+
+

ढिलोचाँडो अमेरिकाले तालिबानलाई मान्यता दिनैपर्छ : इमरान खान

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १५:३२

१७ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाले ढिलोचाँडो तालिबानलाई मान्यता दिनैपर्ने बताएका छन् । टर्कीको सरकारी टेलिभिजन टीआरटी वर्ल्डलाई दिएको अन्तर्वार्तामा खानले तालिबानले अफगानिस्तानलाई कब्जामा लिँदा अमेरिका निकै आश्चर्यचकित भएको र द्विविधामा परेको बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले अहिले अमेरिकी राष्ट्रपति जो बाइडनलाई अफगानिस्तानको मामिलामा दोषी देखाउनु सही नभएको बताएका छन् । बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता गर्ने निर्णय गरेका थिए । यद्यपि यो निर्णय पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा तालिबानसँग कतारको दोहामा भएको सम्झौतामा आधारित थियो ।

तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाले अहिलेसम्म तालिबानलाई मान्यता दिएका छैनन् । जसको कारण अहिले अफगानिस्तानमा आर्थिक संकट देखिएको छ । अफगानिस्तानको केन्द्रीय बैंकको नौ अर्ब डलर अमेरिकाले फ्रिज गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले अमेरिकाले अफगानिस्तानको सम्पत्ति तालिबानलाई फिर्ता नदिए त्यसले अफगानिस्तानमा भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् । अफगानिस्तानको संकट आउँदा छिमेकी मुलुक भएकाले त्यसको असर पाकिस्तानमा पनि देखिन सक्ने उनको आशंका छ । यस्तो अवस्थामा अफगानिस्तानको अवस्था सुधार्न पहल गर्नुपर्ने खानको भनाइ छ ।

प्रधानमन्त्री खानले पाकिस्तान एक्लैले तालिबानलाई मान्यता दिँदा वा नदिँदा कुनै फरक नपर्ने तर क्षेत्रीय शक्ति र छिमेकीहरुको संयुक्त निर्णय भने महत्वपूर्ण हुन सक्ने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?