+
+

सुशील श्रेष्ठ : सधैं तन्दुरुस्त, सधैं फुर्तिलो

सुशील नेपाल सुशील नेपाल
२०७८ असोज २४ गते १३:४१

‘होस्टेल रिटर्न्स ’बाट डेब्यु गरेका अभिनेता, सुशील श्रेष्ठ । त्यसयता उनले झण्डै आधा दर्जन चलचित्रमा अभिनय गरेका छन् । सुगठित शरीरका यी अभिनेताको प्रदर्शनमा आएको पछिल्लो चलचित्र ‘लभ डायरिज’ हो । यतिबेला उनी अनटाइटल एक नयाँ चलचित्रको तयारीमा छन् । उनको जीवनशैली, खानपान कस्तो छ भन्नेबारे अनलाइनखबरले गरेको कुराकानी :

बिहान कति बजे उठनुहुन्छ ? दैनिकी कसरी शुरु हुन्छ ?

अहिले साढे ५ देखि ६ बजेभित्र उठछु । उठेर फ्रेस हुन्छु अनि जिम जान्छु ।

जिम जानुअघि केही खानुहुन्न ?

उठेपछि शुरुमा नै एक बोतल पानी पिउँछु । त्यसपछि फ्रेस हुन्छु । फ्रेस भएपछि दुईवटा केरा खान्छु । २-३ वटा अण्डा खान्छु । त्यसपछि मात्र जिम जान्छु ।

कति भयो जिम जान थाल्नुभएको ?

आठ वर्ष भयो । जिम-सेन्टर घर नजिकै छ । नियमित नै जाने गरेको छु । कहिले तौल घटाउने, कहिले बढाउने हुन्छ । चलचित्रअनुसार वेट घटाउने, बढाउने धेरै गरें ।

जिममा कति समय बिताउनुहुन्छ ? एक्सरसाइज के-के हुन्छ ? 

करिब एक घण्टाजति बिताउँछु । जिममा वेट घटाउने र बढाउने अनुसारको एक्सरसाइज हुन्छ । घटाउनेको लागि ‘कार्डियो र ट्रेडमिल’ हुन्छ । म अहिले बढाइरहेको भएर त्यो गर्दिनँ । लकडाउनको समयमा चलचित्रको लागि १५ किलोजति वेट घटाएको थिएँ । त्यसमा अलि योङम्यान देखिनुपर्ने थियो । पछि चलचित्र पोस्टपन्ड भयो । अहिले फेरि मैले वेट बढाइरहेको छु । मलाई ‘प्रसनल्ली’ दुब्लो मन पर्दैन । हेर्दा पनि फिट देखियोस् जस्तो लाग्छ । त्यसैले अहिले वेट बढाउनका लागि हेभी वर्कआउट नै गरिरहेको छु ।

चलचित्र ‘बादशाह जुट’मा मैले १४ किलो तौल घटाएको थिएँ । फेरि ‘लभ डायरिज’मा बढाएको हुँ । यसरी घटाउने बढाउने धेरै भइरहेको हुन्छ । एक्सरसाइज पनि सोहीअनुसार हुन्छ ।

‘सिक्स प्याक एब्स’ निकाल्न के गर्नुपर्छ ?

मुख्य त एक्सरसाइज र खानाको कम्बिनेसन नै हो । खाना क्यालोरी हेरेर खानुपर्‍यो । खाना जति खाइरहेको छ त्योभन्दा कम गर्नुपर्‍यो, एक्सरसाइज धेरै हुनुपर्‍यो । एक्सरसाइज कम, खाना धेरै भइरहेको छ भने हुँदैन । कम खाने, भेजिटेबल्स, फ्रुट्सहरू खाने, डाइट राम्रो खाने । अण्डा खाने, तर पहेंलो भाग नखाने । मासु बोयल खाने । बेलुका भात कम खाने, भातको सट्टा रोटी खाने यस्तैयस्तै ।

तपाईंको डाइट कस्तो छ ?

अहिले मेरो हेभी डाइट छ । किनभने वेट बढाइरहेको छु । अहिले दिनमा १०–१२ वटा अण्डा जान्छ । अण्डाको पहेंलो भाग भने खाँदिनँ। केरा पाँच–छ वटा खान्छु । सप्लिमेन्टमा चाहिं म भरोसा गर्दिनँ । त्यसले खाइन्जेलसम्म फुलाइदिन्छ, खान छोडेपछि फेरी पहिलेको जस्तै हुन्छ । प्रोटिनका लागि पिनट, बटर भयो । दूध भयो । वेट बढायरहेको समयमा बेलुका पनि भात खान्छु । वेट घटाइरहेको भए बेलुका रोटी खान्थें । चना पनि खाइरहेको हुन्छु । वेट बढाउने समयमा म ३–३ घण्टाको अन्तरमा खाइरहेको हुन्छु । अहिले दिनमा ६ टाइम खाइरहेको हुन्छु । वेट घटाउने, वा नर्मल फिटनेसका लागि भए फेरी खाने सेड्यूल अलि फरक हुन्छ ।

डाइटका लागि खर्च कति हुन्छ ?

वेट बढाउने समयमा अलि बढी हुन्छ । अहिले खाना आफ्नो ठाउँमा छ । पर्सनल्ली मात्र खानका लागि दिनमा आठ सयदेखि हजार रूपैयाँ खर्च हुन्छ ।

स्वास्थ्यप्रति एकदमै सचेत हुनुहुन्छ है ?

एकदमै । स्वास्थ्य छ भने सबै कुरा छ । म पहिल्यैदेखि स्वास्थ्यप्रति सचेत हुँ । लकडाउनपछि अझ बढी सचेत भएको छु । लकडाउनमा आएर धेरै कुरा रियलाइज भयो । रक्सी म पहिल्यैदेखि पिउँदिन, चुरोट कहिलेकाहीं खाने बानी थियो । अहिले आएर चुरोट च्याट्टै छाडें । अहिले अरूको चुरोट खाएको गन्ध आएपनि असर गरेजस्तो लाग्छ ।

घरबाहिर निस्किनुअगाडि तयारी हुन कति समय लाग्छ ?

मलाई धेरै समय लाग्दैन । कहाँ जाने भन्ने अनुसार मेरो दिमागमा पहिल्यै के-के लगाउने सेट भइसकेको हुन्छ । अहिले कपाल लामो भएकाले मिलाउन चाहिं केही समय लाग्छ ।

कस्तो लुगाफाटो सहज लाग्छ ? लुगाफाटोमा कत्तिको सौखिन हुनुहुन्छ ?

आफूलाई कन्फटेबल र सुहाउने हुनुपर्‍यो । प्रायः क्याजुअल कपडाहरू नै लगाउँछु । क्याजुअल कपडाहरू नै सजिलो लाग्छ । कार्यक्रमहरूमा फर्मल (सुट पाइन्ट) लगाएर जान्छु । फर्मल सिलाउने पुतलीसडकमा मेरो एउटा ठाउँ छ । फर्मल कपडा चाहियो भने म प्रायः त्यहीं जान्छु ।

म लुगाफाटोमा धेरै नै सौखिन चाहिं होइन । एकैपटक पाँच–छ थान कपडाहरू किनिरहेको हुन्छु । मलाई सपिङ गर्न गइरहन अल्छी लाग्छ ।

जुत्ता भने म बाहिरबाट साथीहरूसँग मगाइरहेको हुन्छ । किनकि यहाँ मलाई मन परेको जुत्ताको साइज नै मिल्दैन ।

रंग कस्तो मन पराउनुहुन्छ ?

रंगमा मलाई मनपर्ने कालो र सेतो हो । मसँग कालो र सेतो रंगका कपडाहरू नै बढी छन् ।

यात्रा केमा गर्नुहुन्छ ?

बाइकमा । आठ वर्षदेखि बाइकमा यात्रा गर्दै आएको छु ।

कस्तो लाग्छ बाइकको यात्रा ?

मसँग बुलेट बाइक छ । बुलेट मलाई मनपर्ने बाइक हो । मलाई यसमा टाढाटाढासम्म यात्रा गर्न एकदमै मन पर्छ । पहिलेपहिले म एक्लै पनि बाइकमा टाढाटाढासम्म यात्रा गरेको छु । पोखरा, चितवन, धरान, मुस्ताङसम्म बाइकमा पुगेको छु ।

काठमाडौंको सन्दर्भमा यहाँको जाम देख्दा गाडीभन्दा बाइकको यात्रा नै भरपर्दो भएजस्तो लाग्छ ।

दिउँसोको समय कसरी बितिरहेको छ ?

अहिले त कथा लेखिरहेको छु । लकडाउनमा आइडिया आएर लेख्न थालेको हुँ । दुईवटा कथा लेखेको छु । जसमा एउटा लभस्टोरी, एउटा थ्रिलर छ । सिरिजका लागि सोचेर लेखेको हुँ । सामान्य हिसाबले लेखेको छु, त्यो अब राइटरलाई दिनुपर्छ । दुई चारजना निर्माता–निर्देशकलाई कथा सुनाएको पनि छु, राम्रो छ भन्नुभएको छ ।

अभिनय बाहेक रूचिका विषयहरू के–के छन् ?

एक्सरसाइज, फिटनेस भनौं । आउट अफ भ्याली बाइक राइडिङ भयो, लेखन आदि ।

उपन्यासहरू कत्तिको पढ्नुहुन्छ ?

मिलेको समयमा पढ्छु । कर्णाली ब्लुज र पल्पसा क्याफे लकडाउनको समयमा पढेर सकेको हुँ । मिलेको समयमा बिजनेससँग सम्बन्धित पुस्तकहरू पनि पढ्छु ।

बाहिर जानुभएको दिन घर कति बजे फर्किनुहुन्छ ?

प्रायः दिउँसोभर घरमै हुन्छु । बाहिर गएको दिन पनि ठ्याक्कै यतिबजे भन्ने हुँदैन । सुटिङको समयमा ढिला हुन्थ्यो । सुटिङमा गएर घर फर्किंदा कहिले ११ बज्थ्यो, कहिले एक बज्थ्यो । अहिले बाहिर गएको छु भने ढिलो भनेको ८-९ बजे फर्किन्छु ।

साँझमा के-के खानुहुन्छ ?

खाना प्रायः साढे ९ बजे खान्छु । अहिले वेट बढाएको भएर खाना नै खाइरहेको छु । वेट घटाउने समयमा रोटी खान्थें। खाना खाइसकेपछि पनि केरा र अण्डा खान्छु ।

सुत्दा कति बज्छ ?

११ बजेपछि नै सुत्छु ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?