+
+

नवरात्रको सातौं दिन आज कालरात्रि देवीको पूजा गरिँदै

रासस रासस
२०७८ असोज २६ गते ७:०५

२६ असोज, काठमाडौं । नवरात्रको सातौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । नवरात्रको सातौं दिन आज पूजा कोठा वा दशैं घरमा फूलपाती पनि भित्राइँदै छ ।

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन शुक्रबार पूजास्थलमा बह्मचारणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौं दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरियो । यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकैदिन पूजा आराधना गनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

सातौं दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष कोरोना भाइरसको संक्रमणको जोखिम कम भएकाले शक्तिपीठ खुला गरिएको छ । गत वर्ष बडादशैंमा शक्तिपीठ बन्द गरी घर घरमै पूजा आराधना गर्न सरकारले अनुरोध गरेको थियो । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गरिएको छ ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दशैं, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?