+
+

नेपाल र भारतले टुंग्याए जनकपुर-जयनगर रेलमार्गको सञ्चालन प्रक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १५:१०

२२ असोज, काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भएको छ । भारतको नयाँ दिल्लीमा अन्तरदेशीय रेलमार्गबारे बसेको नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा अपरेटिङ प्रोसिड्योरमा हस्ताक्षर भएको भारतीय दूतावासले टि्वटरमार्फत जानकारी दिएको छ ।

सन् २०१४ देखि बन्द रहेको यो रेलमार्ग फेरि कसरी सञ्चालन गर्ने भन्ने व्यवस्थासहित प्रोसिड्योरको मस्यौदा तयार भएको थियो । अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका पूर्वाधारहरु आवश्यक पर्छ । तर, जनकपुर-जयनगर रेलमार्गमा यस्ता पूर्वाधारहरु तयार भएका छैनन् । प्रोसिड्योरमा क्रमैसँग यस्ता आवश्यक पूर्वाधार राख्दै रेल चलाउने व्यवस्था गरिएको छ । भन्सार पूर्वाधार नेपालको इनर्वा स्टेसनमा राख्ने सहमति भएको छ ।

रेलमार्ग भएर तेस्रो देशका नागरिक विनाभिसा आवातजावत हुनसक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न गर्नुपर्ने व्यवस्थाबारे पनि उल्लेख छ । त्यसैगरी दुबैतर्फ भन्सारको पूर्वाधार नभएको रेलमार्फत हुनसक्ने अवैध ओसारपसार नियन्त्रणका लागि पनि सुरक्षा संयनत्र परिचालन गर्ने सहमति नेपाल र भारतबीच भएको छ ।

दुवैतर्फका सीमा स्टेसनमा त्यसका भवनहरु बनेपनि दुबै सरकारले भन्सार र अध्यागमनका लागि आवश्यक संस्थागत संरचना राख्ने निर्णय लिइसकेका छैनन् ।

महामारीका कारण कसरी समस्या नपर्ने गरी रेल चलाउने भन्नेबारे पनि सहमति भएको छ । सुरक्षा र सतर्कताबारेका व्यवस्था पनि यसमा राखिएको छ ।

रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन बैठकमा भारत सहमत छ ।

जनकपुर-जयनगर रुटमा चलाउन तामझामसहित असोज पहिलो साता नेपाल आइपुगेका दुई वटा रेलहरु एक वर्षदेखि इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका छन् । नेपाल रेल्वे कम्पनीले यी रेल धनुषाको इनर्वामा पार्किङमा राखिएका छन् ।

करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल चलाउन तयारी भएपनि मिति तय भएको छैन । नेपाल रेल्वे कम्पनीले कम्पनीका लागि डेढ सयभन्दा बढी ज्यालादारी कर्मचारी भर्ना  गरेपनि तिनलाई विदा गरिसकेको छ ।

सबै तयारी नसकिएका कारण नियमित सेवा दिने गरी महँगो मूल्यमा किनिएको नयाँ रेल कहिलेदेखि चल्छ भन्ने निश्चित छैन ।

सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।३४ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै ढिलाइ हुँदै आएको छ ।

कुर्था-जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार गर्न ३८० करोड रुपैयाँ खर्च भएको भारतले बताएको छ । अहिले कुर्थादेखि बिजलपुरासम्म २०० करोड खर्चेर बाँकी खण्डको काम भारतले नै गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?