+
+

विशेषज्ञ सेवा बढाउँदै सेती अस्पताल

जनक विष्ट जनक विष्ट
२०७८ असोज २३ गते १६:०६

२३ असोज, धनगढी । सेती प्रादेशिक अस्पताल सुदूूरपश्चिम प्रदेशकै उपचारको प्रमुख केन्द्र हो । यो अस्पतालमा कैलाली र कञ्चनपुरका साथै दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बझाङ र बाजुुराका मानिस उपचारका लागि आइपुग्छन् ।

१९९७ सालमा कैलाली अस्पतालको नाममा स्थापना भएको अस्पताल अञ्चल हुँदै हाल प्रादेशिक अस्पताल बनेको छ । २८ लाख प्रदेशबासीको जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यो अस्पतालले १५ शय्याबाट सेवा शुरु गरेकामा २०४० सालमा स्तरोन्नति भएर ५० शय्याको बनेको थियो ।

आन्तरिक स्रोतबाट ७५ शय्या थप गरेर १२५ शय्यामा सञ्चालन भइरहेको अस्पतालले बिरामी संख्या बढ्दै गएपछि फेरि शय्या संख्या थपेर २४० पुर्‍याएको छ ।

प्रदेशमा मुटु रोगको उपचार गर्ने र क्यान्सर रोगको पहिचान गर्ने यो एकमात्र अस्पताल हो । सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार इको (मुुटुको रंगीन भिडियो एक्सरे) सेवा, क्यान्सर, डायबिटिज र ल्याबतर्फ पनि विशेषज्ञ सेवा सुरु गरिएको छ । क्यान्सर रोग लागेको पत्ता लगाउने सुदूरपश्चिम प्रदेशको यो एकमात्र अस्पताल हो ।

दन्त रोगसम्बन्धी विशेषज्ञ सेवा, एनआईसीयू र पीसीयू सेवाको विस्तार, इन्डोस्कोपी सेवा, कोलोनोस्कोपी सेवा (आन्द्राको चेकजाँच), मेरुदण्डको जनरल सर्जरी सेवा समेत अस्पतालले दिँदै आएको छ ।

हालको पाँच शय्यााको आईसीयूूलाई १५ शय्यामा विस्तार गर्ने योजना रहेको छ । अस्पतालले सिटीस्क्यान र एमआरआई सेवा पनि सञ्चालन गर्ने जनाएको छ । दुवै मेसिन खरिदका लागि ठेक्का सम्झौता भइसकेपनि भौतिक संरचना निर्माण भइरहेकाले केही ढिलाइ भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अस्पतालले भौतिक संरचनाको सुधार, अत्याधुुनिक उपकरण थपेर फिजियोथेरापी सेवा थप विस्तार गरेको छ । एक लाख लिटर क्षमताको नयाँ भूमिगत पानी ट्याङ्की जडान, भीभीआईपीका लागि चार बेडको क्याविन निर्माण, ढल निकास विस्तार, पार्किङ स्थल निर्माणका काम समेत गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले आफ्नै अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कसमेत जडान गरेर सञ्चालनमा ल्याएको छ ।

जनशक्ति पनि थपियो

वर्षौंदेखि दरबन्दीअनुसार जनशक्ति नपाएको प्रादेशिक अस्पतालमा सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सक थपिएका छन् । प्रादेशिक अस्पताललमा अहिले ४१ जना विशेषज्ञ चिकित्सक र २४ जना मेडिकल अधिकृत कार्यरत छन् ।

उनीहरुमध्ये ११ जना विशेषज्ञ चिकित्सक र तीन जना मेडिकल अधिकृत दरबन्दीमा अरु निजी स्रोत तथा नेपाल सरकारका विभिन्न कार्यक्रम मार्फत राखिएको अस्पतालले जनाएको छ । नर्सिङतर्फ २२ जना स्थायी र अरु करारमा गरी डेढ सय जना कार्यरत छन् ।

अस्पतालका अनुसार ल्याब लगायतका विभिन्न विभागमा समेत गरेर हाल चार सय जना कर्मचारी रहेका छन् । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जनशक्ति थपिएपछि सेवा प्रवाहमा विगतको तुलनामा सहज भएको बताए ।

‘हामीले सबैको सकारात्मक साथ, सहयोगका कारण प्रादेशिक अस्पतालको सेवा विस्तारसँगै जनशक्ति व्यवस्थापन पनि गरेका छौँ,’ पाण्डेले भने, ‘विशेषज्ञ चिकित्सकहरुको संख्या वृद्धि भएकाले अहिले विगतको भन्दा सेवा प्रवाहमा निकै सहज भएको छ ।’

पाण्डे ३० साउन २०७५ देखि प्रादेशिक अस्पतालको सुपरिटेन्डेन्टको जिम्मेवारीमा छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?