+
+

देवी घर्तीको जीवनशैली : घुमघाममा अल्छी लाग्छ, मेकअपमा रुची छैन

सुशील नेपाल सुशील नेपाल
२०७८ असोज २१ गते १७:२७

लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका हुन्, देवी घर्ती । ‘बिर्सियौ कि कुन्नी’, ‘फूलमा मौरी डुल्ने बेलामा’, ‘हाँस्न सिकायौं’, ‘जिम्मल बा’को आँगनीमा’, ‘यही चाल होला भन्या’भा’देखि ‘बदला बरिलै’, ‘ए नि बरै’सम्म आउँदा उनका थुप्रै गीतलाई स्रोताले रुचाएका छन् । कुनैबेला उनले महिनामा ७५ वटासम्म गीत रेकर्ड गराउँथिन् । हालसम्म आउँदा ६ हजार बढी गीतमा स्वर दिएकी देवीको जीवनशैली भने निकै सामान्य छ । उनीसँगै उनको दैनिकी, खानपान, रुचि लगायतका विषयमा अनलाइनखबरले कुराकानी गरेको छ ।

बिहान कतिबजे उठ्नुहुन्छ ?

काम छ भने त जति चाँडो पनि उठ्छु । काम नहुँदाचाहिँ ८ बज्छ । अहिले ६ बजे उठिरहेकी छु । उठेर घरको काम सकेर ८ बजेतिर रेस्टुरेन्टमा निस्कन्छु ।  हाम्रो सामाखुसीमा रेस्टुरेन्ट छ । रेस्टुरेन्ट जानुअगाडि बिहान खाना पकाएर निस्किन्छु । म आएँ भने बाबु (छोरो) र म सँगै खान्छौं नत्र उसले खान्छ ।

उठेपछि पूजापाठ-व्यायाम गर्नुहुन्छ ?

उठेर फ्रेस भएपछि घरभित्रै पूजा गर्छु । आधा घण्टा जति शारीरिक व्यायाम पनि गर्छु । मिलेको समयमा कहिलेकाँही जिमतिर पनि जान्छु ।

खाना कतिबजे खानुहुन्छ ?

१० बजेदेखि ११ बजेभित्र ।

खानामा के–के परिकार हुन्छ ?

भात, तरकारी, दाल, अचार हुन्छ । कहिलेकाँही चिकेन पनि हुन्छ । जाँगर लागेको समयमा यिनै परिकार हुन्छ । अल्छी लागेको समयमा साग र आलुको तरकारीमात्र पनि हुन्छ ।

खानेकुरा मीठो बनाउनुहुन्छ ? के मीठो लाग्छ ?

मलाई मासुबाहेक भेजिटेरियन सबै मनपर्छ । मासु म कमै खान्छु । मेरो फेबरेट चाहिँ साग र गुन्द्रुक हो ।

बाहिर कतिबेला निस्किनुहुन्छ ?

ठ्याक्कै यतिबजे भन्ने हुँदैन । जतिबेला काम प¥यो, त्यतिबेला निस्कने हो । काम नपरेको समयमा प्रायः घरमै हुन्छु ।

बाहिर निस्किनुअगाडि तयारी हुन कति समय लाग्छ ?

धेरै लाग्दैन । मेकअप गरेर निस्किँदा समय लाग्ने हो । प्रायः मेकअप गर्दिन ।

कस्तो लुगाफाटो सहज लाग्छ ?

पहिले-पहिले कुर्ता-सुरुवाल बढी लगाउँथे । अहिले पनि विशेष कार्यक्रमहरूमा कुर्ता सुरुवाल र साडी नै बढी लगाएँछु । तर कार्यक्रमहरूबाहेक प्रायः पाइन्ट-टिसर्ट लगाउँछु । पाइन्ट–टिसर्टमा सहज महसुस हुन्छ । राम्रो देखिनभन्दा पनि सजिलो लुगा चाहिन्छ ।

लुगाफाटोमा कत्तिको सौखिन हुनुहुन्छ ?

गाउँमा हुँदा नयाँ लुगा लगाउन दशैं कुनुपथ्र्यो । उस्तै भए दशैंमा पनि नयाँ लुगा लगाउन पाइँदैन’थ्यो । सांगीतिक क्षेत्रमा लागेर केही कमाउन थालेपछि धेरै कपडाहरु किनिरहेकी हुन्थेँ । कपडामा धेरै पैसा खर्च गर्थेँ । स्टेज कार्यक्रममा जाँदा पनि नयाँ–नयाँ कपडाहरू किन्थेँ । अहिले स्टेज कार्यक्रम नभएका कारण बाहिर खासै हिँड्न नपरेपछि धेरै कपडा किनेकी छैन । म कपडामा त्यति धेरै सौखिनचाहिँ होइन । कतै जानुपर्ने छ र नयाँ कपडा चाहिएको छ भने गएर किन्ने हो । मलाई ब्राण्डेड चाहिन्छ, यही ठाउँमै किन्नुपर्छ भन्ने पनि लाग्दैन ।

गर–गहनामा चाहिँ कत्तिको आशक्ति छ ?

गरगहना मेरो रुचिमा पर्दैन । गरगहना लगाउनुपर्छ भन्नेतर्फ ध्यान नै जाँदैन ।

घरबाहिर निस्किँदा केमा यात्रा गर्नुहुन्छ ?

पछिल्लो समयमा पठाओमा यात्रा गर्छु । घरमै लिन आउने, जहाँसम्म पुग्नुपर्ने हो त्यतै पु¥याउने, धेरै महँगो पनि नहुने हुँदा पठाओ सहज लाग्छ । ट्याक्सी वा अरू गाडीचाहिँ खासै चढ्दिनँ ।

बरु म पैदल यात्रा गर्न रुचाउँछु । समय छ भने म पैदल हिँड्छु । सामाखुसीबाट पुतलीसडक, अनामनगर, बबरमहलसम्म हिँडेर जान्छु । तर, आफूसँग त्यहाँ पुग्ने, काम भेट्ने समयचाहिँ हुनुपर्छ ।

दिनभर कसरी बित्छ ?

अहिले स्टेज कार्यक्रम कम छ । रेकर्डिङ भएको बेला रेकर्डिङमा समय बितिरहेको हुन्छ । त्यो नभए कहिले रेस्टुरेन्टमा समय बितिरहेको हुन्छ । कहिले घरायसी काम गरेरै बित्छ ।

खाली समयचाहिँ कसरी बिताउनुहुन्छ ?

म्युजिक भिडियोहरु हेर्ने । पछिल्लो दुई तीन महिनामा टिकटकमा धेरै समय बिताए । टिकटक लाइभ, भिडियो बनाउने गरेँ । टिकटकमा समय बितेको पनि पत्तो नै हुँदैन’थ्यो । धेरै भएपछि चाँहि झ्याउ लाग्दो रहेछ । अहिले टिकटकमा अलि कम समय बिताउँछु ।

फेसबुक, इन्ट्राग्रामतिर कत्तिको सक्रिय हुनुहुन्छ ?

फेसबुक, टिकटकमा सक्रिय नै छु । इन्स्टाग्राममा चाहिँ फोटो पोस्ट गर्नै बिर्सदोरहेछु । कति समयपछि सम्झेर फोटो पोस्ट गर्छु । हिजोआज एक–दुई दिन बिराएर इन्स्टाग्राममा हेरिरहेकी हुन्छु ।

बाहिर खाना, खाजा कत्तिको खानुहुन्छ ? के खानेकुरा मनपर्छ ?

काम भएको समयमा घर खान आउन भ्याइँदैन, बाहिर रेस्टुरेन्टमै खानुपर्छ । बाहिर कहिले पिज्जा, कहिले मम–चाउमिन, कहिले थुप्पा त्यही हो । कहिले फ्रुट्स, सलादहरु मात्र पनि हुन्छ ।

गायनबाहेक अरू केमा रुचि राख्नुहुन्छ ?

सानैदेखि गायनमा रुचि राखेँ । यसमै लागे । अरु त्यस्तो धेरै रुचि केही पनि छैन ।

फिल्म हेर्ने, किताबहरू पढ्नेमा कत्तिको रुचि राख्नुहुन्छ ?

फिल्म हेर्छु । रमाइलो कथाका किताबहरु पहिले पढ्थेँ । तर, किताबहरु नपढेको धेरै भयो ।

फिल्म नेपाली बढी हेर्नुहुन्छ वा विदेशी ?

नेपाली फिल्म नै बढी हेर्छु । नयाँ नेपाली फिल्महरू प्रायः हेर्ने गर्छु ।

मनपरेको नेपाली फिल्महरू कुन–कुन छन् ?

पहिलेकोमा ‘हामी तीन भाइ’ मन परेको फिल्म हो । पछिल्लो समयमा ‘छक्का पञ्जा’ हो । तर, फिल्महरु प्रायः नै राम्रै लागेको हुन्छ ।

अभिनेता–अभिनेत्री को–को मनपर्छ ?

रेखा थापा, झरना थापा लगायतका अभिनेत्री सँगसँगै कार्यक्रम गरेकी छु । उहाँहरु पनि राम्रो लाग्छ । अभिनेत्री निरुता सिंह पहिलेदेखि मनपर्ने हो । तर, उहाँसँग भेट भएको छैन । अभिनेताहरूमा सबै राम्रै लाग्छ ।

घुमघाममा कति सौखिन हुनुहुन्छ ?

घुमघाममा मलाई अल्छी लाग्छ । किनकि गाडीको यात्रामा मलाई बान्ता हुन्छ । सोही कारण घुम्न जान त्यति धेरै रुचि छैन । स्टेज कार्यक्रममा गएको समयमा भने घुमिरहेकी हुन्छु । तर, यो ठाउँमा जान पाए हुन्थ्यो भन्ने लाग्दैन ।

सांगीतिक क्षेत्रमा नजिकको साथीहरू को–को हुनुहुन्छ ?

सबैलाई आफ्नो मान्ने भएकाले यहि नजिकको भन्ने छैन । सबैजना नजिकको लाग्छ । सबैजनासँग उत्तिकै मिलिरहेकी हुन्छु । साना बहिनीहरु पनि नजिककै साथी लाग्छ । दिदीहरु पनि साथीजस्तै लाग्छ ।

आफ्नो मनपर्ने स्वभाव के लाग्छ ?

मलाई त आफ्नो केही स्वभाव पनि मनपर्दैन ।

साथीहरूले तपाईंको कुन स्वभाव मन पराउनुहुन्छ ? के भन्नुहुन्छ ?

कति साधारण होला भन्छन् । नक्कल नपार्ने, जे छ त्यही बोल्ने भन्छन् । मलाई फेरि बनावटी कुरा गर्न आउँदैन । अगाडि जे छ त्यही बोल्ने बानी छ ।

बाहिर जानुभएको समयमा घर कतिबजे फर्किनुहुन्छ ?

सामान्यतया ७–८ बजेतिर फर्किन्छु । रेस्टुरेन्टतिर बसेँ भने ९–१० पनि बज्छ । कहिलेकाँही रेकर्डिङ, सुटिङ हुँदा ११–१२ पनि बज्छ ।

साँझमा खाना आफैँ बनाउनुहुन्छ ? साँझको खानामा बिहानकै जस्तो परिकार हुन्छ कि केही फरक हुन्छ ?

आफैँ बनाउँछु । साँझको खानामा पनि प्रायः हुने दाल, भात, तरकारी नै हो । तर, कहिलेकाँही बिहान धेरै पकाएकी हुन्छु । साँझ त्यही तताएर पनि खान्छौं ।

कति बजे सुत्नुहुन्छ ?

१० देखि १२ बजेभित्र ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?