+
+

दुई कोरियाबीच हटलाइन पुनः शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १६:५५

१८ असोज, काठमाडौं ।  उत्तर र दक्षिण कोरियाबीच सूचना आदानप्रदानको लागि हटलाइन पुनः शुरु भएको छ । पछिल्लो केही महिनायता बन्द भएको हटलाइन पुनः शुरु भएको हो ।

यसअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूले दक्षिण कोरियासँगको हटलाइन पुनः शुरु गर्न चाहेको बताएका थिए । यद्यपि हटलाइन शुरु गर्ने विषय दक्षिण कोरियाको व्यवहारमा निर्भर रहने उनको भनाइ थियो ।

पछिल्लो केही समययता उत्तर कोरियाले आफ्नो मिसाइल परीक्षणलाई पनि तीव्रता दिएको छ । एक महिनाभन्दा कम समयमा उत्तर कोरियाले चारवटा मिसाइल परीक्षण गरिसकेको छ ।

सोमबार दक्षिण कोरियाको एकता मन्त्रालयले दुवै कोरियाका अधिकारीहरुले अगष्टपछि पहिलोपटक वार्ता गरेको जानकारी दिएको छ । मन्त्रालयले हटलाइन शुरु भएसँगै दुई कोरियाको सम्बन्धमा सुधारको बाटो खुलेको बताएको छ । यसअघि पनि धेरैपटक यी दुई मुलुकबीचको हटलाइन बन्द भइसकेको छ ।

गत वर्ष उत्तर र दक्षिण कोरियाली शिखर सम्मेलन असफल भएसँगै उत्तर कोरियाले हटलाइनको लागि खोलेको कार्यालय नै विस्फोट गरिदिएको थियो । गत अगष्टमा केही समयको लागि हटलाइन शुरु भएपनि दक्षिण कोरियाको अमेरिकासँगको सैन्य अभ्यासलाई कारण देखाउँदै उत्तर कोरियाले हटलाइन पुनः बन्द गरेको थियो ।

उत्तर र दक्षिण कोरियाबीचको युद्ध सन् १९५३ मा सकिएको भएपनि अझैसम्म पनि कुनै शान्ति सम्झौता नभएका कारण दुई मुलुक अझै पनि प्राविधिक रुपमा युद्धमै छन् । उत्तर कोरियाले दक्षिणमाथि सैन्य गतिविधिमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?