+
+

त्रिशूलीमा डुबुल्की मारेर दशैं खर्च जुटाउनेहरु

रामशरण सुवेदी त्रिशूली नदीलाई ढोग्छन्, अनि छिर्छन् पानीको बेगभित्र । करिब दुई घण्टासम्म आधा शरीर त्रिशूलीको चिसो पानीमा डुबाएर निकालेपछि उनले काँपेको स्वरमा भने– यहाँहरुको दशैं राम्रोसँग बितोस्, भगवान्ले कृपा गर्दै गए भने हामी पनि राम्रैसँग दशैं मनाउनेछौं । 

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २८ गते २०:२५

२८ असोज, काठमाडौं । दशैंको पाँचौं दिन अर्थात् पञ्चमी तिथिका दिन पृथ्वी राजमार्ग हुँदै दशैं मान्न घर जानेहरुले खचाखच बसको लर्काे थियो ।

राजमार्गको किनारामा उभिएर ३६ वर्षीय रामशरण सुवेदी यही दशैं बोकेर कुदिरहेको गाडीको गति नियाल्छन्, मनमा कुन्नी के सोच्छन् र त्यो उत्कण्ठदायक दृश्यलाई त्यसै छाडेर आफ्नै कामतिर लाग्छन् ।

उनको काम हो बिहान खाजा खाएर त्रिशूली नदीमा झर्ने । दिनभरि बालुवा निकालेर किनारामा थुपार्ने र दिनभरको पैसा लिएर साँझ घर फर्किने । ‘अरुको पो दशैं मनाउन तलब र पेस्की आउँछ, हाम्रो लागि त त्रिशूलीमा नडुबी दशैं आउँदैन,’ यति भन्दै उनी त्रिशूली किनारातिर झरे ।

उनको घर पृथ्वी राजमार्गबाट १५ मिनेट जतिको पैदल यात्रामा पुगिन्छ । घरमा श्रीमती र दुई छोराछोरी छन् । ‘खेती गर्न जमिन छैन, अरुको कमाउँ भन्यो अधियाँ दिन पनि मान्दैनन् । त्योभन्दा जोखिम भए पनि सिधै पैसा आउने काम गर्ने भनेर बालुवा उठाउन आउने गर्छु,’ उनी भन्छन्, ‘असारदेखि कात्तिकको मध्यसम्म यहाँ काम चल्छ । अरु बेला पाए कुल्ली काम, नपाए आराम !’

किनारमा पुगेर त्रिशूली नदीलाई ढोग्छन्, अनि छिर्छन् पानीको बेगभित्र । कम्मरमाथिको टिसर्ट किनारामा राखेर उनले एकपटक त्रिशूली नदीलाई ढोगेर के मागे कुन्नी ।

वर्षामा त अलिकति दौडधुप गर्यो भने दिनको दुई टिपसम्म पनि बालुवा निकाल्न भ्याउने सुनाउँछन् । तर अहिले त एकटिप जम्मा पार्दै दिन बित्छ ।

रामशरण खेती लगाउने र भित्र्याउने सिजनमा अरुको मेलामा गएर पनि खर्च जुटाउँछन् । अरु समयमा पनि कतै त्यस्तै काम छ भने जाने हो, होइन भने फुर्सदिलो भएर बस्नुपर्ने गुनासो गर्छन् । उनी भन्छन्, ‘त्रिशूलीबाट बालुवा निकाल्यो भनेर काठमाडौंमा बसेर धेरैले रिस पनि गर्छन्, तर यो ननिकाल्ने हो भने दर्जनौं परिवारको चुल्हो निभ्छ ।’

उनी पुग्ने बेलासम्म उनका साथीहरुले २ ट्रिपर बालुवा किनारामा थुपारिसकेका थिए । एउटा ट्रिपर भरिनेगरी बालुवा निकालेको ५ हजार रुपैयाँ पाइन्छ । एउटा समूहमा ५ देखि १५ जनासम्म हुन्छन् । आएको पैसा दामासाही वितरण गरिन्छ । रामशरण भन्छन्, ‘हुन त दैनिक एक हजार जति कमाइ हुन्छ, तर भारी बोक्नुपर्ने भएकाले त्यही अनुसार खानामा खर्च गर्नुपर्छ । बच्ने भनेको त त्यही ५÷६ सय नै हो ।’

डिलमा बसेर एकछिन गुनासो सुनाएपछि उनी त्रिशूली किनारतिर झर्छन् । किनारमा पुगेर त्रिशूली नदीलाई ढोग्छन्, अनि छिर्छन् पानीको बेगभित्र ।

त्रिशूलीमा डुबुल्की मारेर दशैं खर्च

सबैतिर दशैं आएको छ, उनलाई पनि दशैंले नछोएको होइन । तर एकदिन खटिन पाए पनि अलिकति खर्च आउँथ्यो भन्ने आसले उनी खोला झरेका हुन् ।

कम्मरमाथिको टिसर्ट किनारामा राखेर उनले एकपटक त्रिशूली नदीलाई ढोगेर के मागे कुन्नी । सायद आफ्नो सुरक्षाको याचना गरे होलान् ।

अविरल बगिरहेको त्रिशूलीको चिसो पानी । त्यहीमाथि झण्डै डेढदेखि २ घण्टासम्म पानीभित्र बसेर निस्किएका रामशरणमा एक्कासी काम छुट्छ । उनी ठण्डी मौसममा चिसो पानीले नुहाउँदा जस्तै दाँत बजाउँदै कुरा गर्छन् । ‘यही दशैंको लागि पनि त्रिशूलीमा डुबुल्की नमारेसम्म चुलोमा आगो बल्दैन । अब फूलपातीको अघिल्लो दिनदेखि त दशैं मान्नुपर्छ,’ उनी भन्छन् ‘अब कात्तिक लागेपछि त्रिशूलीमा छिर्न सकिँदैन । त्यसैले अब त झण्डै ८ महिना बेरोजगार हो । बर्खा नै भए पनि यही दशैं तिहार र हातमुख जोड्नका लागि यही काम गर्ने गर्छाैं ।’

जोखिमभित्र लुकेको आशा

असारदेखि दैनिक निकालिरहँदा किनाराको बालुवा सकियो । त्यसैले रामशरण र उनका साथीहरुले त्रिशूलीको मध्यभागसम्म नपुगी बालुवा भेट्दैनन् । हातले त्रिशूलीतिर इसारा गर्दै रामशरण भन्छन्, ‘ऊ त्यहाँ घुमाउनी छ, केही गरेर त्यहाँ पुगियो भने त्रिशूलीले हामीलाई पनि छाड्दिनन् । जतिबेला त्रिशूली छिरिन्छ नफर्किंदासम्म के हुन्छ भन्न सकिँदैन ।’

उनलाई यो भय सिर्जना गराउने धेरै घटनाहरु छन् । हरेक वर्ष बालुवा निकाल्ने क्रममा बेपत्ता भएका समाचारले झनै उनको डरलाई दोब्बर बनाइदिन्छ । उनी भन्छन्, ‘काम गरेको त २० वर्ष भयो । तर यो काममा अनुभवी भएर केही हुँदैन भन्ने ग्यारेन्टी छैन । यहाँ त मुढे बल र भगवानको कृपा चाहिन्छ ।’

वर्षाैंदेखि यही काम गरिरहनेहरुलाई समेत त्रिशूलीले बगाएको घटनाले उनलाई बेलाबेलामा झस्काइरहन्छ । त्रिशूलीले कतिलाई बगायो उनी भन्न सक्दैनन् ।

बाहिर सार्वजनिक भएका समाचारलाई मात्रै आधार मान्ने हो भने हरेक वर्ष बालुवा निकाल्न जानेहरु त्रिशूलीमा बगेको समाचार आउने गर्छ । नियमित चिसो पानीमा डुब्दा स्वास्थ्यमा पर्ने असरबारे त कसले बोलिदिने ? त्यही समाचार सुन्दा परिवारले अरु नै काम गर्न पनि भन्छन् तर अरु काममा झनै झण्झट देखेर बरु यहीँ जोखिम मोल्ने भनेर आएको उनी बताउँछन् ।

२०७३ साल असोज ३ गते बैरेनी– ९ चिरौदीस्थित त्रिशूली किनारमा बालुवा निकाल्ने क्रममा बैरेनी ८– अदुवावारीका ४६ वर्षीय राम बहादुर तामाङलाई त्रिशूलीले बगायो ।

त्यसको १० महिनापछि २०७४ साउन ३ गते सिन्धुली जिल्लाको हरिहरपुरगढीका १६ वर्षीय राजु लामालाई नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेबाट त्रिशूलीले बगायो ।

२०७४ सालकै भदौमा बेलकोटगढी नगरपालिकाकै महादेव फाँटबाट जाजरकोट स्थायी घर भएका ४१ वर्षीय दान बहादुर राउतलाई त्रिशूलीले बगायो । २०७७ साल असार २४ गते गल्छी,अरुखर्कका १७ वर्षीय ताराबहादुर लुङेलीलाई त्रिशूलीले बगायो ।

यी सबै समाचार सुनिसकेपछि हरेक दिन त्रिशूली छिर्दा उनी गह्रौं मन बनाएर जान्छन् । करिब दुई घण्टासम्म आधा शरीर त्रिशूलीको चिसो पानीमा डुबाएर निकालेपछि रामशरणले काँपेको स्वरमा भने– यहाँहरुको दशैं राम्रोसँग बितोस्, भगवान्ले कृपा गर्दै गए भने हामी पनि राम्रैसँग दशैं मनाउनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?