
बागमतीका मन्त्रीलाई राजेन्द्र पाण्डेको ब्यंग्य : झण्डा हल्लाउँदै टीका थाप्ने रहर


२४ असोज हेटौंडा । बागमती प्रदेशसभाको आइतबारको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरिन्, तर त्यसमा छलफल भएन ।
मुख्यमन्त्रीले प्रस्ताव पेश गर्नेवित्तिकै सभामुख सानुकुमार श्रेष्ठले बैठक १२ दिनका लागि स्थगित गरिदिए ।
अब मुख्यमन्त्री शाक्यसहित मन्त्रिपरिषदका सदस्यहरुको पद कम्तीमा दशैं अवधिभर जोगिने भएको छ । दशैंअघि विश्वासको मत नलिने सत्तापक्षको योजना थाहा पाएका विपक्षी दलका सांसदले मुख्यमन्त्री र मन्त्रीहरुको आलोचना गरे ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मन्त्रीहरुलाई झण्डा हल्लाउँदै टीका थाप्न जाने रहर लागेको टिप्पणी गरे । ‘मन्त्रीज्यूहरुलाई झण्डा हल्लाएर टीका थाप्न जान रहर होला, तर अल्पमतको मन्त्री बनेर टीका थाप्न नजानुस्’ उनले भने ।
पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यप्रति पनि ब्यंग्य गरे । ‘हिजो संविधान जोगाउन हामीले अगाडि लाएको नेताहरुले आज टोन फेरेका छन् । मुख्यमन्त्रीज्यूलाई अगाडि राखेर लडाई लडेको थियौं । तर आज उहाँ परिवर्तन हुनुभएको छ’ उनले भने ।
मुख्यमन्त्री शाक्यले भने कुनै राजनीतिक कुरा नगरी दशैं, तिहारको शुभकामना मात्र दिइन् । उनले समाजवादको यात्राको लागि राजनीतिक कुराहरुले मात्रै परिवर्तन नहुने भन्दै सांस्कृतिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताइन् ।
उनले परम्परा जोगाउनुपर्ने भएता पनि संस्कृतिभित्र भएका विकृति पनि अन्त्य गर्नुपर्ने बताइन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले अल्पमतको सरकार तत्काल हट्नुपर्ने बताए ।
नेपाली कांग्रसका नेता इन्द्रबहादुर वानियाँले मुख्यमन्त्री अल्पमतमा रहेकाले राजीनामा दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित