+
+

के कृषि क्षेत्रमा बिचौलिया हटाउँदा किसानलाई फाइदा हुन्छ ?

पदमलाल भण्डारी पदमलाल भण्डारी
२०७८ असोज २५ गते १५:०३

नेपालको कृषि क्षेत्रमा बिचौलियाहरूले बिगबिगी नै छ । यस्तो लाग्छ- उनीहरू यो क्षेत्रको प्रमुख भूमिका निर्वाह गरिरहेका छन् । हालको अवस्थामा तिनीहरूको उपस्थितिलाई बेवास्ता गर्न सक्ने अवस्था छैन ।

कृषि क्षेत्रमा बिचौलियाको उपस्थिति कम गर्ने वा हटाउने हो भने त्यो भन्दा पहिले खेती प्रणाली र प्रविधिमा धेरै परिवर्तनको आवश्यकता छ । बिचौलियालाई विस्थापित गर्न सिङ्गो देशभरि स्थानीयस्तर देखिनै योजनाबद्ध हिसाबले खेती गर्ने योजना बनाइनुपर्छ ।

धेरैजसो किसानहरू उत्पादित वस्तुहरूबाट प्रशोधित उत्पादनहरू बनाउन सक्दैनन्, न उनीहरूसँग समय, सीप र योजना नै हुन्छ । जस्तै चिनी, सुन्तलाको रस, बियर आदि । उत्पादक किसानहरूले प्रशोधित वस्तुहरूको बजारबारे सोच्नु पनि जरुरी छैन किनकी उनीहरूको उत्पादनको बजार प्रयाप्त छ । उपभोक्ताहरूको माग बमोजिम उत्पादन गर्ने हो भने बिक्रीको समस्या छैन ।

किसानहरूले किन आफ्नो उत्पादनहरूबाट लाभ लिन सकिरहेका छैनन् ?

किसानहरू खुल्ला मौसममा निर्भर छन् । खेती गर्ने सिजन, सिँचाइ, रोग, किराको प्रकोप, गुणस्तरीय बीउ, मल, विषादी आदि राम्रो उत्पादनको लागि आवश्यक हुन्छ । त्यस्तै आवश्यक प्रविधि अर्को महत्वपूर्ण मापदण्ड हो । यिनीहरूको गुणस्तर र उपयोग महत्वपूर्ण कुरा हो । धेरैजसो कुराहरूमा पूर्वानुमान गर्न सकिंदैन र उत्पादन लागत बढ्न जान्छ ।

धेरैलाई जानकारी भएको विषय हो बजार मूल्य माग र आपूर्तिमा निर्भर गर्दछ। कृषि वस्तुहरूको उत्पादन एकै समयमा एक व्यापक उत्पादन क्षेत्रमा हुने हुनाले बजारमा आपूर्ति बढी हुन्छ र किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन् । तर कृषि उपजको उपभोग मौसमी हुँदैन अर्थात् माग र मूल्य उस्तै रहन्छ ।

बिचौलियाहरू को हुन्?

बिचौलियाहरू चलाख व्यवसायी हुन । आफ्नो प्रतिभा, कडा मेहनत र सीपको माध्यमबाट उनीहरूले आफ्नो वरपर एउटा व्यवसायिक संस्कार बनाएका हुन्छन् र आफ्नो अस्तित्व र औचित्यको लागि संघर्षरत हुन्छन् । पूँजीवादी अर्थ व्यवस्थामा नैतिकतापूर्वक काम गर्ने संस्कार बसाल्ने भनेका कुशल व्यवसायीहरू हुन् ।
तिनीहरूले प्रत्येक वस्तुमा मूल्य सिर्जना गर्दछन् । निर्वाहमुखी अर्थतन्त्रमा जहाँ उत्पादन र उपभोग एउटै ठाउँमा हुन्छ, त्यहाँ बिचौलियाको आवश्यकता पर्दैन ।

बिचौलियाले किसानलाई उत्पादन गर्नको लागि र उत्पादनहरूलाई बेच्न मद्दत गर्छन् । बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छन् र प्रशोधन उद्योगहरूलाई नियमित रुपमा कच्चा पदार्थ आपूर्ति प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्छन् ।

कहिलेकहिं किसानले बिचौलिया बिना आफ्नो उत्पादन सोझै प्रशोधन उद्योग वा उपभोक्ताहरूलाई बिक्री गर्न सक्छन् तर बिचौलियाले जस्तै नियमित आपूर्ति गर्नसक्यो भने मात्र यसले काम गर्छ, नत्र दिगो हुँदैन । कतिपय अवस्थामा ठूला किसानहरूनै पछि गएर बिचौलियामा परिणत हुन्छन् ।

खेती एक उद्योग हो जसले प्रायःजसो कच्चा पदार्थको रूपमा उत्पादन गर्दछ । उत्पादन बढाउने जस्तै एक साधारण किसानले आफ्नो उत्पादन सोझै उपभोक्तालाई बेच्नसक्छ तर ठूला किसानले यो पनि गर्न सक्छन् तर यो धेरै जोखिमपूर्ण हुन्छ । नेपालमा कृषि क्षेत्रमा बिचौलियालाई हटाउने हो भने केही प्रश्नहरूको उत्तर खोजिनुपर्छ ।

जस्तै- कृषि वस्तु कसरी एक साधारण किसानको खेतबाट उपभोक्ताहरूको भान्सासम्म पुग्छ ?

साना किसानबाट बजार मागको आधारमा उत्पादन कसरी बजारसम्म पुग्छ? गुणस्तरको आधारमा उत्पादनलाई अलग गर्ने काम कसले गर्छ ? कृषि बजार कसरी स्थापित हुन्छ? एक प्रमुख आर्थिक केन्द्रमा यातायात, भण्डारणको व्यवस्थापन कसरी हुन्छ ? ढुवानीको समयमा हुने क्षति कसले व्यहोर्छ ? थोक क्रेताले ठूलो परिमाणमा कहाँबाट कृषि सामग्री किन्छ ? यी प्रश्नहरूको समाधान दिने बिचौलियाहरू हुन् ।

किसानको लागि धेरै मात्रामा कृषि उत्पादनहरू खुद्रा मूल्यमा ठूलो संख्यामा उपभोक्ताहरूलाई बेच्न सम्भव छैन । बिचौलियाहरू अधिकांश खेतीको पृष्ठभूमिबाट आउँछन् वा किसानहरू आफैं हुन् । यी किसानहरू विभिन्न कृषि उत्पादनहरू संकलन गर्छन् र बजारमा बेच्छन् जसले गर्दा ढुवानी लागतमा बचत हुन्छ। बिचौलियाहरूले थोरै मात्रामा केजी वा क्वीन्टलमा कृषि उत्पादनहरू संकलन गर्छन् र ठूलो मात्रामा उद्योगहरूमा टनमा बेच्छन् ।

बिचौलियाहरूमा भर पर्नुपर्ने कारणहरू

बिचौलियालाई सधैं नेपाली कृषिमा समस्याको रुपमा सोचिएको छ । तर उनीहरूको आवश्यकता कति छ भन्ने कुरा धेरैले राम्ररी विश्लेषण नगरी बिचौलियाहरूले किसान ठगेका छन् भन्ने खालको राजनीतिक नारा बनाइएको छ । किसानले आफ्नो उत्पादनहरू खुद्रा मूल्यमा धेरै उपभोक्तालाई बेच्न सम्भव छैन।

बिचौलिया अधिकांश खेती किसानीकै पृष्ठभूमिबाट आएका छन् वा किसानहरू आफैं हुन् । यिनीहरूले विभिन्न कृषि उत्पादनहरू संकलन गर्छन् र बजारमा बेच्छन् जसले गर्दा किसानको ढुवानी लागतमा बचत हुन्छ ।

उनीहरू थोरै मात्रामा कृषि उत्पादनहरू क्विन्टलमा संकलन गर्छन् र उद्योगहरूमा टनमा बेच्छन् । बिचौलियाले किसानलाई पहिलेनै ऋण वा आवश्यक सामग्री उपलब्ध गराउँछन् र कुनै अवस्थामा छिटो भुक्तानी गर्छन् ।

सुपरमार्केटमा बिक्री हुने सामग्रीको प्याकेजिङ, ब्राण्डिङमा किसानले लगानी गर्न सक्दैनन् वा उनीहरूमा त्यो सीप हुँदैन । केही बजारहरूमा सीमित प्रकारका उपजहरू मात्र राखेर व्यवसाय गर्न सकिंदैन । होटल रेष्टुरेण्टमा आपूर्तिको मामलामा बिचौलियाले २-३ महिना उधारोमा आपूर्ति गर्छन् तर किसानहरूलाई नगद तिर्छन् ।

वर्षौंदेखि बिचौलिया प्रणालीले धेरै तहहरू बनाएको छ । आपूर्ति श्रृंखलालाई छोटो बनाउने अर्थात् बिचौलियाको तह घटाउने कुरा त्यति सहज भने छैन । किनकी बिचौलिया यति बलिया छन् कि सरकारले यो प्रणालीलाई तुरुन्त बन्द गर्दा उल्टै किसानलाई मर्का पर्छ ।

किसानहरू बिचौलियाहरूको भर पर्नुपर्ने एउटा महत्वपूर्ण कारण भनेको के भने किसानले आफ्नो उत्पादनहरू भण्डारण गर्नको लागि पूर्वाधारको कमी एक कारण हो ।

किसानहरू आफैं संगठित हुन सक्दैनन् । एउटा शक्तिको रुपमा स्थापित हुन सक्दैनन् । साना किसानहरूले आफ्नो उत्पादनको सही मूल्यको माग गर्न नसक्नु अर्को कारण हो । किसानमा उत्पादनमा विशेषज्ञता हुनसक्छ तर उनीहरूमा बजारीकरणमा विशेषज्ञता नहुनसक्छ । जग्गाको खण्डीकरण हुनु, निरक्षरता र प्राविधिको प्रयोगमा कमी हुनु किसान बिचौलियामा निर्भर हुनुको अर्को प्रमुख कारण हो ।

बिचौलियामा भर पर्नुको सट्टा साना किसानहरूले आफ्नो उत्पादनहरू सिधै शहरमा लगेर बेच्न सक्छन्, किनभने साना किसानले आफ्नो उत्पादनहरू ब्रान्ड र शिलबन्दी प्याकेज बिना बेच्छन् र त्यहाँ कुनै कानूनी बाधाहरू पनि हुँदैन ।

साना किसानले तब सजिलै आफ्नो उत्पादन बेच्न सक्छन् जब उनीहरूले समय, अतिरिक्त खर्च र सजिलैसँग बिक्रीयोग्य उत्पादनको व्यवस्थापन गर्न सक्छन् । साना किसानहरू छरिएर रहेका छन्, उनीहरूको नीतिगत मामिलामा एउटै आवाज छैन ।

उनीहरूको आवाजलाई कसैले सम्मान र कदर गर्दैनन् । तर जब ठूला किसानहरू सिधै उपभोक्तासम्म पुग्छ खोज्छन्, त्यहाँ आफ्नै ब्रान्ड र शिल प्याकेजसँगै बजारमा प्रवेश गर्नुपर्छ । त्यो अवस्थामा थुप्रै कानूनी प्रावधानहरू पुरा गर्नुपर्ने हुन्छ जुन झन्झटिलो र खर्चिलो हुन्छ ।

नेपालको कृषि क्षेत्रमा बिचौलियाले किसान र बजारबीचको खाडल भर्न महत्वपूर्ण भूमिका खेलेका छन् । नेपालको ग्रामीण क्षेत्रहरूमा जहाँ सडकको सञ्जाल पुगेको छैन, त्यहाँको उत्पादनलाई बजारसम्म पुर्‍याउने काममा बिचौलियाहरूले सहयोग गरेका छन् । जहाँ बिचौलियाहरूको सेवाहरू आवश्यक छ, तिनीहरूले प्रत्येक किसानबाट कृषि उपज संकलन गर्छन् र थोक रुपमा ढुवानी गर्छन् ।

बिचौलियाहरूबाट छुटकारा पाउने उपायहरू

प्रतिस्पर्धी बजारमा थुप्रै बजारकर्ताहरू हुनु आवश्यक छ । बिचौलिया कृषिका बजारकर्ता हुन् । उत्पादक र उपभोक्तासँगै कृषि बजारमा धेरै बजारकर्ताहरू हुनु आवश्यक छ । तर राजनीतिज्ञहरू जनतालाई विभाजन गर्न र शासन गर्न मन पराउँछन् । कृषि क्षेत्रमा देखिएको समस्याको समाधान गर्नुको सट्टा उनीहरू बिचौलियाका कारणले किसानहरू मारमा छन् भनेर सस्तो लोकप्रयता कमाउनेतिर अग्रसर हुन्छन् ।

राजनीतिज्ञहरूले कृषि आपूर्ति श्रृङ्खलामा बिचौलियाहरूले सेवा प्रदायकको भूमिका खलिरहेका छन् भन्ने सोच्दैनन् । अहिले बजारमा बिचौलियाबारे चलिरहेको हल्लाले के सावित गर्छ भने कसैसँग पनि कृषि बजारमा बिचौलियाको भूमिका यस्तो तरीकाबाट कम गर्न सकिन्छ जसले गर्दा कृषि बजार श्रृङ्खलामा सबैभन्दा धेरै किसानहरू लाभान्वित हुन्छन् ।

अर्थशास्त्रीहरू भन्छन् कि सहकारीको माध्यमबाट बिचौलियाहरूको प्रभुत्व भएका बजारहरूलाई समाप्त पार्न सकिन्छ । तर हामीले मुलुकमा अझैसम्म सहकारी प्रणालीमा बजार सञ्चालन भएको देख्न पाइएको छैन । बरु सहकारी प्रणाली राम्रो बिचौलिया प्रणाली हुनसक्छ तर सरकारले आवश्यक कानून, नीति तथा अनुमति प्रदान गर्नुपर्छ ।

कृषि गोदामहरू शहरहरूको नजिक नभएर किसानका खेतहरूको नजिकै उपलब्ध गराउनुपर्छ तब उत्पादन भण्डारण गर्न सकिन्छ र राम्रो बजार मूल्यका लागि पर्खिन सक्छन् । ठूला कृषि बजारस्थलहरूमा समेत भण्डारण गृहको आवश्यक प्रबन्ध मिलाउनुपर्छ । प्रविधि अर्को महत्वपूर्ण चिज हो जसले किसानलाई राम्रो बजार मूल्य प्राप्त गर्नको लागि मद्दत गर्दछ ।

सरकारी तवरबाट केही बजारस्थलको व्यवस्था गर्नुपर्छ । किसानहरूका लागि कुनै शुल्क नलाग्ने गरी स्थान उपलब्ध गराउनुपर्छ । सरकारले विशेष उत्पादन पकेट क्षेत्रमा उत्पादन ढुवानी गर्ने साधनहरूमा छुटको व्यवस्था गर्नसक्छ ।

नेपालका ठूला शहरहरूमा हप्तामा एकपटक किसान हाटको व्यवस्था गर्नु अर्को उपाय हुनसक्छ । ठूला सुपरमार्केटहरूले ठूला उत्पादकहरूबाट उत्पादन खरिद बिक्रीका लागि अनुबन्ध गर्न सक्छन् ।

किसानप्रति सहानुभूति प्रकट गरेरमात्र मद्दत पुग्दैन । किसानहरूसँग लेनदेन गर्ने प्रणालीको विकास गर्ने र सरकारले हरेक लेनदेनमा सम्मिलित व्यक्तिको नियमन गर्ने प्रणालीको विकास गर्नुपर्छ । प्रणालीमा नचल्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

बिचौलियालाई बजारीकरणको लाइसेन्स उपलब्ध गराउनुपर्छ र नाफाको नियम अथवा कमिशन दरको नियम बनाउनुपर्छ । बिचौलियाको नाफा कति प्रतिशत राख्ने भन्ने नियम बनाउनु पर्छ र नियमन गर्नुपर्छ । किसानलाई संगठित गरेर समूह/सहकारीहरू मार्फत् बाली भित्र्याउने बेला किसान समूहहरूसँग सम्झौता गरेर निश्चित मूल्यमा किनबेच गर्ने प्रणालीको विकास गर्नुपर्छ ।

प्रशोधन उद्योगहरूले किसान समूहरूसँग सिधै किनबेचको प्रबन्ध मिलाएमा खरिद गरेको मात्राको आधारमा सहुलियत दिने व्यवस्था गर्नुपर्छ । किसानहरूलाई नगद कारोबार गर्न लगाउनुपर्छ । बिचौलियाहरूले व्यक्तिगत लगानी गर्दा भोलि गएर किसानहरूको उत्पादनमा अंकुश लगाउन सक्छन् । बिचौलियाहरूको काम गर्ने क्षेत्र तोक्ने अर्को तरिका हुनसक्छ जसले उसको दायराभित्र उत्पादनको लागि पूरै बजार तान्छ ।

कृषि क्षेत्रमा बिचौलिया हैन बरु ठूला ठूला कम्पनीहरूलाई नियन्त्रण गर्नुपर्छ । किनभने तिनीहरूले किसानबाट उत्पादन लिन्छन्। उनीहरूले किसानलाई बाली काट्नु अघि नै सम्झौतामा हस्ताक्षर गर्न लगाउँछन्। यिनीहरूले ती उत्पादनहरूलाई अस्वीकार गर्दछन् जो किसानहरूले मापदण्डहरू पुरा गर्दैनन् जुन कुरा उनीहरूको सम्झौतामा निर्दिष्ट गरिएको हुन्छ ।

यसले गर्दा किसानलाई फेरि घाटा सहनु पर्छ। यी ठूला कम्पनीहरू एकाधिकार बनाउनको लागि र साना रिटेलरहरूलाई समाप्त गर्नको लागि र बजार मूल्यलाई नियन्त्रण गर्नको लागि कोसिस गरिरहेका हुन्छन् । यो किसान वा व्यापारी मात्र हैन सबै जनताको लागि विनाशकारी हुनेछ।

सरकारले बिचौलियालाई यो क्षेत्रबाट विस्थापित गराउन डिजिटल प्रविधिको उपयोग सर्वसुलभ बनाउनुपर्छ । सबैकुरा इन्टरनेटमा उपलब्ध भएपछि बिचौलियाको एकाधिकारको अन्त्य हुन्छ । जब शिक्षित युवा खेतीको हिस्सा बन्छन् र कृषि व्यवसाय आफैं गर्छन्, तब मात्र बिचौलिया यी क्षेत्रबाट अप्रचलित हुन सक्छन् ।

बिचौलियाबाट बच्ने हो भने किसानको खेतबाट उत्पादनको संकलन गर्ने, उपभोक्ता बजारमा वितरण गर्ने, प्रशोधित सामग्रीको उत्पादन गर्ने, किसानलाई भुक्तानी दिने, प्रशोधित उत्पादनको यातायात, भण्डारण, वितरण उपभोक्तासम्म वितरण, उपभोक्ताबाट भुक्तानी संग्रहको सुनिश्चितता हुने प्रणालीको विकास गर्नुपर्छ ।

किसान प्रायःजसो कृषि उत्पादन कच्चा पदार्थको रूपमा उत्पादन गर्दछन् । किसानले उत्पादन गरेको वस्तु सिधै न्यूनतम नोक्सानी व्यहोरेर बिचौलियालाई बेच्न सक्छन् । तर यदि कच्चा पदार्थको रूपमा मात्र उत्पादन नगरेर प्रशोधित रूपमा रुपान्तरण गरी अन्तिम बजारमा बिक्री गर्ने हो भने प्रशोधनको लागि उपकरण, ढुवानीको लागि ट्रक, भण्डारणको लागि गोदाम र उत्पादनको खुद्रा बिक्रीको लागि स्टोर हुनुपर्छ । यो सबै किसानले व्यवस्थापन गर्न सक्दैनन् । तसर्थ बिचौलिया व्यवसायिक कृषि सञ्चालनको एक अनिवार्य हिस्सा हो र खेतदेखि उपभोक्तासम्मको मूल्य श्रृङ्खलाको एक महत्वपूर्ण भाग हो । उनीहरू लगानी गरेर किन्ने र बेच्ने काममा संग्लग्न हुन्छन् ।

(लेखक कृषि बजार प्रणाली सम्बन्धी विज्ञ हुन् । उनी कृषि तथा वन विज्ञान विश्व विद्यालयका एडजङ्ट फ्याकल्टीको रूपमा समेत आवद्ध छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?