+
+

आज महाअष्टमी, कालरात्रिको पूजा गरिंदै 

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २७ गते ७:०५

२७ असोज, काठमाडौं । बडादशैंको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको पूजा गरी भव्यरुपमा मनाइँदै छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ ।

आजको दिन दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्छ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, काभ्रेको नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्दछ ।

पशु बलि नचढाउनेले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?