+
+

लुम्बिनीको मन्त्रिपरिषद विस्तार गर्ने तयारी

टोपराज शर्मा टोपराज शर्मा
२०७८ असोज २२ गते ९:४०

२२ असोज, बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद आज विस्तार गर्ने तयारी गरिएको छ ।

कांग्रेस र माओवादी केन्द्रसहित पाँच मन्त्रीको टुंगो लागिसकेको छ । थप मन्त्रीको नाम पनि टुंगो लागेपछि आज दिउँसो ३ बजे शपथ ग्रहण गराउने मुख्यमन्त्री कुलप्रसाद केसीको तयारी छ ।

माओवादी केन्द्रको नेतृत्वमा साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेको थियो । दलहरुले दलभित्रै र गठवन्धनमा मन्त्रालय र मन्त्रीको भागवण्डा मिलाउन नसक्दा दुई महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यस्तै स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन् ।

गठवन्धनका मुख्य दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले पार्टीबाट मन्त्री बन्ने दुई–दुई जनाको नाम टुंगो लगाएका छन् ।

चार वटा मन्त्रालय पाएको नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका वसिउद्दिन खाँ मन्त्री बन्ने निश्चित भइसकेको पार्टीका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा खाँलाई पठाउने कांग्रेसले निर्णय गरेको छ ।

यसअघि दाङका डिल्लीबहादुर चौधरी कांग्रेसको तर्फबाट पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।

कांग्रेसले केन्द्रको आदेश कुर्दै

कांग्रेसले एक मन्त्री र दुई राज्यमन्त्रीको टुंगो लगाउन बाँकी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानाबीच सहमति हुन नसकेपछि टुंगो लगाउन कांग्रेसले केन्द्रमा पठाएको छ । मन्त्री दावेदार दुबैजना रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

त्यस्तै कांग्रेसले पाएको दुई राज्यमन्त्रीमा कपिलबस्तुकी रिना नेपाल, अर्घाखाँचीकी निर्मला क्षेत्री सहित अन्य दुई पुरुषको दाबी भएपछि व्यक्ति छनोट गर्न केन्द्रसँग नै अनुरोध गरेको छ ।

माओवादीट इन्द्रजित र तिलकराम

माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो लागेको छ ।

यसअघि माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन् । माओवादीले आन्तरिक मामिला तथा सञ्चार, कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

माओवादी केन्द्रले अब एक राज्यमन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको पार्टीका सांसद इन्द्रजित थारुले बताए । माओवादीले दाङकी विमला खत्री वलीलाई राज्यमन्त्री बनाउने सम्भावना बढी छ ।

एक जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादीबाट रमा घर्ती पनि मन्त्री बन्ने तयारी छ । माओवादीले पाएका ४ मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा –एकीकृत समाजवादीले पाउने भएको हो ।

जनता समाजवादी पार्टीबाट सहषराम यादव, सुमन शर्मा रायमाझी र पुरमति ढेंगा साउन २८ मै मन्त्री बनिसकेका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?