+
+
Shares

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले गरे जाँचबुझ आयोगका सदस्यमाथि दुर्व्यवहार (भिडियो)

एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका रावल भन्छन्- हामीलाई खबर नै नगरी आए

सरोकारवालासँग छलफल भनिएको थियो । खास सरोकारवाला हामी थियौं, हामीलाई नै खबर थिएन- राजेन्द्रसिंह रावल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते २०:२१

१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न महेन्द्रनगर पुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारी र सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच वादविवाद भएको छ ।

भीमदत्त नगरपालिकामा बिहीबार दिउँसो आयोजित एक कार्यक्रममा उनीहरूबीच भनाभन भएको हो ।

सञ्जालमा सार्वजनिक भएको भिडियोमा रावलले भण्डारीमाथि आक्रोश पोखेको देखिन्छ । उनी नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुन् ।

जेनजी आन्दोलनको क्रममा आफ्नो घर जलेको र अहिले बालबच्चाको बिजोग भएको भन्दै उनले आयोगका सदस्यमाथि आक्रोश पोखेको भिडियोमा देखिन्छ ।

नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख लगायतका सरोकारवालाहरूसँग आयोगले छलफल आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा आफूलाई निम्तो नभएको तर जानकारी पाएपछि आफू त्यहाँ पुगेको रावलले अनलाइनखबरसँग भनेका छन् ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका अन्य दुई सदस्यहरू देशदौडाहमा छन् । उनीहरू जेनजी आन्दोलनको क्षतिबारे सूचना संकलन गर्न हिँडेका हुन् ।

यसैक्रममा भण्डारी बिहीबार महेन्द्रनगर पुगेको थिए । त्यहीँ उनीहरूबीच भनाभन भएको हो ।

‘मलाई त निमन्त्रणा थिएन । मैले बाहिरबाटै थाहा पाएपछि के रहेछ भन्ने लागेर नगरपालिकामा पुगेको थिएँ,’ रावलले अनलाइनखबरसँग भने, ‘सरोकारवालासँग छलफल भनिएको थियो । खास सरोकारवाला हामी थियौं, हामीलाई नै खबर थिएन ।’

रावलका अनुसार, उनीसँग प्रतिवाद भएपछि उक्त साक्षात्कार कार्यक्रम नै अगाडि नबढेको उनले बताए ।

 जाँचबुझ आयोगको टोलीमा गएका एक सहभागीका अनुसार, राजेन्द्र रावलले घरमा जाँदा राम्रै व्यवहार गरेका थिए । तर पछि बैठकमा बोल्ने बोल्ने क्रममा उनी आवेगमा आउने र जथाभावी बोल्ने गर्न थाले ।
‘आयोगका सदस्यमाथि हातपात भएको वा अरु त्यस्तो केही होइन, तर रावलजीले जथाभावी बोल्ने र मौखिक दुर्व्यवहारको तहमा प्रस्तुत हुनुभयो । उहाँको स्वभाव नै त्यस्तै हो भनेपछि थप केही कुरा गरिएन ।’

यस्तो देखिन्छ उनीहरूबीचको सवालजवाफ:

रावल : यू आर गेट लस्ट ।

भण्डारी : ह्वाट डु यू मिन बाइ लस्ट ?

रावल : आई मिन, आई नो । ब्वाट आर यू डोइङ ? (स्टेजमा चढ्दै…) अपराधीहरूलाई लुकाएर, घर जलाएर हिँड्ने ?

भण्डारी : मैले जलाएको हो तपाईंको घर ?

रावल : तपाईंहरू पनि हो । बढ्ता कुरा गर्ने ? मेरा बालबच्चाहरूको हालत देख्नुभएको छ ? अहिले नाटक देखाउने आएको ? मेरो पार्टी कार्यालय भवन आगो लगाउँदा तपाईं तमासा देखाउन आएको यहाँ ? अहिले तपाईं राज्यको तर्फबाट नाटक देखाउन आउने ? तपाईंहरू अपराधी हो । यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आएको हो तपाईंहरू । याद गर्नुहोला, मान्छेको फेला पर्नुभएको छैन तपाईंहरू । म क्लियर मान्छे हुँ । राज्यको कोषको दुरुपयोग गरेर आउनुभएको छ ।

भण्डारी : यहाँ सुन्नुस्….

रावल : केही सुन्दिनँ ।

उक्त घटनाबारे हामी पूर्वमुख्यमन्त्री रावलसँग सोधखोज गरेका थियौं ।

उनले भनेका छन्–

उहाँले जानकारी सबै स्टेक होल्डरलाई बताउनुपर्थ्यो । उहाँले पूर्व जानकारी पनि दिनुभएन । सरोकारवालालाई बोलाएको भन्नुभयो । घर जलेका मान्छे हामी छौं । फिल्डमा घुमेको जस्तो गर्ने । अकस्मात घरभित्र छिर्ने, सरकारी कर्मचारीलाई उर्दी लगाएर त्यहाँ अफिसमा बसेका थिए । सीडीओले नै बताएपछि त्यहाँ जानुपर्ने भयो भनेर हामी गयौं ।

सबै कर्मचारीलाई राखेर उहाँ बसिराख्नुभएको थियो । तपाईंहरू यहाँ के हेर्न आउनुभएको हो भनेर मैले प्रश्न गरेँ । सिंहदरबार जल्दा, प्रहरीका बर्दी जल्दा, हतियार लुटिँदा के हेर्नुभयो ? हाम्रा घरमा खरानी हेर्न आउनुभएको हो कि के गर्न आउनुभएको ? भनेर मैले प्रश्न गरेँ । उनी अंग्रेजी बोल्न थाले । म पनि अंग्रेजी बोल्न जान्दछु । अनि मैले पनि प्रतिवाद गरेँ ।

त्यसभन्दा अगाडिको कन्टेक्स के थियो भने, मैले तपाईंहरू अवैधानिक रुपमा आउनुभएको, अवैधानिक सरकारबाट आउनुभएका अवैधानिक सदस्य हो । अवैधानिक आयोग हो । हाम्रो बच्चाहरूको अवस्था बुझ्नुभएको छ । पार्टीका भवन जले त्यतिबेला कहाँ हुनुहुन्थ्यो ? हामीले बाँच्न पाउने अधिकार छ कि छैन ? हामीले चोरी डकैती गरेर बनाएको घर हो र ?

तपाईंहरू देशद्रोही भएर यहाँ किन आउनुभएको ? नाटक मञ्चन किन गर्न आएको भनेर मैले प्रश्न राखेँ ।

मलाई त बोलाइएकै थिएन । नगरपालिकामा के कस्तो भएको रहेछ सोध्न गएको थिएँ । त्यो पत्रमा सरोकारवाला भनेर लेखेको रहेछ । तर हामी चाहीँ सरोकारवाला हौं । हामीलाई खबर नगरी नाटक मञ्चन गरिएको थियो । मेरो घर जलेको थियो, मलाई नै खबर छैन । त्यो मलाई मन परेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?