+
+

घरेलु कामदारलाई दशैंमा दोहोरो कामको मार

नुनुता राई नुनुता राई
२०७८ असोज २८ गते २०:२०

२८ असोज, काठमाडौं । शर्मिला खतिवडाले जहिलेदेखि घरेलु कामदारका रुपमा काम गर्न थालिन्, दशैं राम्रोसँग मनाउन पाएकी छैनन् । ठूलाबढाको हातको टिका नथापेको वर्षौं भइसक्यो । ओखलढुंगा घर, सर्लाही माइती भएकी शर्मिलाले भनिन्, ‘विदा कहिल्यै हुँदैन । दशैं मनाउन घर नगएको १६ वर्ष भइसक्यो ।’

काठमाडौं शान्तिनगर जागृति टोलकी सर्मिलाले दैनिक तीन घरको कामगर्ने गरेकी छिन् । बिहान ६ बजे निस्किएपछि घर फर्किने समयको टुंगो हुँदैन । कहिले दुई बजे फर्किन्छिन् कहिले साँझको पाँच बजे । चाडबाड आउँदा काम गर्न जाने घरको काम झन बढ्छ । काम बढी हुने भएकाले विदा दिन माग्दैनन् रोजगारदाताहरु ।

‘चाडबाडमा झन धेरै काम हुन्छ । आउनुपर्छ भन्नुहुन्छ,’ ‘बेला बेला सम्झेर मन कुडिँन्छ । तर छोराछोरी पढाउनुपर्छ, एक जनाको कमाईले पुग्दैन भनेर चित्त बुझाउँछु ।’ तैपनि तीन छोराछोरीको पढाई, लत्ताकपडा, खाजा खर्च पु¥याउन हम्मेहम्मे हुन्छ ।

शर्मिलाको अनुभवले भन्छ, चाडबाडले घरेलु कामदारका लागि कामको बोझ लिएर आउँछ । ‘घरमा पनि पाहुनाहरु आउनु हुन्छ । पकाई तुल्याई गर्नैपर्छ । काम गर्ने ठाउँमा झन धेरै काम हुन्छ । दोहोरो काम गर्नु पर्दा हैरान हुन्छ,’ उनले सुनाइन् ।

सर्मिलाका छोरोछोरी काम सघाउने उमेरका भएका छन्, सकेको काम सघाउँछन् पनि । तर दशैंमा उनीहरु कहिले घर कहिले मामा घर जान रहर गर्छन् र पठाईदिन्छिन् । भन्छिन्, ‘आफू जान नपाए पनि उनीहरुलाई किन रोक्नु जस्तो लाग्छ, ‘चाडबाडमा घरको काम झन बढी हुन्छ । तिमी त आउनुपर्छ भन्नुहुन्छ जानैप¥यो,’

जागृति टोलकी फूलमाया परियार पनितीन घरमा काम गर्छिन् । उनी आफू क्रिष्टियन धर्म मान्ने भएकाले दशैं हुँदैन । तर दशैंको समयमा चर्चमा संगती, भजन हुन्छ । त्यहाँ जाने समय पनि मुश्किलले निकाल्ने गरेकी छिन् । एक छोरा, विरामी श्रीमान, सासु गरी चार जनाको परिवारमा बस्दै आएकी उनी भन्छिन्, ‘काममा नजाने हो भने दैनिकी टार्न गाह्रो छ, जानै प¥यो ।’

एउटा घरको काम सकिँदा बढी समय लागे अर्को घरमा काम गर्न ढिला हुन्छ । त्यहाँ पनि काम बढे फेरि अर्को घरमा ढिला हुन्छ । तीन घरको काम सकिँदा साझ पर्छ । भन्छिन् ‘हामीलाई त चाडबाडभन्दा अरु समय नै सहज ।’

रातोपुलकी बन्दना थापाको दैनिकी पनि शर्मिला र फूलमायाको भन्दा फरक छैन । उनी काम गर्ने चार घरमध्ये दुई घरका रोजगारदाता दशैं मनाउन गाउँ गएका छन् । दुई घर नजिक नजिकै भएकाले यो वर्ष धेरै हल्का महसुस भएको छ । भन्छिन् ‘सबै यता बसेको बेला कामको धपेडी यत्ति हुन्छ कि कुरा नगरौं ।’

एकल महिला बन्दनालाई एक छोरा, एक छोरीको पढाई, लत्ताकपडा, घर खर्च सबै आफैंले जुटाउनुपर्ने बाध्यता छ । त्यसैले टाढा भए पनि काम छोड्न सक्ने अवस्था छैन । भन्छिन्, ‘चाडबाडको बेला बढी धपेडी हुने हो अरु बेला त ठिकै हुन्छ ।’

घरमा श्रीमान अथवा अन्य पुरुष व्यक्तिहरु भए पनि साथीहरुसँग रमाइलो गर्न हिँड्छन् । घरको काम, आउने पाहुनाको स्वागत सत्कारको काम महिलाले नै सम्हाल्नुपर्छ । त्यसैले चाडबाडमा महिलाका लागि बोझ हुने शर्मिलाको अनुभव छ ।

सरकारले घरेलु कामलाई अनौपचारिक क्षेत्रमा राखेको छ । केन्द्रीय तथ्यांक विभागको श्रमशक्ति सर्वेक्षण २०७४–७५ अनुसार नेपालमा २ करोड ७ लाख ४४ हजार काम गर्न सक्ने उमेर (१५ देखि ५९ वर्ष) समूहका मानिस छन् । तर, ७९ लाख ९४ हजार मात्रै श्रम गरिरहेका छन् । तीमध्ये औपचारिक क्षेत्रमा १५.४ प्रतिशत र अनौपचारिक क्षेत्रमा ८४.६ प्रतिशत कार्यरत छन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?