+
+

लुम्बिनीमा १७ सदस्यीय मन्त्रिपरिषद, विमला बनिन् राज्यमन्त्री

टोपराज शर्मा टोपराज शर्मा
२०७८ असोज २४ गते २०:२४

२४ असोज, बुटवल । लुम्बिनी प्रदेशमा जम्बो मन्त्रिपरिषद् बनेको छ । कुलप्रसाद केसी मुख्यमन्त्री बनेको ६० औं दिनमा छ मन्त्री र चार राज्यमन्त्री थपिएका हुन् । यससँगै लुम्बिनीको मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ । जसमा १३ मन्त्री र ४ राज्यमन्त्री रहेका छन् ।

आइतबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री थपिएपछि मन्त्रिपरिषदले पूर्णता पाएको हो ।

को–को भए मन्त्री ?

नेपाली कांग्रेसबाट वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र वसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट इन्द्रजित थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन् ।

एकीकृत समाजवादीबाट रमा आले कानून, महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । उनी प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद हुन् ।

कांग्रेसबाट अर्जुनकुमार श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना नेपाल विक पर्यटन राज्यमन्त्री बनेकी छन् । यसैगरी माओवादी केन्द्रबाट विमला खत्री वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी छन् ।

आफ्ना पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा विमला तत्कालीन नेकपाबाट निर्वाचित भएकी हुन् । नेकपा खारेज पछि उनले गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी थिइन् ।

उनलाई एमालेमै राख्न एमाले नेताहरुले पाँच दिनसम्म तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप समेत लागेको थियो ।

उनलाई एमालेले आफ्नो सांसद भएको दावी गर्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ । एमाले र माओवादी दुबैले आफूतर्फ राख्न चाहेका बेला वलीले माओवादी केन्द्र रोजेवापत उनी राज्यमन्त्री बनेकी हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

२८ साउनमा निुयक्त भएका मुख्यमन्त्री केसीले सोही दिन माओवादी केन्द्रका कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डिल्ली चौधरी, जनता समाजवादी पार्टीका सहसराम यादव, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री बनाएका थिए ।

चौधरीले पर्यटन, ग्रामीण तथा शहरी विकास, खड्काले आर्थिक मामिला तथा योजना, यादवले भौतिक पूर्वाधार, रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था, ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था र शाहीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?