+
+
अग्रपथ :

‘राजधानी प्रदेश’ र ‘नेवा राज्य’ : केही भ्रमको खण्डन

नेवारलाई ‘जातीय समुदाय’ भन्न मिल्दैन । ‘नेवा’ जातीय पहिचान हैन । नेवार समुदायको ‘साझापन’ धर्म पनि हैन । धार्मिक हिसाबले नेवारहरू हिन्दू र बुद्धिष्ट दुवै हुन्छन् । अझ सानो संख्यामा मुस्लिम र क्रिश्चियन नेवार पनि छन् ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ असोज २४ गते १०:०५

राज्य पुनर्संंरचना, उपयुक्त प्रदेश सीमांकन, समुचित प्रादेशिक स्वायत्तता र स्वशासन, भाषिक/सांस्कृतिक अधिकारको प्रत्याभूति र वित्तीय संघीयता देशका अद्यापि अपूरा र अधुरा अजेण्डा हुन् । राज्यको संघीयकरण समग्र लोकतन्त्रीकरणकै एक अभिन्न अंग हो । आधुनिक लोकतन्त्रका मुख्य चारवटा आयाम हुन्छन्– राजनीतिक लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक/सांस्कृतिक लोकतन्त्र र पर्यावरणीय लोकतन्त्र । संघवादले लोकतन्त्रका यी चारवटै आयामलाई प्रभावित र सबलीकृत गर्दछ ।

यो आलेखको शीर्षकमा एकसाथ दुई अवधारणा उपस्थित छन्– ‘राजधानी प्रदेश’ र ‘नेवा राज्य’ । यी एउटै कुरा हैनन् । यी दुई अवधारणाको मर्ममा केही भिन्नता छ । ‘राजधानी प्रदेश’ को अवधारणा संघीय र गैरसंघीय दुवै प्रकारका मुलुकमा राजधानी शहर र आसपासको क्षेत्र समेटेर एक विशिष्टीकृत प्रशासनिक एकाइको परिकल्पना हो भने ‘नेवा राज्य’ पहिचान आधारित संघवादको अवधारणाबाट निःसृत माग हो । सौभाग्यको कुरा– हामीकहाँ यी दुवै अवधारणाको संविलयनबाट एक विशिष्ट र मौलिक अवधारणाको विकास हुन सक्दछ, जसले राज्यको पुनर्संरचनाको बाँकी कार्यभार पूरा गर्न महत्वपूर्ण योगदान गर्न सक्नेछ ।

राजधानी प्रदेश

भारतको राजधानी शहर नयाँदिल्लीलाई वरिपरिको क्षेत्र समेत समेटेर ‘स्वायत्त प्रदेश’ को मान्यता दिइएको छ । यसको क्षेत्रफल १ हजार ४८४ वर्ग किमी मात्र छ । जनसंख्या करीब १ करोड ७० लाख । जनघनत्व करीब ११ हजार ५०० प्रति वर्गकिमी । यसको भिन्नै संसद, मुख्यमन्त्री, बजेट, उच्च न्यायालय र कर्मचारीतन्त्र हुन्छ । सन् १९९१ मा उत्तरप्रदेश र हरियाणाको केही भूभाग मिलाएर दिल्ली प्रदेश बनाइएको थियो । यस प्रदेशले हिन्दी, अंग्रेजी, उर्दू र पञ्जाबी चतुर्भाषिक नीति अख्तियार गर्दछ ।

भारतमा मात्र हैन, राजधानी शहर र त्यसको वरिपरिको भूभाग समेटेर निश्चित प्रकारको स्वायत्त शासकीय संरचना खडा गर्ने प्रचलन संसारका धेरै देशमा छ । अमेरिकाको राजधानी शहर वासिङ्टन डिसी एक विशिष्ट प्रकारको शासकीय संचरना तथा एकाइ हो । मेक्सिकोको मेक्सिको सिटी, मलेशियाको क्वालालम्पुर, चीनका बेइजिङ र साङ्घाई, अर्जेन्टिनाको ब्युनर्स एरिज, बेलायतको लण्डन आदि त्यस्तै थुप्रै राजधानी शहर छन् जहाँ विशेष प्रदेश वा प्रशासनिक स्वायत्तता हुन्छ ।

यस्तो अभ्यासले राजधानी शहर र आसपासको क्षेत्रलाई एकीकृत योजना र मापदण्डभित्र ल्याउँछ । शहरी विकासको एकीकृत योजना बनाउन र कार्यान्वयन गर्न सजिलो हुन्छ । ऐतिहासिक सम्पदाहरूको संरक्षण र जीर्णोद्वार गर्न सजिलो हुन्छ । राजधानी प्रदेशको मौलिकता, ऐतिहासिकताको सम्वद्र्धन, भाषिक/सांस्कृतिक सम्पदाको रक्षा र प्रचलनमा प्रभावकारिता ल्याउन सकिन्छ ।

पर्यटकीय गन्तव्य विन्दुहरूको सञ्जाल बनाउन सजिलो हुन्छ । यसले बृहत्तर राजधानीको अवधारणा अनुरूप भौतिक संरचना र पूर्वाधार विकासको कल्पना गर्न सक्दछ । सोही अनुरूपको जनशक्ति, बजेट, प्रविधि व्यवस्थापन र शासकीय क्षमतास्तर निर्माण गर्न सजिलो हुन्छ ।

काठमाडौं एक सामान्य प्रशासनिक राजधानी शहर मात्र हैन, ऐतिहासिक, मौलिक र सांस्कृतिक महत्वको उपत्यका हो । भौगोलिक तथा प्राकृतिक दृष्टिकोणले यतिको सुन्दर, मानवमैत्री र रणनीतिक महत्वको उपत्यका संसारमै विरलै छन् ।

इतिहासका विभिन्न पाटो, पक्ष, प्रमाण र जनश्रुतिलाई केलाउँदा काठमाडौं न्यूनतम पाँच हजार वर्ष पुरानो मानव सभ्यता भएको उपत्यका हो । इतिहासका हरेक कालखण्डमा काठमाडौं विश्व सभ्यताको एक अंश मानिन्थ्यो । दक्षिणएशियामा उत्तरको ल्हासा र दक्षिणको पाटलीपुत्र (पटना) बीचको शहर र सभ्यताका रूपमा काठमाडौंको सर्वथा महत्वपूर्ण भूमिका थियो । मध्यकालमा काठमाडौं तिब्बत र तिरहुतबीचको ‘गतिशील पुल’ मानिन्थ्यो ।

नेवारलाई ‘जातीय समुदाय’ भन्न मिल्दैन । ‘नेवा’ जातीय पहिचान हैन । नेवार समुदायको ‘साझापन’ धर्म पनि हैन । धार्मिक हिसाबले नेवारहरू हिन्दू र बुद्धिष्ट दुवै हुन्छन् । अझ सानो संख्यामा मुस्लिम र क्रिश्चियन नेवार पनि छन् ।

नेपालमा यदाकदा राजधानी शहर परिवर्तन गर्नुपर्ने माग नउठेको हैन । यसको विकल्पमा दाङ वा चितवनलाई राजधानी शहर बनाउन सकिने तर्कहरू आएकै हुन् । तर, व्यवहारमा त्यो त्यति सम्भव र सजिलो भने देखिएन । राजधानी शहर निर्माणका लागि जुन पूर्वाधार, पायकपन र सहज स्वीकार्यता चाहिन्छ, त्यो अहिले पनि काठमाडौं पक्षमा छ ।

काठमाडौं भनेको महानगर वा जिल्ला मात्र हैन, सिङ्गो उपत्यका पनि हो । सिङ्गो उपत्यका र यसको वरिपरि एक स्वायत्त तथा स्वशासित प्रदेश हुनु कैयौं कारणले उपयुक्त हुन्छ । यदि त्यसो गर्न ढिलो गर्ने हो भने यो क्षेत्र एकीकृत योजनाभित्र आउँदैन, अहिलेको जस्तै अव्यवस्थित बसोबास र कमजोर शहरीकरणको विसंगत प्रक्रिया जारी रहनेछ । विद्यमान वागमती प्रदेशले न राजधानी प्रदेशको अवधारणालाई पूरा गर्न सक्दछ न नेवा राज्यको मागलाई नै सम्बोधन गर्न सक्दछ ।

‘वागमती प्रदेश’ कसैले नमागेको, नचाहेको एक बाध्यात्मक, तदर्थवादी तथा औपचारिक प्रदेश मात्र हो । शासक वृत्त र समूहले वैज्ञानिक सुसंगति र जनचाहना विपरीत जबरजस्ती लादेको प्रदेश मात्र हो । ‘वागमती प्रदेश’ को अवधारणा कुनै राजनीतिक दल वा समुदायको थिएन । ‘वागमती प्रदेश’ को माग र आन्दोलन भएको कहींकतै पाइँदैन । भौगोलिक प्रशासनिक प्रभावकारिताको दृष्टिकोणले पनि यो प्रदेश प्रभावकारी छैन । यसको खासै सान्दर्भिकता छैन भन्ने कुरा बितेको करीब चार वर्षको व्यवहारले पुष्टि गरिसकेको छ । यसको प्रभावकारिता कहींकतै मुखरित छैन ।

नेवा राज्य

हिप्पोलिटो देशीदेरी (१६८४–१७३३) काठमाडौं आइपुग्ने सम्भवतः पहिलो ईसाइ पादरी थिए । उनी इटालियन नागरिक थिए । पोर्चुगलको बन्दरगाह प्रयोग गर्दै उनी सन् १७१२ मा गोबा आइपुगेका थिए । उनी गोवाबाट दिल्ली, श्रीनगर, लेह–लद्दाखको बाटोहुँदै तिब्बत गए । केरुङ, काठमाडौं र पटनाको बाटो हुँदै फर्किए । करीब चार वर्ष ल्हासामा बिताएका उनी सन् १७२१ मा काठमाडौं आइपुगेका थिए । युरोप फर्किएर तिब्बतबारे उनले थुप्रै लेख लेखे । ती लेखमा उनले नेपाल र काठमाडौंका प्रसङ्ग समेत जोडेका थिए ।

उनले भनेका थिए– ‘तिब्बतको दक्षिणमा ‘नेपाल’ छ, त्यसका बासिन्दालाई ‘नेवार’ भनिन्छ ।’ यो सन्दर्भलाई पत्याउने हो भने त्यतिखेर ‘नेपाल’ काठमाडौं वरिपरि मात्र भएको देशको नाम थियो र अहिले ‘नेपाली’ भनिए जस्तो त्यो ‘नेपाल’ देशका बासिन्दालाई ‘नेवार’ भनिन्थ्यो । उनीहरूले बोल्ने भाषालाई ‘नेपाल भाषा’ भनिन्थ्यो । यसको गहिरो अर्थ छ– ‘नेवार’ कुनै जात, जाति वा नश्ल समुुदाय हैन, एक ऐतिहासिक राष्ट्र वा राष्ट्रियता हो ।

आजको आँखाबाट यस्तो भनाइको अर्थ असंगत जस्तो लाग्दछ । तर सत्य त्यही हो । ‘नेपाल’ को अर्थ काठमाडौं र यस केन्द्रबाट शासित क्षेत्र नै हुन्थ्यो । मूलतः यो पश्चिममा त्रिशूली र पूर्वमा सुनकोशी नदीको बीचमा हुने गर्दथ्यो । मेची–महाकाली बीचको भूभागलाई ‘नेपाल’ भन्न थालिएको त सन् १८१५–१६ को सुगौली सन्धिपछि मात्र हो । मुश्किलले २०० वर्ष मात्र हुँदैछ ।

मेरी हजुरआमाको नेपाल यात्रा

यो कुनै तर्क हैन, एक ऐतिहासिक सत्य हो । यसलाई पुष्टि गर्न डेशीदेरी जस्तो कुनै विदेशी विद्वानको सहारा लिइरहनु पर्दैन । हाम्रो पुस्ता बाल्यकालमा हुँदासम्म बूढो पुस्ताले काठमाडौं जानुलाई ‘नेपाल जानु’ भन्थे । ‘तीन शहर नेपाल’ भन्ने गीत खुबै चलेको थियो । स्वयं मेरी हजुरआमाले मलाई ‘नेपाल भ्रमणको संस्मरण’ सुनाएको सम्झना छ । मेरा हजुरबा आफूलाई ‘माझ किरातको बाहुन हुँ’ भन्ने गर्नुहुन्थ्यो । ‘माझ किरात’ बाट ‘नेपाल’ गए/आएको २२ दिनको पैदलयात्राको कथा हजुरआमाले बेलीविस्तार सुनाउँदा म मन्त्रमुग्ध भई सुनिरहन्थें ।

आज पूरै देशको जुन नाम ‘नेपाल’ हामी प्रयोग गर्दछौं, यो पुरानो ‘नेपालमण्डल’ कै नयाँ रूप हो भन्न कुनै हिचहिचाहट राख्नुपर्दैन । यति सरल सत्य अस्वीकार गर्ने हो भने सत्यनिष्ठा भन्ने शब्द नै शब्दकोशबाट सधैंका लागि हटाइदिए हुन्छ ।

देशको नाम ‘नेपाल’, बासिन्दालाई बुझाउन ‘नेवार’ र भाषाको नाम ‘नेपाल भाषा’ (नेपाल राष्ट्रका बासिन्दाको मुख्य भाषा) भनिन्थ्यो भन्ने कुरामा कुनै असंगति छैन । अहिले हामी जुन भाषालाई ‘नेपाली’ भन्छौं, यथार्थमा यो भाषा त्यतिखेर ‘नेपाल’ भनिने भूभागमा उत्पत्ति भएको हैन । यसको उत्पत्ति जुम्लाको सिञ्जा क्षेत्रमा भएको हो, जो त्यतिखेर नेपालको छिमेकी देश ‘खस साम्राज्य’ भित्र थियो ।

‘खस साम्राज्य’ दक्षिणएशियामा मगधपछिकै सबैभन्दा शक्तिशाली साम्राज्य थियो, जसको सिमाना पूर्वमा त्रिशूलीदेखि पश्चिममा सतलजसम्म हुने गर्दथ्यो । यदाकदा गण्डकी र महाकालीबीचमा खुम्चिन्थ्यो । आज त्यही भूभागको उत्तराधिकारलाई हामी ‘कर्णाली’ भन्छौं, जो नेपालको सर्वाधिक पिछडिएको, गरीब र अल्पविकसित क्षेत्र बन्न पुगेको छ । आज हामी ‘खस भाषा’ लाई ‘नेपाली’ भन्छौं, खाँटी नेपाली (नेपाल राज्यको भाषा) भाषालाई ‘नेवारी’ भन्छौं ।

‘नेपाल भाषा’ वा ‘नेवारी’ काठमाडौं उपत्यकाभित्र उत्पत्ति भएको भाषा हो । भाषाविद्हरूका अनुसार यो भाषाको चरित्र आफैंमा विचित्रको छ । भाषिक परिवारका हिसाबले यो ‘भोट–बर्मेली परिवार’ मा पर्दछ । तर, यसका थुप्रै शब्द ‘भारोपेली भाषा परिवार’ सँग मिल्दाजुल्दा हुन्छन् ।

डेविट गेल्नरका अनुसार नेवार भाषामा ५० प्रतिशत शब्द भारोपेली हुन्छन्, २८ प्रतिशत शब्द चेपाङ भाषासँग मिल्दछन् र बाँकी २२ प्रतिशत शब्दहरू तामाङ र तिब्बतियन भाषासँग मिल्दछन् । गेल्नरका अनुसार नेवारी भाषा बोट–बर्मेली, भारोपेली–आर्यन र स्थानीय प्राकृत भाषाको विशिष्ट संयोजन भएको संसारकै दुर्लभ भाषा हो ।

धेरैलाई भ्रम छ कि ‘नेवारी’ भाषा मध्यकालीन मल्ल शासनकालमा जन्मिएको हो । यो सत्य हैन । यो भाषा किराँतकालदेखि नै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा जनजिब्रोमा थियो । यो भाषाको पहिलो अभिलेख सन् १११४ मा लेखिएको थियो भनिन्छ । मल्ल राजाहरूले त यसलाई वैधानिक तथा राजकीय भाषा बनाएका मात्र हुन् । सन् १२०० देखि सन् १७६८ सम्म यो भाषा यहाँको मुख्य भाषा थियो । त्यसो त अधिकांश मल्ल राजाहरूले नेवारीभन्दा मैथिली भाषालाई सरकारी कामकाजमा बढी प्रयोग गर्थे । तर जनव्यवहारमा भने नेवारी नै मुख्य भाषा थियो । शाह राजाहरू रणबहादुर शाह, गीर्वाण युद्ध र राजेन्द्र विक्रम राम्रोसँग नेवारी लेख्ने–बोल्ने गर्दथे ।

नेवारी भाषामाथिको औपचारिक दमन राणाशासनको उदयपछि शुरुआत भएको हो, अझ भन्ने हो भने सन् १९०५ मा चन्द्रशमशेरले यो भाषामाथि घोषित प्रतिबन्ध लगाएका थिए । त्यसअघि सरकारी कामकाजको भाषाका रूपमा पनि नेपाल भाषा प्रयोग हुन्थ्यो । चन्द्रशमशेरले लगाएको प्रतिबन्धलाई जुद्धशमशेरले झनै बलियो पारे । राणाशासनको उत्तराद्र्धतिर ‘नेपाल भाषा आन्दोलन’ नेपालको लोकतान्त्रिक आन्दोलनकै अभिन्न अंग थियो ।

नेवा किन जात वा जाति हैन ‘राष्ट्र’ हो ?

सन् १८११ मा प्रकाशित ‘एन एकाउन्ट अफ किङ्डम अफ नेपाल’ मा कर्कप्याट्रिकले ‘नेवारः द नेशन’ शब्द प्रयोग गरेका थिए । डेविट गेल्नरका अनुसार नेवार जात (कास्ट), जाति (इथ्निसिटी) हैन, राष्ट्र (नेशन) हो । किन र कसरी त ?

वर्णाश्रम परम्पराभित्रको चतुर्वर्ण ब्राह्मण, क्षत्री, वैश्य वा शूद्रलाई ‘जात’ भनिन्छ । ‘नेवार’ न ब्राह्मण हो, न क्षेत्री; न वैश्य हो न शूद्र । नेवार चतुर्वर्णको परिभाषा र दायराभित्र नै पर्दैन । जात गंगातटीय वैदिक आर्य समाजमा मौलाएको प्रथा थियो । नेपाल समुदायमा जात प्रथाले धेरै पछि तराईबाट मैथिल ब्राह्मणहरू झिकाएर जयस्थिति मल्लले शुरुआत गरेका थिए । जातप्रथा नेवारको मौलिक प्रथा वा सामाजिक व्यवस्था थिएन । जंगबहादुरको मुलुकी ऐन अघिसम्म जयस्थिति मल्लले चलाएको प्रचलन कमजोर र अस्वीकृत जस्तो थियो । जब जंगबहादुरले खसआर्य समाजको जस्तै हुने गरी नेवार समाजलाई चतुरवर्णमा ढाले, तब मात्र नेवारमा जात प्रथाको कट्टरता विकास भएको हो ।

जातीय समूह हुन कुनै एक ऐतिहासिक मानव समूहको रक्त सम्बन्ध र शारीरिक बनोटको निरन्तरता हुनुपर्दछ । नेपालमा थारू, खस, राई, लिम्बू, मगर, गुरुङ, तामाङ, शेर्पा आदिलाई जातीय समुदाय पनि भन्न सकिन्छ । किनकि आर्य, मंगोल, द्रविड र आग्नेयमध्ये तिनीहरूको कुनै खास प्रकारको रक्त सम्बन्धको ऐतिहासिकता, जैविक जिन र सोही अनुरूपको शारीरिक बनोट हुन्छ ।

तर, ‘नेवार’ कुनै एक रक्त सम्बन्धबाट बनेको नश्ल हैन । यो मुख्य ७ वटा जातीय समुदायको सम्मिश्रण हो । गोपाल, महिषपाल जस्ता प्राचीन जातिहरू, सम्भवतः यो भक्तपुरे ज्यापुहरूको पुख्र्यौली जिन हो । किरात शासनकालको पतनपछि पनि किरातहरूको केही संख्या यहीं रह्यो, मूलतः ललितपुरे नेवारहरू किरात जिनका हुन् भनिन्छ । श्रेष्ठ नेवारहरू बैसालीबाट आएका लिच्छवि जिनका हुन् । मल्लहरू ठकुरी जिनका थिए, उनीहरू मल्लपुरीबाट आएका थिए । शाक्यहरू कपिलवस्तुबाट आएका थिए ।

जयस्थिति मल्लको आमन्त्रणपछि मैथिल ब्राह्मणहरू विशेषतः झा र मिश्रहरू उपत्यका छिरेर नेवार भएका थिए । नेवार समुदायमा गोपाल/महिषपाल, किरात, लिच्छवि, ठकुरी, शाक्य, मैथिलका अतिरिक्त तिब्बती जिन समेत मिसिएको छ ।

तसर्थ नेवारलाई ‘जातीय समुदाय’ भन्न मिल्दैन । ‘नेवा’ जातीय पहिचान हैन । नेवार समुदायको ‘साझापन’ धर्म पनि हैन । धार्मिक हिसाबले नेवारहरू हिन्दू र बुद्धिष्ट दुवै हुन्छन् । अझ सानो संख्यामा मुश्लिम र क्रिश्चियन नेवार पनि छन् । मल्लकालमा क्रिश्चियन नेवारहरूको राम्रै संख्या थियो । गोर्खालीहरूको नेपाल विजयपछि उनीहरूमाथि धार्मिक दमन र पक्षपात हुन थाल्यो, तसर्थ क्रिश्चियन नेवारहरूले धर्म परिवर्तन गरेर हिन्दू वा बुद्धिष्ट भएका थिए । अहिले करीब २० प्रतिशत नेवारहरू बुद्धिष्ट छन् भने ८० प्रतिशत हिन्दू ।

नेवार न जात हो न जाति, न धार्मिक समुदाय हो । त्यसो भए के हो ? नेवारको साझापन ‘ऐतिहासिकता, उत्पत्तिस्थल, भाषा/संस्कृति’ हो । नेवार ‘ऐतिहासिक राष्ट्र’ हो । यसको करीब पाँच हजार वर्ष लामो इतिहास छ । यसको उत्पत्तिको भूगोल काठमाडौं र आसपासको क्षेत्र हो । यसको भाषा ‘नेपाल भाषा’ हो । यसको आफ्नै प्रकारको संस्कृति, चाडपर्व, खानपान, भेषभुषा र सामाजिक जीवन छ । त्यसैले यो जाति र जातीय समूहभन्दा माथि एक ‘ऐतिहासिक राष्ट्र’ हो ।

इतिहासको कुरा

काठमाडौं उपत्यका राजधानी भएको राज्यलाई ‘नेपाल’ भनिए पनि यसको सिमाना भने स्थिर थिएन । यो कहिले पूर्व–पश्चिम फैलिन्थ्यो, कहिले खुम्चिन्थ्यो । इतिहासको लामो कालखण्डमा बारम्बार यस्तो भइरह्यो । उपत्यकाभित्र र वरिपरि स–साना राज्यहरूको प्रचलन लिच्छिविकालको अन्त्यसम्म थियो ।

मल्ल राजा जयस्थिति मल्लले सन् १३७० मा उपत्यका र आसपासका क्षेत्रलाई एउटै राज्यमा एकीकृत गरेका थिए । जयस्थिति मल्लका छोरा यक्ष मल्लको शासनकालभरि यो राज्य एकीकृत थियो । सन् १४८२ मा यक्ष मल्लको मृत्युपछि उनका छोराहरूले ख्वपः यम र येलमा टुक्र्याए । मल्ल शासनकालको अन्त्यसम्म भक्तपुर, ललितपुर र कान्तिपुर भिन्नाभिन्नै राज्य थिए ।

काठमाडौंमा विभिन्न नश्लीय, जातीय समुदायको प्रवेशका भिन्नभिन्न कारण थिए । उदाहरणको लागि उपत्यकाका ‘शाक्य’ नेवारहरू जो मूलतः बुद्धिष्ट हुन्छन्, कपिलवस्तुको शाक्य राज्यको पतनपछि काठमाडौं छिरेको विश्वास गरिन्छ । एक कथा अनुसार मावली खान्दान शाक्य र कोलियहरूले गरेको अपमान सहन नसकेर कोशल राजकुमार विडुढवले हजारौं शाक्य र कोलियहरूको हत्या गरेका थिए । यही घटनापछि कपिलवस्तुको पतन भएको थियो । भागेर बाँचेकाहरू उपत्यका आए, ‘कोलिय ग्राम’ बसाए, जसलाई पछि ‘कुरिया गाउँ’ भन्ने गरिन्थ्यो, जो अहिलेको बबरमहल, थापाथली क्षेत्रको आसपास थियो ।

ठकुरी नश्लका मल्लहरू मल्लपुरीमा भएको राजनीतिक उतारचढावपछि एक हाँगो काठमाडौं आएको थियो । मल्लपुरी कपिलवस्तुभन्दा पश्चिम र खस साम्राज्यको दक्षिणमा थियो भनिन्छ । लिच्छविहरू आएको बैसाली भने मगधका थिए, अहिलेको बिहारको पटना नजिक ।

गोर्खाली शाहवंशको आक्रमण र आधिपत्य अघि इतिहासका विभिन्न कालखण्डमा यहाँ आएका विभिन्न जातीय र नश्ल समुदायको रक्तसमिश्रणबाट नेवार समुदाय बन्यो । भाषा र संस्कृतिमा मात्र हैन, नश्ल र रक्त सम्बन्धका दृष्टिले पनि नेवारभित्र इन्डो–आर्यन र बोट–बर्मेली दुवै प्रकारको ‘जिन’ अन्तरघूलित छ ।

नेवा राज्य किन ?

अहिलेको काठमाडौं र आसपासको क्षेत्रमा भिन्नै प्रदेश रचना गर्नुपर्ने मुख्य दुई कारण छन् । एक– यो आधुनिक ‘राजधानी प्रदेश’ को अवधारणा अनुरूप पनि उपयुक्त हुनेछ । अर्को– यो प्राचीन तथा मध्यकालीन नेपालको उत्तराधिकार क्षेत्र ‘नेवा राज्य’ पनि हुनेछ । यसले आधुनिक युगको राजधानी प्रदेशको आवश्यकता पनि पूरा गर्नेछ । पहिचानको आकांक्षा र इतिहासको सम्मान पनि गर्नेछ । यी दुवै अवधारणाको एक विशिष्ट समायोजनबाट ‘नेवा प्रदेश’ को जन्म हुनेछ, जो सबैका लागि हितकर हुनेछ ।

अहिलेको वागमती प्रदेशले न कुनै ऐतिहासिकतालाई बोक्छ, न प्रशासनिक सहजता र सुगमता प्रदान गर्दछ । न एकीकृत योजना प्रणाली लागू गर्न सम्भव हुन्छ न यसका जिल्लाहरूबीच कुनै समरूपता छ । न भाषिक/सांस्कृतिक मौलिकताको संरक्षण र विकास नै सहज हुनेछ ।

कत्रो नेवा राज्य ?

नेवा राज्य वा प्रदेश भन्नाले अहिलेको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई मात्र बुझ्न हुँदैन । नेवा सभ्यता र संस्कृतिका परिधीय क्षेत्रहरू समेत यसमा समेट्न जरूरी छ । जस्तो कि बनेपा, पनौती, धुलिखेल नेवा भाषा, सभ्यता र संस्कृतिका ऐतिहासिक केन्द्रहरू हुन् । यिनीहरूलाई नसमेटिकन नेवा राज्यको कुनै अर्थ हुँदैन । काठमाडौं, ललितपुर, भक्तपुर–तीन जिल्लाका सँगसँगै काभ्रेका धुलिखेल, पनौती, बनेपा आदि, धादिङ जिल्लाका धुनिबेसी, थाक्रे, गल्छी, नुवाकोटका ककनी, बेलकोट, शिवपुरी, सिन्धुपाल्चोकको मेलम्ची, मकवानपुरका इन्द्रसरोवर र थाहा जस्ता गाउँ तथा नगरपालिकाहरू समेत ‘नेवा प्रदेश’ मा समेटिनु उचित हुन्छ ।

अहिले काठमाडौं–३९५, भक्तपुर–११९ र ललितपुर–३८५ वर्गकिमी गरी जम्मा ८९९ वर्गकिमी छ । उपरोक्त अवधारणा बमोजिम आसपासको क्षेत्र समेत समेट्दा नेवा राज्यको क्षेत्रफल करीब २३०० वर्गकिमी हुनेछ । यो भारतको दिल्ली प्रदेशभन्दा क्षेत्रफलमा करीब ९०० वर्गकिमी ठूलो हुनेछ ।

‘नेवा’ कुनै जातीय, नश्लीय वा धार्मिक पहिचान नभएर ऐतिहासिक, भाषिक तथा सांस्कृतिक पहिचान हो भन्ने कुरा माथि नै चर्चा गरियो । यस्तो राज्य ‘जातीय’ हुन्छ भन्नेहरूलाई कुनै जवाफ नै दिनु परेन ।

देशभरि करीब १४ लाख नेवारहरू छन् । जबकि करीब १५ लाख जनसंख्या भएको कर्णालीलाई हामीले एक प्रदेश मानेका छौं । विश्वभरि थप पाँच लाख नेवार छरिएका हुन सक्दछन् । उनीहरूको ऐतिहासिक थातथलोले राजनीतिक मान्यता पाउनु देशकै लागि ठूलो फाइदा हुनेछ । विश्वभरिकै नेवार समुदायले ‘म नेपालको नेवा राज्यबाट उत्पत्ति भएको हुँ’ भन्ने प्रष्ट पहिचान र गौरव गर्न, ऐतिहासिकतासँग आफूलाई जोड्न र सोही अनुरूपको लगाव, प्रेम र योगदान गर्न सक्नेछन् । तर, यस्तो राज्य नेवारको मात्र हुने हैन, यसका सबै बासिन्दाले समान राजनीतिक तथा आर्थिक अधिकार राख्ने छन् । त्यो केवल सांस्कृतिक तथा ऐतिहासिक पहिचानको क्षेत्र हुनेछ ।

गण्डकी प्रदेशको जनसंख्या करीब २५ लाख छ । सन् २०११ को जनगणना अनुसार काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको मात्र जनसंख्या २५ लाख बढी छ । प्रस्तावित परिधीय क्षेत्रलाई समेत समेट्ने र बढेको जनसंख्यालाई समेत प्रक्षेपण गर्ने हो भने नेवा प्रदेशको जनसंख्या ४० लाखभन्दा बढी हुन सक्दछ । जनसांख्यिक तथा आर्थिक दृष्टिकोणले ‘नेवा राज्य’ सँग पर्याप्त सामथ्र्य हुनेछ ।

भाषा मर्न दिनुहुँदैन

भाषा अभिव्यक्तिको माध्यम मात्र हो, जुनसुकै भाषा रहे हुन्छ, जुनसुकै भाषा मरे हुन्छ, त्यसलाई ठूलो विषय बनाइनु हुँदैन भन्ने धारणा बाक्लै सुन्न नपाइने हैन । तर यो सत्य हैन । भाषा अभिव्यक्तिको माध्यम मात्र हैन । त्यो अभौतिक सम्पदा पनि हो । त्यो प्राचीन ज्ञान, विज्ञान, अनुभव, कला, साहित्य, संस्कृति र सीपको स्रोत पनि हो । भाषाको आर्थिक मूल्य पनि हुन्छ । भाषा पूँजी पनि हो ।

जस्तो कि– नेवा राज्यमा नेवारी प्रादेशिक भाषा बनाउँदा सयौं शिक्षकहरू आवश्यक पर्दछ, त्यसले रोजगार समेत सृजना गर्दछ । भाषाले जुन फरकपन र मौलिकता सृजना गर्दछ, त्यसको पर्यटकीय महत्व पनि हुन्छ । र भाषा ‘सामाजिक/सांस्कृतिक अधिकार’ को मुख्य सवाल पनि हो । जुन लोकतन्त्रले प्रत्याभूत गर्नुपर्ने एक महत्वपूर्ण आयाम हो ।

केही भ्रमको खण्डन

‘नेवा’ कुनै जातीय, नश्लीय वा धार्मिक पहिचान नभएर ऐतिहासिक, भाषिक तथा सांस्कृतिक पहिचान हो भन्ने कुरा माथि नै चर्चा गरियो । यस्तो राज्य ‘जातीय’ हुन्छ भन्नेहरूलाई कुनै जवाफ नै दिनु परेन । यस्तो राज्य ‘क्षेत्रीय’ पनि हुँदैन किनकि ‘क्षेत्रीय’ भन्नाले ‘केन्द्रीय भावनाभन्दा बाहिर’ भन्ने बुझिन्छ तर ‘नेवा’ त स्वयं आफैं ‘केन्द्र’ मा हुन्छ ।

‘नेवा राज्य’ ले नेपालबाट छुट्टिएर आफूलाई भिन्नै देश घोषणा गर्दछ, पृथकतावाद मौलाउँछ भन्ने तर्क त हावादारी कल्पना मात्र हो । जुन आकार र भूगोलमा हामी नेवा राज्यको कल्पना गर्दैछौं, त्यो आफंैमा नेपालको उत्पत्तिकर्ता हो, त्यो छुट्टिएर कहाँ, कता, कसरी जान सक्दछ ?

‘नेवा’ राज्य हुँदैमा नेवार समुदायका मानिसका लागि कुनै राजनीतिक अग्राधिकार हुँदैन । केवल भाषिक, सांस्कृतिक अग्राधिकार मात्र हुने हो । राजनीति त लोकतान्त्रिक, समावेशी हुन्छ । नेवार समुदायको मात्र भोटले कुनै पार्टीलाई चुनाव जित्न र सत्तामा जान पुग्ने हैन । सबै जाति र समुदायका मानिसका नागरिक अधिकार बराबर हुने हो । आर्थिक अधिकार बराबर हुने हो । आधुनिक लोकतान्त्रिक राज्यमा राजनीतिक तथा आर्थिक अधिकारका दृष्टिले कसैसँग कुनै भेदभाव गर्न मिल्दैन ।

आलेखको सान्दर्भिकता

लोकतन्त्रको स्वाभाविक चरित्र हो– निर्वाचनको सम्मुख सम्बोधन नभएका अजेण्डाहरू पुनश्चः सतहमा आउनुपर्दछ । कुनै एक वा दुई संसदीय चुनावको परिणामले मात्र कुनै दीर्घकालीन अजेण्डा सही थियो कि गलत भन्ने पुष्टि हुँदैन । संसदीय चुनाव कुनै जनमत संग्रह हैन । संसदीय निर्वाचनमा अजेण्डाकै आधारमा भोट दिइएको थियो भन्ने कुनै पत्यारिलो आधार छैन । दलीय भावना, दलको संगठनको पकड, उम्मेद्वारको प्रभाव, तत्कालीन कारण आदि अनेक कारणले मतदाता मनोविज्ञान प्रभावित हुने गर्दछ ।

नेपालमा संघवाद कार्यान्वयन र उपयुक्त प्रदेश सिमांकनको सवाल अन्त्य भएको हैन, शुरुआत मात्र भएको हो । संघवादलाई अझ परिष्कृत र परिमार्जित गर्न बाँकी नै छ । अब फेरि निर्वाचन आउँदैछन् । आसन्न तीन वटै तहको निर्वाचनमा फेरि यी सवाल जोडतोडले उठ्न जरूरी छ ।

अन्त्यमा

यो केवल नेवार समुदायको मात्र अजेण्डा, चासो र सरोकारको विषय हैन, सबै राजधानीवासी अझ उपत्यका र आसपासको क्षेत्रमा बसोबास गर्ने नागरिकको साझा सवाल हो । जिल्ला संरचना पञ्चायतले निर्माण गरेका कृत्रिम प्रशासनिक एकाइ हुन्, अब यसको मोह राख्न जरूरी छैन । संघीय शासन प्रणालीमा सिडियोसँग हैन, प्रदेश प्रमुख र मेयरहरूमा अधिकार हुनुपर्दछ ।

प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र स्थानीय सरकारका मेयरहरू नै वास्तविक शासकीय शक्ति अभ्यास र अनुभव केन्द्र हुन् । संसारका धेरै देशमा मेयर र प्रदेश प्रमुखमध्ये असल मेयर र प्रदेश प्रमुखपछि प्रधानमन्त्री वा राष्ट्रपति निर्वाचित हुने एक अघोषित प्रचलन जस्तो हुन्छ । नेपालको लोकतन्त्रले पनि यो तथ्यलाई आत्मसात् गर्न जरूरी छ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?