+
+

अपडेट : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

यज्ञ खत्री यज्ञ खत्री
२०७८ असोज २६ गते २०:१५

२६ असोज, सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्‍ज पुर्‍याएपछि मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

उनका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइतेमध्येबाट चार जनाको मृत्यु भएको उनले बताए।

‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्‍याउँदैमा मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ,’ उनले भने ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।

३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ । नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको बताए । प्रहरीले चालकको सिटमुनिको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पुर्‍याइएको थियो । मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ ।

दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?