+
+

विवाहको न्युनतम उमेर १८ वर्षमा झार्न सांसदको प्रस्ताव

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ असोज १८ गते १६:०६

१८ असोज, काठमाडौं । सांसदहरुले विवाहको न्युनतम उमेर १८ वर्षमा झार्ने प्रस्ताव राखेका छन् ।

हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । १८ वर्षमा बालिग हुने भएकाले विवाह गर्नका लागि थप दुई वर्षको समय राखिनु व्यवहारिक नहुने उनीहरुको भनाइ छ ।

सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिमा करणीसम्बन्धी कसूर र कानुनी व्यवस्थाबारे छलफल थियो । वैठकमा सांसदहरु नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले यस्तो बताएका हुन् ।

बलात्कारको एउटा कारक, विवाहको उमेर हद

१८ वर्षमा स्वेच्छाले शारीरिक सम्पर्क गर्न पाउने कानुनी व्यवस्था भएपछि विवाहका लागि २० वर्षको उमेर तोकिनु उचित नहुने कांग्रेस सांसद मीन विश्वकर्माले बताए ।
‘साबालक हुने उमेर १८ वर्ष । विवाह गर्ने उमेर २० बर्ष । यो के भनेको ? कानुन बनाउँदा हामीले बुझेनौं कि !’ उनले भने ।

पछिल्लो समय १६ देखि १८ वर्षका केटाकेटीले आत्महत्या गरेको धेरै घटना आएको भन्दै सांसद विश्वकर्माले वालिग हुने उमेर नै १६ वर्षमा झार्नुपर्ने धारणा राखे ।

‘पहिले प्रविधिको कुनै प्रयोग थिएन १६ वर्षमै साबालक हुन्थ्यो । अहिले ४ बर्षको बच्चाले भिडियो गेम खेल्छ । ८ वर्षमा गाडी कुदाउँछ हामी १८ वर्षमा साबालक भन्छौं । यसबारे अध्ययन गरौं र कानुनी सुधार गरौं’ सांसद विश्वकर्माको प्रस्ताव छ ।

माओवादी केन्द्रका सांसद मातृका यादवले विवाहको न्युनतम उमेर घटाउनैपर्ने बताए । ‘विवाहको न्युनतम उमेर घटाउनैपर्छ । पहाडमा के हो के, मधेशमा त ठूलै समस्या छ । विदेशीहरु डिप्लोमा पढ्छन् त्यो बेलासम्म बिहे नगर्दा हुन्छ । हाम्रो त आर्थिक अवस्थाले पुग्दैन (डिप्लोमा पढ्न) । बडा विचित्रको छ बिहेसंग यसको सम्बन्ध’ उनले भने ।

बिहे गर्ने न्यूनतम उमेर हदका कारण लिभिङ टुगेदरमा बस्ने र पछि मन नमिलेपछि बलात्कारको उजुरी पर्ने प्रवृत्ति पनि बढेको भन्दै सांसद यादवले लिभिङ टुगेदर पनि दर्ता गर्नुपर्ने बताए ।

‘त्यो पनि अस्थायी विवाह हो नि । त्यो बिफोर म्यारिज हो । पछि परिवार मानेन भन्ने वहानामा तोडिन पुग्छ । यस्ता गतिविधि रोक्न लिभिन टुगेदरको पनि दर्ता गर्नपर्ने हुन्छ’ बैठकमा उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कर्णले पनि बिहे गर्ने न्युनतम उमेर हद २० वर्षलाई पुनर्विचार गर्नुपर्ने बताए ।

समिति सभापति पोखरेलले विवाह गर्ने न्युनतम उमेर १८ बर्षमा झार्नुपर्ने भनी किटान नै गरे । ‘अब विवाहको उमेर १८ मा झार्नुपर्छ’ सभापति पोखरेलले भने । सभापति पोखरेलको भनाइमा अन्य सांसदहरुले समर्थन जनाए । तर, यो विषयलाई कुन कानुनमा कुन रुपमा समेट्ने भन्ने विषयमा समितिमा ठोस छलफल हुन बाँकी छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?