+
+

वीरगञ्जमा खाजा छुट्टीपछि विद्यार्थी टाप, शिक्षकलाई आराम

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असोज १८ गते १६:४०

१८ असोज, वीरगञ्ज । असोज १६ गते आइतबार दिउँसो सवा १ बजे वीरगञ्ज महानगरपालिका-३१ चोर्नी चुनलीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका अधिकांश विद्यार्थी घर गइसकेका थिए ।

विद्यालयमा १ बजेपछि ४५ मिनेट छुट्टी हुन्छ । छुट्टीका बेला धेरै विद्यार्थी घर जाने शिक्षक सियाराम पण्डितले बताए । वीरगञ्ज महानगरपालिकाको अनुगमन टोलीसँग उनले भने, ‘हामीले रोकेर पनि मान्दैनन् । खाजा खान गएका एक-दुई जना विद्यार्थी मात्रै फर्केर आउँछन् ।’ विद्यालयमा खाजा कार्यक्रम भएको भए विद्यार्थी बस्ने उनी बताउँछन् ।

विद्यालयले साढे ६ लाखमा ८ वटा कम्युटर किनेको छ । ई-हाजिरीको व्यवस्था छ । तर बिजुली छैन । स्मार्ट कक्षाका लागि महानगरले दिएको सामान स्टोरमा थन्क्याइएको छ ।

विद्यालय परिसर र शौचालय फोहोर छ । विद्यालयमा शुद्ध खानेपानीका लागि जडान गरिएको धारा टुटेको छ । एउटा बेञ्चमा ४ जना कोचिएर बस्नुपर्ने बाध्यता रहेको विद्यार्थी सुनाउँछन् । शिक्षक नभएकाले कक्षा ८, ९ र १० मा अंग्रेजी विषय पढाइ नभएको विद्यार्थी बताउँछन् ।

१७ असोज आइतबार अनुगमन टोली नेपाल राष्ट्रिय प्रावि परवानीपुर पुग्दा हाजिरी रजिष्ट्ररमा देखिएको संख्या र विद्यार्थीको उपस्थितिमा आकाश जमिनको फरक देखियो । एक दिन पनि विद्यालय नआएका धेरै विद्यार्थीको नाम रजिष्ट्ररमा छ । विद्यालय आएका अधिकांश विद्यार्थी दिउँसोको छुट्टीपछि घर गइसकेका भेटिए ।

कक्षा १ मा २५ विद्यार्थीको नाम हाजिरी रजिस्ट्ररमा भएकामा १७, कक्षा २ मा जम्मा विद्यार्थी ६७ मध्ये २७, कक्षा ३ मा ७५ मध्ये १२ जना, कक्षा ४ मा ४९ जनामा ९ जना, कक्षा ५ मा ३४ जनामध्ये ५ जना मात्रै उपस्थित थिए ।

२०१२ सालमा स्थापित यो विद्यालयमा पहिले भारतका शिक्षकले पढाउने गरेको स्थानीय बुढापाका सम्झन्छन् । वीरगञ्ज-२१ का वडाध्यक्ष मोहम्मद हबिब मियाँ विद्यालयको अवस्था सुधार्न गरिएको प्रयत्न खेर गएको टिप्पणी गर्छन् ।

‘विद्यालयको तीन कोठे भवन जीर्ण छ, मर्मत सम्भारका लागि बजेट छुट्याएको छु,’ उनले भने, ‘विद्यालयको स्थिति हेरेर के सहयोग गर्नेजस्तो लाग्छ । जति आग्रह गर्दा पनि प्रधानाध्यापक, शिक्षक जिम्मेवार देखिएनन् ।’

प्रधानाध्यापक केशरप्रसाद यादवले भने आफ्नो स्वास्थ्य अवस्था बिग्रिएकाले विद्यालयमा ध्यान दिन नसकेको प्रतिक्रिया दिए ।

पर्याप्त शिक्षक छैनन्

कोभिड-१९ को संक्रमण घट्दै गएपछि वीरगञ्जमा साउन ३१ गतेदेखि नै क्रमशः विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा ल्याइएको छ । नर्सिङ मावि, सिद्धार्थ मावि र कन्या स्कुलमा विद्यार्थी संख्या धेरै छ । कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले २५ वटा विद्यालयको स्थलगत निरीक्षण गरिसकेको छ । विद्यालयमा व्यवस्थापकीय पक्ष कमजोर पाइएको छ । विद्यालय व्यवस्थापन समितिमा बस्नका लागि मरिहत्ते गर्ने व्यवस्थापन समितिका पदाधिकारीले विद्यालयमा खासै ध्यान दिएका छैनन् ।

पर्याप्त शिक्षक नहुनु अर्को समस्या हो । वीरगञ्ज महानगरमा कक्षा ११ र १२ तर्फ २१ जना, मावितर्फ १ सयभन्दा बढी, कक्षा ६ देखि ८ सम्म अध्यापन गराउने १ सय २९ जना शिक्षक अभाव छ । शिक्षक नभएकै कारण कक्षा ६ देखि ८ सम्म प्रधानाध्यापक मात्रै दिन सकिएको शैक्षिक प्रशासन महाशाखाका अधिकारीहरु बताउँछन् ।

बढी दरबन्दी भएको तर विद्यार्थी संख्या कम भएको विद्यालयबाट दरबन्दी कटौती गरेर विद्यार्थी चाप बढी भएको विद्यालयमा शिक्षक दिने तयारी आफूहरुले गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

अनुगमनमा सहभागी नगराउँदा असन्तुष्टि

शैक्षिक प्रशासन महाशाखाले अनुगमनमा शिक्षक महासंघ लगायत शिक्षक संघ संगठनलाई सहभागी गराएन । आकस्मिक अनुगमन भएकोले कसैलाई जानकारी नगराउने गरिएको शैक्षिक प्रशासन महाशाखाको तर्क छ । यसलाई लिएर सार्वजनिक रुपमै शिक्षक महासंघ लगायत शिक्षक संघ संगठनले असन्तुष्टि जनाउँदै आएका छन् । अनुगमनमा सहभागी गराउँदा शिक्षक महासंघले पनि विद्यालय सुधारमा भूमिका निर्वाह गर्न सक्ने तर्क शिक्षक नेताहरुको छ ।

दिउँसोको छुट्टीपछि विद्यार्थी अनुपस्थित हुने समस्याको मुख्य जिम्मेवार प्रधानाध्यापक नै हुने शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव बताउँछन् ।

‘विद्यालय व्यवस्थापनको प्रशासकीय जिम्मेवारी प्रधानाध्यापकको नै हुन्छ, त्यसैले टिफिनपछि विद्यार्थी विद्यालय नबस्नुको जिम्मेवारी प्रअले नै लिनुपर्छ,’ उनले भने, ‘त्यसपछि विद्यालय व्यवस्थापन समिति र शिक्षकको जिम्मेवारी हो । एकापसमा समन्वय नहुँदा यस्तो समस्या देखिन्छ ।’

विद्यार्थी अनुपस्थित हुनुको कारण पहिचान गरेर अभिभावक भेला मार्फत समस्याको समाधान गर्नुपर्ने उनी बताउँछन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment