+
+

वीरगञ्जबाट एक युवतीको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १९:४२
प्रतीकात्मक तस्वीर

१७ असोज, वीरगञ्ज । बेचबिखनमा पर्न लागेकी एक युवतीको वीरगञ्जबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र आफन्त नेपालको संयुक्त टोलीले नुवाकोट घर भएकी २२ वर्षीय युवतीलाई उद्धार गरेको हो ।

बेचबिखनमा संलग्न रहेको आरोपमा भारतको पूर्वी चम्पारण भुलाहीका ३३ वर्षीय मुन्ना आलम पक्राउ परेका छन् । आलमविरुद्ध पर्सा जिल्ला अदालतमा मंगलबार मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

असोज १७ गते वीरगञ्ज महानगरपालिका–१७ अलौस्थित वैकल्पिक नाकाबाट बुर्का लगाई कसैले पनि नचिन्ने गरी उनलाई भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि आफन्त नेपालको टोली बोलाएर काउन्सिलिङ गर्दा उनलाई बेचबिखनका लागि लैजान खोजेको आशंका भएको थियो ।

आलमले बारा घर भएका २१ वर्षीय अरविन्द रामसँग मिलेर युवतीलाई सीमा पार गराउने तयारी गरेको खुलेको छ । तर रामविरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरिएको छैन ।

आलम र युवतीबीच विगत केही वर्षदेखि फेक फेसबुक आईडीबाट चिनजान भएको थियो । फेसबुककै माध्यमबाट प्रेम सम्बन्ध भई आलमले युवतीसँग विवाह गर्ने बताएका रहेछन् । आलमले आफू अविवाहित हो भनी विवाह गर्ने झुटो आश्वासन दिएको युवतीले बताएकी छन् । तर आलमको घरमा श्रीमती र बच्चा छन् ।

युवतीलाई असोज १६ गते आलमले फोन मार्फत काठमाडौंबाट बोलाई चितवनको भरतपुरमा भेट गरी वीरगञ्ज ल्याएका थिए । युवतीलाई आलमको वास्तविक नाम समेत थाहा नभएको पाइएको आफन्त नेपालको पर्सा जिल्ला संयोजक मनु रानाले जानकारी दिइन् ।

‘सामाजिक संजालको दुरुपयोगले यस्तो भएको हो,’ उनले भनिन्, ‘नेपालको विभिन्न जिल्लाका सोझासाझा धेरै चेलीहरुलाई दलालले यसैगरी सजिलै रोजगारको नाममा, प्रेम विवाहको नाममा फसाउने गरेका छन् ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले दुई युवकमध्ये प्रत्यक्ष संलग्न देखिएकाले आलमविरुद्ध मानव बेचबिखन मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरेको जानकारी दिए । अर्को युवकको संलग्नताबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

उद्धार गरिएकी युवती हाल आफन्त नेपालको संरक्षणमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?