+
+

थप चार सुरुङमार्ग अध्ययनमा, २३ सुरुङमार्ग बनाउन गृहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २९ गते १२:५८

२९ असोज, काठमाडौं । सडक विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा थप चारवटा सुरुङमार्ग निर्माणका लागि अध्ययन अघि बढाउने भएको छ । विभागका अनुसार कर्णालीमा समेत यो वर्ष सुरुङमार्ग निर्माणको लागि अध्ययन हुनेछ ।

पूर्वाधार विज्ञहरुले समग्र राष्ट्रिय यातायात सञ्जाल प्रणालीको गुरुयोजना तयार नगरी जथाभावी सुरुङमार्ग बनाउन नहुने बताउँदै आएपनि सरकारले घुम्ती सडकयुक्त पहाडमा सुरुङमार्ग बनाइहाल्ने गरी योजना ल्याउने क्रम रोकिएको छैन ।

अर्बौं लगानी हुने सुरुङमार्ग केही किलोमिटर छोट्याउन कति आवश्यक हो भनेर ट्राफिक सर्भे पनि नगरी लहडका भरमा नेताहरूले भनेका स्थानमा अध्ययन गराउने क्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।

सडकभन्दा १० गुणा बढी महँगो हुने भएकाले ३ देखि ५ भागसम्म सडकमार्गको दूरी छोटिन्छ भने मात्रै सुरुङमार्ग निर्माणको लागि योग्य मानिन्छ । तर, यस्ता पक्ष विचार नगरी सुरुङमार्गको अध्ययनको योजना चुनावी एजेन्डाका लागि विभागमाथि थोपार्ने क्रम बढेको छ ।

विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यो वर्ष बबई–छिन्चु खण्डमा सुरुङमार्ग निर्माणको सम्भावनाबारे अध्ययन गर्न ६० लाख रूपैयाँको बजेट विनियोजन भएको छ । यो सुरुङमार्गले कर्णालीका यातायात व्यवस्थामा ठूलो परिवर्तन ल्याउन सक्ने उनको भनाइ छ ।

त्यसैगरी पाल्पाको प्रवास–जोर्ते खण्डमा सुरुङमार्ग बनाउन पनि यो वर्ष बजेट विनियोजन भएको छ । यो सुरुङमार्गको अध्ययनका लागि विभागले ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यसैवर्ष चितवनको शक्तिखोरबाट धादिङको माझिम्टारसम्म सुरुङमार्ग बनाउन विभागले अध्ययन अघि बढाउने तय गरेको छ । यसका लागि बजेट विनियोजन गरेर तयारी सुरु गरिएको निर्देशक जैसीले बताए ।

त्यसैगरी चेपाङमार्गको दुम्लिङ–वासपाङ खण्डमा पनि सुरुङमार्गको अध्ययन अघि बढाउने कार्यक्रम तय गरिएको विभागले बताएको छ । विभागले काभ्रेको बिओपीबाट भक्तपुरको ताथली जोड्ने सुरुङमार्ग पनि अध्ययन गर्ने योजना बनाएको छ ।

‘अध्ययनको क्रममा रहेका सुरुङमार्गको काम सकाउन प्राथमिकता दिन्छौं,’ उनले भने, ‘नयाँ सुरुङमार्गको निर्माण पनि अघि बढाउन लाग्दैछौं ।’

सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा) को सिद्धबाबामा यहाँ ११ सय मिटर लामो सुरुङ निर्माणका लागि विभागले ठेक्का गरेर कम्पनी छनोट गर्ने तयारी गरेको छ । सो सुरुङमार्ग निर्माणका लागि अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरी यो वर्ष ६० करोड बजेट छुट्याएको छ ।

त्यसैगरी उत्तर–दक्षिण कोरिडर अन्तर्गत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार भइसकेको छ । सो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थमन्त्रालयसँग बजेटको सहमति पनि माग्न लागेको छ । यो वर्ष यो सुरुङमार्ग अघि बढाउन २५ करोड बजेट विनियोजन भएको छ ।

यो सुरुङमार्ग निर्माण भएमा दोलखा हुँदै चीनसँग जोडिएको नाका लामाबगरसम्म सडक पुग्नेछ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ‘हेडवक्र्स’ भन्दा माथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यो सुरुङ बनेपछि चीनको नाका जोड्न थप करिब ९ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ ।

२३ सुरुङमार्ग अध्ययनमा

नेपालमा सडक मार्गलाई छोट्याउन नेपालमा १०५ वर्षअघि नै मकवानपुरको चुरियामाई सुरुङमार्ग बनाएको इतिहास छ । अमलेखगञ्ज–हेटौंडा सडकखण्डमा राणा शासनको पालामा बनाइएको ७०० मिटर लामो सुरुङमार्गको भग्नावशेषलाई अहिले बागमती प्रदेश सरकारले जीर्णोद्धार गरिरहेको छ ।

यही बेला संघीय सरकारले एकैपटक २३ वटा सुरुङमार्गबारे अध्ययन गरिरहेको छ । विभागले धरान–लेउतीरोड, गोदावरी (ललितपुर)–मानचौर (काभ्रे) र दिपायल (डोटी)–खुटिया (कैलाली) खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्दैछ ।

विभागले पूर्व–पश्चिम राजमार्गको नवलपरासीको दुम्कीबास–बर्दघाट खण्डमा पनि ५–६ किलोमिटर लामो सुरुङमार्ग बनाउन अध्ययन गर्दैछ । अप्ठ्यारो भूगोलका कारण बुटवल–नारायणगढ सडकखण्ड ४ लेनको बनाउँदा यो खण्डमा तीन लेनमा मात्रै विस्तार गर्न लागिएको छ । दाउन्नेको अप्ठ्यारो उकालोमा सुरुङ बनाउने योजना बनाइएको हो ।

सडक विभागले पोखरा–बागलुङ सडकको हेम्जा–नयाँपुल खण्डमा पनि ७ देखि साढे ८ किलोमिटर लामो सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्दैछ । यता वीपी राजमार्गको खुर्कोट–चियाबारी खण्डमा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन भएको छ । यो सुरुमार्गको अनुमानित लम्बाइ ५ देखि साढे ६ किलोमिटर छ ।

विभागले स्वीस सरकारको सहयोगमा गणेशमान सिंह मार्गमा पर्ने थानकोट–चित्लाङ सुरुङमार्गको पनि अध्ययन गर्दैछ । मकवानपुरको थाहा नगरलाई जोड्ने यो सुरुङमार्ग बनेमा पालुङ भएर हेटौंडा जोड्ने त्रिभुवन राजपथको दूरी छोटिनेछ ।

यसैगरी, टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको त डीपीआर तयार गरिँदै छ । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट रसुवाको नेपाल–चीन नाकासम्म (टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटर) सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो । त्यसअनुसार, चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । महामारीपछि चिनियाँ प्राविधिक नेपाल नआएकाले यो आयोजनाको थप अध्ययनबारे अन्योल छ ।

जापानको सहयोगमा कोटेश्वर–जडीबुटी सुरुङमार्गको अध्ययन पनि भइरहेको छ । केन्द्रीय राजधानी काठमाडौं सहरको ट्राफिक समस्या कम गर्न सरकारले नयाँबानेश्वर र गौशालामा पनि अन्डरपास बनाउने योजना बनाएको छ ।

अहिले सरकारले जताततै सुरुङमार्गको अध्ययन गरिरहे पनि अध्ययन सकिएकामध्ये एउटा मात्र परियोजनाको काम भइरहेको छ । काठमाडौं भित्रिने नाका नागढुंगामा बनिरहेको २.६८ किलोमिटर लामो सुरुङमार्गको लागि जापान सरकारले १६ अर्ब सहुलियतपूर्ण ऋण दिएको छ ।

नेपाली सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–निजगढ द्रूतमार्गको महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाउन डिजाइनको काम भइरहेको छ ।

मकवानपुरमा कुलेखानी–भीमफेदी सडक खण्डमा २५ अर्ब लगानीमा देउरालीडाँडा छल्न बागमती प्रदेश सरकारले ३ किलोमिटर लामो सुरुङमार्ग बनाउन खोज्दैछ ।पूर्वाधारविद् सूर्यराज आचार्य भने राजमार्गमा सुरुङमार्ग बनाउनुअघि देशभरको यात्रु चाप र भविष्यमा बढ्नसक्ने ट्राफिकसहित औचित्य हेर्न सुझाव दिन्छन् ।

‘हचुवाका भरमा काम हुनुहँुदैन,’ उनी भन्छन्, ‘अहिले गरिएका लगानी भविष्यमा खेर नजाने सुनिश्चित हुने गरी आयोजना बन्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?