आजकल जाँगर नै चल्दैन । मलाई खाना बनाउन भने प्रायः सबै आउँछ । खाना, मासु, अचार प्रायः सबै बनाउँछु । म चिकेन ग्रेभी सोलिट नै बनाउँछु । सुरुसुरुमा म चिया पनि मीठो बनाउँथे, त्यसमा पनि लेमन टी । किनभने, पहिले म कलाकारितामा आउनुअगाडि हाम्रो गौशालामा चिया पसल थियो । पसलमा आउनेहरु मैले बनाएको लेमन टी पिएपछि एकदमै तारिफ गर्नुहुन्थ्यो ।

घरबाट बाहिर प्रायः कतिबजे निस्किनुहुन्छ ?

१०-साढे १० बजे । सुटिङ हुँदा चाँडो ५–६ बजे निस्किनुपर्छ ।

घरबाट बाहिर निस्कनुअघि ड्रेसअपमा कति समय लाग्छ ? बढी समय केका लागि लाग्छ ?

नुहाउनु पर्यो भने समय लाग्छ । नत्र त्यति धेरै समय लाग्दैन । मेरो लामो कपाल भएकाले नुहाउनु प¥यो भने कपाल नुहाउनकै लागि आधा घण्टाजति लाग्छ । कपाल सुक्नलाई डेढ घण्टाजति लाग्छ । सामान्य हिसाबले निस्किँदा ५–१० मिनेटमै तयार हुन्छु ।

लुगाफाटो कस्तो सहज लाग्छ ?

म पहिल्यैदेखि क्याजुअल ड्रेस लगाउँछु । सिलाएको सर्ट र सुट पाइन्ट दाइको बिहेको एक दिन मात्र लगाएको छु । त्योभन्दा पछाडि त्यस्तो खालको ड्रेसअप अहिलेसम्म गरेको छैन । जिन्सको पाइन्ट, टिसर्ट, जाकेट हुन्छ । जुत्ताहरु पनि अलि माथिसम्म उठेको लगाउँछु । यस्तोमा पहिरनमा आफूलाई सहज महसुस गर्छु ।

लुगाफाटोमा सौखिन चाँहि कत्तिको हुनुहुन्छ ?

एकदमै सौखिन हुँ । मलाई राम्रो कपडा देखेपछि किनिहाल्नुपर्छ । मलाई ब्राण्डेड कपडा नै चाहिन्छ भन्नेचाँहि छैन । राम्रो लाग्यो भने जहाँ जस्तो स्थानमा पनि किन्छु ।

कोरोनाअगाडि कार्यक्रमको शिलशिलामा विदेश गइरहनु पथ्र्यो । त्यहाँ जाँदा भने ब्राण्डेड नै लैजाउँ भन्ने मनमा हुन्थ्यो । प्रायः ब्राण्डेड नै ल्याउँथेँ । नेपालमा चाँहि ब्राण्डको खासै मतलब गर्दिन, जे राम्रो लाग्छ, जुन ठाउँमा छ त्यही किन्छु ।

लुगाफाटोको रंगचाँहि कुन मनपर्छ ?

मलाई मनपर्ने रंग सेतो हो । सुहाउन पनि सेतो सुहाउँछ । अरु रंगका लुगाहरु पनि प्रयोग गरिरहेको हुन्छु ।

बाहिर हिँडडुल गर्दा सवारी साधन कुन प्रयोग गर्नुहुन्छ ?

स्कुटरमा हिँडछु । तीन–चार वर्षदेखि स्कुटरमा यात्रा गर्दै आएको छु ।

दिन कसरी बित्छ ?

सुटिङ हुँदा सुटिङ भैहाल्यो । त्यो नहुँदा अरू कामहरुको लागि भेटघाट हुन्छ । साताको कुरा गर्दा दुई दिन स्क्रिप्ट लेखनमै लागिरहेका हुन्छौं । दुई÷तीन दिन सुटिङमै बितिरहेको हुन्छ । एकदिन शनिबार परिवारलाई समय दिनुप¥यो ।

काम छैन भने दिन कसरी बित्छ ?

काम नभएको दिन साथीहरुसँग बितिरहेको हुन्छ । आज केही काम छैन, भेटघाट गरौं, चिया खाऔं भन्ने हुन्छ ।

पुस्तकहरु पढ्ने बानी कत्तिको छ ?

बेलाबेला पढछु । तर, एकदमै पढिरहने खालको बानी छैन ।

दिउँसो खाजा के खानुहुन्छ ?

प्रायः मःम खान्छु । जहाँको पनि रेस्टुरेन्टहरुको मःमचाँहि खाँदिन । बाहिर ठूलो भाँडोमा पकाइरहेको शानदार, एभरेस्ट लगायतको मःम खान्छु । अन्य रेस्टुरेन्टको चिल्लो बढी भएजस्तो लाग्छ ।

दिनमा कति रुपैयाँसम्म खर्च हुन्छ ?

औसतमा १५ सय, २ हजार होला । तर, ठयाक्कै यति भन्नेचाँहि हुँदैन ।

घुम्न गएकोमध्ये मन परेको ठाउँ ?

गएकोमध्ये पोखरा मनपर्छ । त्यस्तै, भेँटेटार मनपर्छ । कार्यक्रमहरु हुँदा धेरै ठाउँ घुम्ने अवसर हुन्छ ।

साँझमा कति बजे घर फर्किनुहुन्छ ?

८ देखि ९ बजेभित्र ।

बेलुका खाना कतिबजे खानुहुन्छ ?

९ बजेतिर ।

सामाजिक सञ्जाल कुन समय बढी चलाउनुहुन्छ ?

ठ्याक्कै यो समय भन्ने हुँदैन । खाली हुँदा समय–समयमा हेरिरहेको हुन्छु । तर, बिहान–साँझको समयमा बढी चलाउँछु ।

सुत्ने समय कतिबेला ?

११ बज्छ ।

प्रस्तुती : सुशिल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?